शहरमा विप्लव माओवादी र गुण्डाको चर्चा

शहरमा विप्लव माओवादी र गुण्डाको चर्चा

नेकपा माओवादी ‘विप्लव’ ले हालै काठमाडौं भ्यालीको कमाण्डर फेरेको प्रहरी स्रोतले बताएको छ । पहिलेका कमाण्डर ‘एक्स्पोज’ हुनेबत्तिकै अन्यत्र सार्ने सशस्त्र बिद्रोहीहरूको रणनीति नै हो । प्रायः पार्टी नाम र निक नाम प्रयोग गर्ने भएकाले पनि विप्लव माओवादीका नेता र कार्यकर्ताको वास्तविक पहिचान गर्न प्रहरीलाई सँधै हम्मे पर्ने गरेको बताइन्छ ।

यसपटकसमेत त्यस्तैमध्येका एकजनालाई काठमाडौं पठाइएको आशंका गरिएको छ । 

प्रायः विप्लवका निजी सुरक्षागार्डको रूपमा काम गरेर पोख्त भएकालाई मात्रै भ्याली कमाण्डर बनाउने विगत रहेकाले पनि यसपटकसमेत त्यस्तैमध्येका एकजनालाई काठमाडौं पठाइएको आशंका गरिएको छ । नयाँ कमाण्डर चितवन वा नवलपरासीतिरबाट ल्याइएको अड्कल छ ।

कोरोना र लकडाउनका कारण अहिले गुण्डागर्दी निकै साम्य भएको प्रहरीको बुझाई छ । विशेषगरी हिजोका दिनमा ठूला गुण्डाको रूपमा परिचित सबैजसो राजनीति र व्यवसायमा टाँसिएकाले पनि त्यस्तो अवस्था देखिएको हो । अर्कोतर्फ चैतदेखि परिस्थितिसमेत प्रतिकूल बनेकाले पनि गुण्डाहरू सल्बलाउन नपाएको हुनसक्छ । तर,टोले र फ्याउरे गुण्डाहरूले भने यदाकदा ताण्डव मच्चाएको बताइन्छ । तीभन्दा अलिकति माथिल्लो हैसियतको गुण्डागर्दी गर्नेहरूमध्ये केहीले भने आनिबानी नै सुधारेको समेत देखिएको छ ।

प्रहरीले ती गुण्डालाई पनि विभिन्न तह,हैसियत र वर्गमा बाँडेको छ ।

काठमाडौं उपत्यकामा मात्र पटकेमा दर्ज भएका तथा प्रहरीले रेकर्ड राखेका गुण्डाहरूको संख्या एक सयभन्दा बढी रहेको स्रोतको दाबी छ । प्रहरीले ती गुण्डालाई पनि विभिन्न तह,हैसियत र वर्गमा बाँडेको छ । स्थानीय क्षेत्र र तल्लो तहमा आतंकित बनाउनेलाई फ्याउरे गुण्डा,त्योभन्दा ठूलो टोले गुण्डा,अर्को व्यावसायिक गुण्डा,त्यसमाथि संरक्षित गुण्डा र उपल्लो तहकालाई राजनीतिक गुण्डा भन्ने गरिएको छ ।

प्रहरीको अनुभवमा सबैभन्दा खतरनाकचाँहि व्यावसायिक गुण्डा हुन् । त्यसैले प्रहरीले व्यावसायिक गुण्डाको जरो किलो उखेल्ने प्रयास सँधै गर्छ । संरक्षित गुण्डालाई भने परिस्थिति हेरेर कारबाही गर्ने गरेको देखिन्छ । त्यसमा राजनीतिक नेता,व्यापारी र कहिलेकाँही सुरक्षा निकायबाटै संरक्षित पनि हुने भएकाले फुकी फुकी कारबाही गर्नुपर्ने एकजना पूर्व प्रहरी अधिकृत बताउँछन् ।

तर,राजनीतिक गुण्डाले चुनाव नै जितेर आउने भएकाले प्रहरीले ती माथि केही गर्न सक्दैन । त्यस्तालाई पक्राउ गर्न जाँदा स्वयम् गुण्डाले सगर्व आफू फलानो पार्टीको भनी परिचय दिने गर्छन् । प्रहरीको अनुरोधपछि सम्बन्धित पार्टीले नै पक्राउको लागि सिफारिश गरिदिने अनुभव प्रहरीको छ । यसरी राजनीतिक दलले नै गुण्डालाई आफ्नो पार्टीको जिम्मेवार भनेर प्रमाणित गरिदिएपछि आफूहरूलाई खासै आपत्ति नहुने प्रहरी स्रोतको दाबी छ ।

टिप्पणीहरू