राष्ट्र बैंकमा कोरोना भित्र्याउने को ?

राष्ट्र बैंकमा कोरोना भित्र्याउने को ?

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभागमा आइतबार एकैचोटी १९ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएतापनि त्यसअघि नै त्यहाँका  झण्डै एक सयजना कर्मचारी सङ्क्रमित भइसकेको बताइन्छ  । सङ्क्रमितमध्ये सबैभन्दा ठूलामा एकजना डेपुटी गभर्नर र एकजना कार्यकारी निर्देशक हुन् । तर, डेपुटी शिवराज श्रेष्ठ हाल सङ्क्रमणमुक्त भइसकेका छन् ।

बैंकले यसबीच धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि एकैसाथ दर्जनौं कर्मचारीलाई कोरोना सङ्क्रमण हुनुमा अचम्मको तथ्य खुलेको छ । एकजना कार्यकारी निर्देशक भन्छन् ‘कर्मचारीलाई वर्क फ्रम होमको सुविधा दिइएको धेरै भएको छ । कार्यालय आउने पालोमा पनि आधा दिनको सिफ्ट तोकिएको छ । निर्देशक र कार्यकारी निर्देशक गरी झण्डै ७५ जनालाई सिङ्गल गाडीको सुविधा छ । उनीहरूलाई स्वास्थ्य मापदण्ड अपनाउन विभिन्न सुविधासहित छुट्टाछुट्टै कार्यकक्ष दिइएको छ । तर पनि कोरोना सङ्क्रमण हुनु सामान्य कुरै हैन ।’

उनी भन्छन् ‘सर्वसाधारणसँग सम्बन्धित विभागमा सङ्क्रमणको उच्च जोखिम हुनसक्छ । तर, तुलनात्मक रूपमा सुरक्षित ठानिएका सुपरीवेक्षण विभागका कर्मचारी र हाकिमहरूमा नै कोरोना सङ्क्रमणको कारण सेयर बजारतिरको रहर हो’ । वर्क फ्रम होम र आधा दिनको सिफ्ट सुविधाको दुरूपयोग गरी कतिपय कर्मचारी सेयर ब्रोकरको कार्यालयमा डुलेपछि त्यहाँबाट बैंकमा कोरोना पुगेको बताइन्छ ।

बजारमा अनावश्यक ढङ्गले डुलेर कोरोना भाइरस बोकेका त्यस्ता कर्मचारीले आफ्ना परिवार र विभागका कर्मचारीलाई सङ्क्रमित तुल्याउन ठूलो सहयोग पुर्याएको उनको दाबी छ । विभागका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि ती विभागमा हुने गरेका बैठक अन्य ठूला पदाधिकारी र कर्मचारीलाई सर्ने गतिलो माध्यम बनेको हो । उनी भन्छन् ‘विभागीय प्रमुखलगायत ठूलाबडा र तिनका चालकलाई त्यसरी आयोजना गरिएको बैठकमा लक्षण नदेखिएका सङ्क्रमित कर्मचारीले प्रदान गरेको भत्ता रकमबाट सरेको हुनसक्ने अड्कल लगाइएको छ’ ।

कोरोना सङ्क्रमणसँगै बैंकले आफू मातहतका बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई डिजिटल पेमेण्टका विभिन्न माध्यम अपनाउन तारन्तार अनुरोध पनि गर्दै आइरहेको छ । तर,आफैँले भने यस्तो विषम परिस्थितिमा समेत बैठकमा नगद भत्ता बुझ्न छाडेका छैनन् । ‘यस्तो बेलामा पनि दशैंमा ससुरालीले दिएको दक्षिणाझैँ खनखनी गनेर नगदै दिने र लिने छ दशक पुरानो आफ्नो परम्परागत बानी सुधार्नुपर्ने कुनै आवश्यकता नदेखेको’ एकजना पूर्व डेपुटी गभर्नरले बताए ।

ती डेपुटीका अनुसार अहिलेको महामारीमा पनि तीन बीसदेखि चार बीस कटेका सयौं कर्मचारीलाई बैंक हातामा लाइन लगाएर बाँडेको पेन्सनले पनि जोखिम बढाएको छ । जबकि हालैमात्र उसले कोरोनाको कारण यो वर्ष दशैंको मुखमा नयाँ नोट सटही नगर्ने सूचना जारी गरेको छ । नयाँ नोट नसाट्ने तर,बूढा कर्मचारीको हुल बोलाएर लाइनमा नगद पेन्सन बाँड्ने कार्यले केन्द्रीय बैंकको कथनी र करनीमा दोहोरो भूमिका देखिएको छ ।

उता,डिजिटल भुक्तानी र ‘क्यास लेस’ को नारा बैंकले दश वर्ष अघिदेखि चर्काउँदै आएको छ । त्यही नारा अघि सारेर गरिएका कार्यक्रममा दशौं लाख रूपैयाँ खर्चिसकिएको छ । तत्कालीन गभर्नर युवराज खतिवडा तुलनात्मक रूपमा आफूलाई अन्य गभर्नरको दाँजोमा प्रविधिमैत्री ठान्थे । उनले समेत पाँच वर्षको कार्यकालमा कुनैपनि विदेश यात्रामा क्रेडिट वा डेबिट कार्डको प्रयोग नगरी हरेक पटक एक सय दरको अमेरिकी डलरको बिटो बोकेर संसार घुमेको तत्कालीन बैंकिङ् कार्यालय, रेमिट्यान्स फाँटका अधिकृत बताउँछन् ! भन्छन् ‘खतिवडाले अरुलाई मात्र उपदेश दिने हुन् ।

एकपटक एनआरएनएको कार्यक्रममा अष्ट्रेलिया जाँदा हजारौं अमेरिकी डलर नगदै बोकेर गएका थिए । रुसमा झैँ आयोजकले सबै खर्च व्यहोर्ने आशमा गएका उनले मुलुक फिर्ता गरेर ल्याउँदा नगद डलर सजिलो हुने भएकाले त्यसो गरेका थिए । तर,आयोजकले तोकेको महँगो होटलको शुल्क आफैँले भुक्तानी गर्नुपर्दा अमेरिकी डलरको नगद सटहीमा नसोचेको चर्को सटही शुल्क तिर्नु परेपछि खतिवडा नेपाल फर्कने बित्तिक्कै कर्मचारीसँग रन्केका थिए ।’

टिप्पणीहरू