ब्यारेकमा निरन्तर बबाल

ब्यारेकमा निरन्तर बबाल

सेनापति थापा भए भन्दैमा जुनसुकै थापाले जति लुटे पनि छुट ? भनिन्छ, सेनाको ब्यारेकमा सबैभन्दा कडा अनुशासन हुन्छ । तर त्यहीँभित्र कसरी चरम अनियमितता हुन्छ भन्ने तथ्य फेला परेको छ । गौरीबक्स गुल्म इटहरी, सुनसरीमा सिनियर सुवेदार रहेका भक्तबहादुर थापाले वार्षिकोत्सव कार्यक्रमका लागि सामान खरिद गर्ने क्रममा चरम भ्रष्टाचार गरेको पाइएको हो । ब्याच नम्बर १६७००९ का थापाले सामान खरिद गर्दा चरम अनियमितता गरेको तर उनीमाथि कारबाही नभएको भन्दै गुल्ममा कार्यरत अन्य सैनिकले हाकिमलाई सामुहिक पत्र बुझाएका छन् । वार्षिकोत्सव कार्यक्रम मनाउने क्रममा खरिद समितिको सदस्य रहेका थापाले सामान किन्दा अन्य सदस्यलाई नलगी एक्लै बढी मूल्यको बिल बनाएको पाइएको छ ।

उनले आफूले सामान खरिदका बेला भ्रष्टाचार गरेको स्पष्टिकरणमा पनि स्वीकारेका छन् । ‘अडिट बोर्ड बस्दा केही बिल दुई ठाउँमा पर्न गएको र केहीचाहिँ बजार भाउभन्दा बढी मूल्यमा परेकोले मबाट ठूलो गल्ती हुन गई श्रीमान् गुल्मपतिज्यूबाट कारबाहीस्वरुप स्पष्टिकरण तथा लिखित राजीनामा बुझाउने, अर्कोचोटी गल्ती दोहोरिएमा राजीनामा जाने शर्तमा यो स्पष्टिकरण पेश गरेको छु ।’ थापाले २०७४ साल फागुन १८ गते लेखेका छन् । उनले सोही मितिमा राजीनामा पत्रसमेत बुझाएका हुन् । राजीनामा बुझाएपनि गुल्ममै कार्यरत छन् ।
तत्कालीन इटहरीस्थित गौरीबक्स गुल्म हाल पोखरा पृतनाको रिजर्भ कम्पनी हो । यसका प्रमुख हुन् मेजर मिलनकुमार जोशी । थापाले गरेको अनियमितताउपर २०७४ फागुन २८ गते क्याप्टेन राजकुमार गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले आर्थिक अनियमितता गरेको हुँदा उपरान्त कुनै पनि सामान खरिद गर्न नपाउने राय पनि गुल्मलाई दिएको देखिन्छ । तर गुल्मका तर्फबाट कुनै कारबाही नभएको भन्दै सैनिकहरूले थापाले रासन खरिदमा १ लाख ३० हजार भ्रष्टाचार गरेको बताएका छन् । उनीहरूले लेखेको पत्रमा भनिएको छ, ‘७ केजी पनिर ल्याएर १४ केजीको बिल बनाई रासन हिनामिना गर्ने, ठेकेदारबाट कम रकम प्राप्त भयो भनी घटिबढीबाट आउनुपर्ने पैसा १ लाख ३० हजार कम ल्याई बिल घटाउने, कसरी यस्तो भयो भन्दा ठेकेदारले यति नै दियो भन्नेजस्ता धेरै गल्ती गरिरहनुभएको छ । यस्ता गल्ती २०७४ सालबाट हालसम्म जारी छ । यही गल्ती अति भएर हाल नयाँँ आउनुभएका गुल्मपतिज्यूले सिनियर सुवेदारको काम क्याप्टेन सापलाई गर्न जिम्मेवारी दिनुभएको छ । तर उहाँलाई फ्रि छोडिदिनुभएको छ । आर्थिक अनियमितता गर्ने, गुल्मको रकम हिनामिना गर्ने यस्ता भ्रष्टाचारीलाई के त्यो नै विकल्प हो त ?’

गुल्मको सामान खरिदसम्बन्धी २०७६ भदौ ८ गतेको एउटा बिलमा पञ्जा १० सेट, जिप्याड र एल्बो ५ सेट र एसल्ट भेस्ट १० सेट किन्दा ५९ हजार ५०० को बिल देखाइएको छ । सैनिकहरूले थापामाथि गुल्मबाट कारबाही नभएपछि सामुहिक पत्र लेख्नुपरेको बताएका छन् । थापाले आर्थिक अनियमितताका गल्ती गर्दा माफी दिइएको, १ वर्षदेखि गुल्म फण्डमा रकम दाखिला नगरेको, गुल्मको पैसा चलाएको, आम्दानी रकम बोर्डमा खोजी भएपछिमात्र नक्कली बिलहरू बनाई पेस गर्ने गरेको सैनिकहरूको पत्रमा उल्लेख छ ।

थापाले आवास गृहमा जवान मेसबाट मासु लैजाने गर्दछन् । बन्दोबस्ती कार्य सिपाहीले थापाको क्वार्टरमा मासु पु¥याउँथे । दिनभर पल्टनको काम नगरी आवास गृहमा बस्ने थापा बेलुका रक्सी खाएर पृतनामा आई सैनिकहरूसँग झगडा गर्ने, अन्यको आवासगृहमा गई सताउने गरेकाले त्यहाँ कार्यरत सैनिकहरू आजित भइसकेका छन् । यसविषयमा पृतनाले ‘अब नसुध्रिए तेरो जागिर खाइदिन्छु’ भनेर चेतावनी पनि दिएको हो । तर सुध्रिएनन् ।

सबै महिना खर्चको अडिट बोर्ड बस्दा बिलमा खर्च हिनामिना गरेको देखिएपछि सधैँ बोर्ड क्यान्सिल हुने गर्छ । बोर्डमा बस्ने मान्छेको चित्त नबुझेपछि टिपेक्स लगाएर बोर्ड बैठकमा नबसेका मान्छेको नाम र हस्ताक्षर राख्ने गरिएको स्रोतले बतायो । हरेक बोर्ड बैठकमा यस्तो लफडा हुने गरेको छ । थापाले केही समयअघि किन्दै नकिनेको टेनिस ब्याट गुल्मपतिका लागि किनेको भन्दै बिल देखाएपछि लेखाशाखाले सोधपुछ गरी असुलसमेत गरेको थियो ।

पृतनामा आवश्यक सामान सरकारी पैसाबाट कार्यालयले किनेर बिल घटाएपछि थापाले सोही सामान युनिटको प्राइभेट फण्डको पैसाबाट किनेको भन्दै बिल देखाएर पैसा आफूले खाने गरेका हुन् । तर, लेखाप्रमुखले किनेको सामान आफूले किनेको भन्दै पैसा खाने थापालाई पृतनाले कारबाही गर्न सकिरहेको छैन ।

तीन वर्षदेखि थापाले गुल्मको आर्थिक कारोबार चलाइरहेका छन् । उनले कारोबार सम्हालेपछि गुल्म घाटामा छ । युनिटमा खर्च गर्ने प्राइभेट फण्डमा पैसा नभएपछि अन्यत्रबाट मागेर चलाइरहेको गुल्मस्रोतले बताएको छ । थापाले हरेक महिना प्राइभेट फण्डमा हुने आम्दानीभन्दा बढी खर्च देखाउने गरेका छन् ।

टिप्पणीहरू