डेपुटी सीईओ छनौटमा ज्योतिको गाईजात्रा !

डेपुटी सीईओ छनौटमा ज्योतिको गाईजात्रा !

बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय राष्ट्र बैंकलाई एकपछि अर्को संस्थाले टेर्न छाडेका छन् । उनीहरुले केन्द्रीय बैंकका नीति र निर्देशनलाई नजानिँदो किसिमले धोती लगाइदिएका छन् । पहिले ठूला र प्रभावशाली वाणिज्य बैंकहरूले यदाकदा गर्ने त्यस्तो काम अहिले विकास बैंक र वित्त कम्पनीले समेत गर्न थालेका हुन् । पछिल्ला दिनमा लघुवित्त वित्तीय संस्थाहरूले पनि केन्द्रीय बैंकको निर्देशनलाई लत्याउँदै आफू अनुकूलको निर्णय गर्न थालेको बताइन्छ ।

केन्द्रीय बैंकले जारी गरेको संस्थागत सुशासनसम्बन्धी निर्देशनलाई ‘अचार’ बनाएको ज्योति विकास बैंकले फेरि एकपटक उसको निर्देशन विपरितको काम गरेको छ । तर, नियमनकारी निकायले हालसम्म ज्योतिको विशेष निरीक्षण गर्ने,पत्र मार्फत् सोधखोज गर्ने त धेरै टाढाको विषय फोनबाट समेत सोध्ने आँट नदेखाएको स्रोतको दाबी छ ।

ज्योतिमा रिक्त डेपुटी सीईओ छनौटको लागि एउटा कमिटी बनाइएको छ । कमिटीमा सीईओ श्रीचन्द्र भट्ट संयोजक छन् भने चिफ बिजनेश अफिसर रामहरि आचार्य र चिफ अपरेटिङ्ग अफिसर बलदेव थापालाई सदस्य बनाइएको छ । सबैभन्दा रमाइलो पक्षचाँहि थापा पदीय रूपमा पनि डेपुटी सीईओभन्दा दुई तह मुनिका कर्मचारी हुन् । तलको कर्मचारीलाई छनौट कमिटीमा राखेर दुई तहमाथिको डेपुटी सीईओ नियुक्तिको लागि सिफारिश गर्न खोज्नुलाई ज्योतिका कर्मचारीले नै ‘खरिदारको सिफारिशमा सचिव नियुक्त गर्न खोजिएको’ अर्थ लगाएका छन् ।

हुन तः बैंकले डेपुटी सिईओ नियुक्त गर्न खोजेको डेपुटी जनरल म्यानेजर पारसराज कँडेललाई नै हो । अर्का उम्मेदवार बैंकका चिफ रिस्क अफिसर सुशीलकुमार शर्मा हुन् । थापाचाँहि कँडेल,शर्मा र आचार्यभन्दा पनि मुनिका कर्मचारी हुन् । तहगत रूपमा कमिटीमा राख्न नमिल्ने कर्मचारी भएपछि सीईओ भट्ट र आचार्य मात्र रहेको दुई सदस्यीय सिफारिश कमिटी बनाउँदा पनि कानुनतः मान्य हुने राष्ट्र बैंकको कानुन महाशाखा स्रोतले बताएको छ । तर,कँडेललाई जसरी पनि डेपुटी सीईओ बनाउनुपर्ने भएकाले कनिष्ठ कर्मचारीलाई कमिटीमा राखिएको अड्कल लगाइएको छ ।

स्रोतकाअनुसार कँडेलको शैक्षिक योग्यतामाथि लामो समयदेखि प्रश्नचिन्ह उठ्दै आएको छ । यसअघि तेस्रो नम्बरमा रहेका उनलाई कायम मुकायम सीईओको जिम्मेवारी दिँदा राष्ट्र बैंकले कैफियत लेख्नसक्ने आंशकामा बोर्ड बैठकमा राम्रैसँग कुरो उठेको थियो । तर,कँडेलले गभर्नर महाप्रसाद अधिकारीसँग आफ्नो व्यक्तिगत र पारिवारिक सम्बन्ध ‘अच्छा’ रहेकाले केन्द्रीय बैंकसँग ट्युनिङ्ग मिलाउने आफ्नो दक्षता,क्षमता र जिम्मामा शङ्का नगर्न भनेपछि अधिकांश बोर्ड सदस्यहरू त्यतिबेलै दङ्ग परेका थिए ।

पारसले नेपालमा दश जोड दुई पासपछि भारतबाट चार्टर्ड एकाउण्टटेन्सी गरेका हुन् । उनले अहिलेसम्म त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाणपत्र पनि पाएका छैनन् । उनको योग्यतालाई हाम्रो विश्वविद्यालयले स्नातकोत्तरको मान्यतासमेत नदिएको ज्योतिका एकजना कर्मचारीले बताएका छन् ।

टिप्पणीहरू