योञ्जनका हत्यारा पक्राउ

योञ्जनका हत्यारा पक्राउ

भक्तपुरका ६१ बर्षीय चन्द्रबहादुर योञ्जन (लामा) को हत्यारा पक्राउ परेका छन् । गत २१ गते भक्तपुर सुडालस्थित पसलमा आएर जग्गा हेर्ने बहानामा योञ्जनलाई बिडोलफाँट धानखेतमा लगेर कुटपिट गर्ने शेर्पा भनिने कामी लामा, ज्वाला भनिने रमेश तामाङ र प्रेम तामाङलाई प्रहरीले पक्रेको हो । कुटपिटपछि गम्भीर घाइते भएका योञ्जनको उपचारका क्रममा भोलिपल्ट ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो । योञ्जन रामेछाप सोनापति घर भई भक्तपुर  बस्दै आएका थिए ।

योञ्जनसँग कामी लामाले रकम लिन बाँकी रहेको र सोही रकम दिन आनाकानी गरेपछि कुटपिट गरेर असुल्न रमेश तामाङको सहयोग लिएको अनुसन्धानका क्रममा खुलेको छ । योञ्जनको साथबाट २ तोला बढी सुनको ब्रासलेट र मोबाइल लुटेर दुवैजना फरार थिए । महानगरीय प्रहरी महाशाखाबाट खटिएका प्रहरीले दुवै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्रेको हो । योञ्जनलाई आफन्तले जग्गा खोजेको र विक्रीबापतको नाफा बाँड्ने प्रलोभनमा पारेर बिडोलफाँटमा लगेको अनुसन्धानबाट खुलेको छ । शेर्पा सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँको थलीमा बस्ने गरेको, रमेश तामाङ सिन्धुपाल्चोक चौतारा घर भई बौद्द बस्ने गरेको र प्रेम तामाङ रामेछाप धोबी घर भई बौद्द बस्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएको बा १६ प ७११४ नम्बरको बजाज पल्सर एनएस २०० मोटरसाइकल, ५६ हजार ६ सय रुपैयाँ र सुन, मोबाइल बरामद गरेको छ ।

टिप्पणीहरू