दशैँ बिदा छिट्टै, उपत्यका छिर्न कडाइ !

दशैँ बिदा छिट्टै, उपत्यका छिर्न कडाइ !

राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमणले उग्र रूप लिँदै गर्दा मन्त्रीसमेत संक्रमित बनेका छन् । योगेश भट्टराई कोरोना संक्रमित हुने पहिलो मन्त्री हुन् । शनिबार एकै दिन पाँच हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको र केही सातादेखि कूल संक्रमितमध्ये आधाभन्दा बढी राजधानीमा देखिन थालेपछि सरकार थप संवेदनशील बनेको बताइएको छ ।

यतिखेर पर्यटन मन्त्रीसँगै गृहसचिव समेत आइसोलेशनमा बसेका छन् । संक्रमणका कारण सर्वोच्च अदालतलगायत कर्मचारी सञ्चय कोषको ठमेल कार्यालय र बीमा समिति पनि पूरै बन्दको स्थितिमा पुगेका छन् । संक्रमण रोकथामको लागि थप कदम चाल्ने रणनीतिका साथ आज बिहानैदेखि मुख्य सचिवको कार्यालयमा सचिवहरूको बैठक बसेको छ।

उक्त बैठकको निश्कर्षपछि आजै साँझ बस्ने सीसीएमसीको बैठकमा बढ्दो अवस्थामा रहेको कोरोना महामारी रोकथामबारे थप निर्णय हुने आँकलन गरिएको छ । सीसीएमसीको सिफारिशपछि सम्भवतः भोलिको क्याबिनेट बैठकले त्यससम्बन्धमा आवश्यक कदम चाल्नसक्छ ।

स्रोतका अनुसार अहिलेसम्म सचिवस्तरीय छलफलमा संक्रमणको जोखिम उच्च रहेको अवस्थालाई ध्यानमा राखेर सर्वसाधारणलाई नजिकिँदो दशैंलगायतका चाड पर्व कसरी मनाउन दिने भन्नेमा विषयवस्तु केन्द्रित छ । राजधानीमा देखिएको उर्लँदो कोरोना महामारी रोकथामको लागि केही समयको लागि नागरिकलाई काठमाडौं भित्रिन र बाहिरिनबाट रोक लगाउनुपर्नेमा एकथरी प्रशासक दृढ देखिएका छन् । उनीहरूका अनुसार ‘कम्तिमा भ्यालीलाई शिल्ड गर्नुपर्छ ।’

त्यसैगरी, अर्काथरिले पूरै उपत्यकालाई शिल्ड गर्नुभन्दा पनि जहाँ जहाँ संक्रमणको उच्च जोखिम देखिएको छ,ती ठाउँलाई मात्र शिल्ड गर्नुपर्ने मत राखेका छन् । छलफलमा केहीले विशेषगरी सबैथरि यातायात र सरकारी कार्यालयको गतिविधिका कारण कोरोना संक्रमण बढेको औंल्याउँदै त्यसमा रोक लगाउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यो वर्ष आगामी घटस्थापनादेखि नै सरकारी कार्यालय बन्द गर्नेसम्मका मोडालिटीमाथि छलफल भइरहेको छ ।

टिप्पणीहरू