तरकारी र फलफूल व्यापारी सोत्तर

तरकारी र फलफूल व्यापारी सोत्तर

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र वर्षौंदेखि असरल्ल फुटपाथ पसल हटाइदिएको छ । सडक किनारा र फुटपाथमा बिहान- बेलुकी देखिने तरकारी र फलफूलका साइकल, डोको र भुईं पसल केही समयदेखि सिनित्तै पारिएको हो । महानगरले नगर प्रहरी गठन गरेपछि कोरोना महामारीसँगै त्यस्ता व्यापारी सोत्तर भएका हुन् ।

केही सातादेखि महानगरका जावलाखेल, लगनखेल, एकान्तकुना, पाटनढोका क्षेत्रमा फुटपाथ पसल देखिन छाडेको छ । सस्तोमा डोको र साइकलका फलफूल तथा तरकारी किनेर छाक टार्ने मध्यम र निम्न वर्गलाई भने यसबाट बिहान-बेलुकीको भान्छा चलाउनै गाह्रो भएको बताइन्छ । धनी र सम्पन्न वर्गले ठूला मल र स्टोरमा खरिद गरे पनि अधिकांशले त्यस्ता पसलबाटै गुजारा चलाउँदै आएका थिए । फुटपाथका व्यापारीको पनि त्यसैगरी दैनिकी चलेको थियो ।

महानगरमा तरकारी र फलफूल बिक्रीको लागि निश्चित स्थान तोकिनुपर्ने उपभोक्ता र व्यापारी दुबैको माग छ । तर,महानगर प्रहरी प्रमुख (नेपाल प्रहरीका पूर्व ट्राफिक इन्स्पेक्टर) सीताराम हाछेथुले भने सबै स्थानमा फुटपाथ पसललाई रोक नलगाइएको बताएका छन् । उनकाअनुसार कोरोना संक्रमण र दशैं,तिहारलाई ध्यानमा राखेर लगनखेलदेखि मंगलबजारसम्म सामाजिक दूरी अपनाई बिहान ८ बजेसम्म र बेलुकी ६ बजेपछि त्यस्तो पसल राख्न दिइएको छ ।

महानगरले मुख्यगरी कुमारीपाटीदेखि जावलाखेल हुँदै कुपण्डोलसम्मको मुख्य सडकमा मात्र हाललाई फुटपाथ पसलमा रोक लगाएको बताइएको छ । बिज्ञापनको अनधिकृत होर्डिङ बोर्ड हटाउनुका अलावा  धार्मिक,सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण दरबार स्क्वायर क्षेत्रमा पनि त्यस्ता पसल राख्न बन्देज छ । आगामी दिनमा ललितपुर महानगरले उपयुक्त स्थानहरूमा तरकारी तथा फलफूल पसल राख्नको लागि आवश्यक गृहकार्य गरिरहेको पनि हाछेथुले बताए ।

टिप्पणीहरू