बलात्कारः मन्दिर ‘बधशाला’ अनि नरपिचास ?

बलात्कारः मन्दिर ‘बधशाला’ अनि नरपिचास ?

छोरीचेलीका लागि घर, परिवार, समाज त सुरक्षित छैन नै ! हुँदा हुँदा मन्दिर पनि भरपर्दो भएन । सैद्धान्तिक रूपमा हरेक नारीले आफ्नै श्रीमानबाट हरेक रात बलात्कृत हुनुपर्ने अवस्थाबाट उन्मुक्ति खोजिरहेका छन् । तर, व्यवहारमा हरेक पुरुषलाई ‘बलात्कारी’ सम्झिनुपर्ने अवस्था किन आउँदै छ ? शिक्षाले सभ्यताको मापन गर्छ भनिएको आधुनिक समाजमा जतिजति साक्षरता दर बढ्दै गयो त्यति त्यति विकृतिको ग्राफ पनि उकालो लागिरहेको छ । बलात्कारका घटनाले त मानवसभ्याता, नाता र पारिवारिक सम्बन्धको पवित्रतालाई नै चुनौती दिइरहेका छन् । विवेकशील भनिएको मान्छेको अविवेकीपनले उसको श्रेष्ठतामाथि नै गम्भीर प्रश्न उठाइदिएको छ ।

बलात्कारका घटना करिब ६ सय प्रतिशतले बढेका छन् ।

दुई दशकअगाडिको समाज, त्यतिबेलाको चेतना र समाजमा हुने घटना सम्झँदा अनि अहिलेको चेतना र दिनहुँ भइरहेका घटनाको विश्लेषण गर्दा उतिबेला वार्षिक डेढ/दुई सयको हाराहारीमा बलात्कारजन्य घटना हुन्थे । अहिले त्यो संख्या बढेर वार्षिक २५ सय हाराहारीमा पुगेको छ । तथ्यांकले भन्छ– दुई दशकको अवधिमा बलात्कारका घटना करिब ६ सय प्रतिशतले बढेका छन् ।

०७५/७६ सालको तथ्यांकले त्यसलाई पुष्टि गर्छ । देशभरका ७७ वटै जिल्लामध्ये त्यस वर्ष सबैभन्दा बढी काठमाडौंमै २ सय १० वटा घटना भएका थिए भने झापामा १ सय ३० । त्यसपछि सुनसरी, मोरङ र कैलाली । सुनसरीमा १ सय १०, मोरङमा १ सय २ र कैलालीका सय घटना भएको तथ्यांक प्रहरीसँग छ । बाँकी सके घरमै दबाउने, त्यहाँ नसके टोल समाजमा लुकाइने, त्योभन्दा बाहिर आउने अवस्थामा शक्ति र पैसाको आडमा गुपचुप पारिने घटना त कति होलान् कति !

अपराधमा न प्रतिस्पर्धा हुन्छ न तुलना । बस्, निर्मम सजायँ मात्रै हुन्छ ।

किन यस्तो भइरहेको छ ? उत्तरमा हरेकले आ–आफ्ना तर्क पस्कलान् । कसैले अरू देशसँग तुलना गरेर सन्तोष पनि मान्लान् । तर, सबैले बुझ्नैपर्ने के हो भने अपराधमा न प्रतिस्पर्धा हुन्छ न तुलना । बस्, निर्मम सजायँ मात्रै हुन्छ ।

मन्दिर नै बधशालाः

बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कथित अछुत थरकी बालिका हुन् । उनले जात व्यवस्थाकै कारण कहिल्यै मन्दिर छिर्न पाइनन् । तर, अन्तमा कहिल्यै छिर्न नपाएको त्यही मन्दिर नै उनका लागि बधशाला बन्यो । असोज ७ गते घरबाट गोठ हिँडेकी सम्झनालाई सोही गाउँको सिम मन्दिरमा बलात्कारपछि हत्या गरिएको अवस्थामा ८ गते फेला पारियो । अभियुक्त १८ वर्षीय राजेन्द्र बोहराले मन्दिरभित्र रहेको त्रिशूलले हानेर हत्या गरेको स्विकारिसकेका छन् । धर्म मान्नेहरूका लागि डरको अन्तिम अस्त्र आस्था राख्ने भगवान् र पुज्ने ठाउँ (मन्दिर) हो भनिन्छ । तर, त्यही मन्दिर र त्यही आस्था राख्ने देउताकै अघिल्तिर त्रिशूल घोचिघोची सम्झनाको हत्या भयो ।

अनि सुरक्षित कहाँ, भरोसा कसको ?

गत भदौमा कञ्चनपुरको कृष्णपुरमा ३० वर्षीय छोराले आफ्नै ५८ वर्षिया आमालाई बलात्कार गरेको खबर आयो । यसअघि ०७५ मा भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेञ्जिङ शेर्पाले ६२ वर्षीया आमालाई करणी, असारमा सुदूरपश्चिमको पञ्चेश्वर गाउँपालिका–४ की १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबा पक्राउ परे । त्यसअघि इलाम नगरपालिका–९ गोलखार्कका ३० वर्षीय सूर्यमान बस्नेतले १२ वर्षीया छोरीलाई बलात्कार गरेको खबर फेरि केही दिनअघि चर्चामा आयो ।

घरबाहिर बलात्कार गरेका खबर कति आउँछन् कति † बालिका निर्मला पन्तलगायत सयौं छोरीचेली बलात्कारको सिकार भइरहेकै छन् । तर, छोराले आमा, बुबाले छोरी, हजुरबाले नातिनी, भाइले बहिनीलाई बलात्कार गरेकाजस्ता खबरले साँच्चै मान्छेलाई नरपिचास नै बनाइसकेको आभाष हुन्छ । कोही कसैबाट सुरक्षित नरहने भएपछि अब हरेक पुरुष बलात्कारीजस्तो लाग्ने अवस्था आएको छ ।

हुन त बुबाबाट छोरी, छोराबाट आमा, दाजुभाइबाट दिदी–बहिनी नै सुरक्षित नहुने समाजमा प्रेमको पवित्रताबारे झन् के कुरा गर्नु ! प्रेमको नाटक गर्दै आफू र आफ्ना साथीहरूलाई समेत बोलाएर सामुहिक बलात्कार गरेका खबर बारम्बार सुनिएकै छन् । भदौ १ गते नुवाकोटको तादी गाउँपालिका– ३ खरानिटार स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई प्रहरीले पक्राउ गर्‍यो । उनीमाथि एक किशोरीलाई प्रेम गरी पटक–पटक आफूले यौनसम्पर्क राखेर भारतमा बेचेको आरोप थियो ।

कञ्चनपुरको बेलडाँडीमा एक १४ वर्षीया बालिकालाई प्रेम गरी बिहे गर्न बोलाएर भदौ १४ गतेदेखि १९ गतेसम्म ६ दिन लागुऔषधको नशामा बन्धक बनाई सामुहिक बलात्कार गरेको घटना आयो ।

यसैगरी, साउनमा प्रेम र विवाहको नाटक रचेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मा उर्फ राज सेन्चुरीलाई पक्राउ ग¥यो । काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नाम, थर ढाँटी नक्कली प्रेम विवाह गरे । थानकोट चेकपोष्टस्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गर्‍यो । बाँकी प्रेममा धोकापछि मर्ने र मार्ने त कति छन् कति !

उल्लिखित घटना प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । सरकार, प्रहरी, प्रशासन, कानुन सबै छन् । साक्षरताको हिसाबले हामी पूर्ण साक्षर देश घोषणातर्फ अघि बढिरहेका छौं । तथापि बलात्कारजन्य गम्भीर अपराधका घटना एकपछि अर्को गरी भइरहेकै छन् । नारीहरू न घरमा सुरक्षित छन् न मन्दिरमा । न आफन्तबाट सुरक्षित छन् न परिबारबाट । व्यक्ति व्यक्तिको आत्मरक्षा र सुरक्षा सावधानीका कुरा त होलान् नै ! तर, कुनै पनि बहानामा गरिने बलात्कार मानवताविरुद्धको अपराध नै हो । नियोजित रूपमा स्वार्थपूर्ति नहुने देखेपछि बलात्कारको झुटा आरोप लगाउने गरेका एकाध घटना पनि आउँछन् । तर, समग्रमा घटनाको गाम्भीर्यता, निश्चित उमेर समूह, नाता सम्बन्धमा हुने यस्ता घटना पहिचान गरी तत्काल निर्मम दण्डको व्यवस्था गर्न आवश्यक भइसकेको छ । सरकारले यस्ता घटनामा एसिडकाण्डमा गरिने दण्डजस्तै कडा कदम चाल्न जरुरी छ । बाँकी घटनामा पनि हदैसम्मको कारवाही गर्न कानुन तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन नहुँदासम्म हाम्रो समाज, परिवार र घर नै बलात्कारी जन्माउने अखडा भइरहनेछ । कडा दण्डको व्यवस्था र सदाचारका लागि सार्थक अभियान शुरु नगरेसम्म आज उसको, भोलि तपाईंको र पर्सि मेरो छोरीचेली बलात्कारको सिकार हुने अवस्था आउन सक्छ । त्यसैले सबै सतर्क बनौं, सबै जिम्मेबार बनौं ।

टिप्पणीहरू