खाने दाउ, जसरी पनि जुँगामा ताउ

खाने दाउ, जसरी पनि जुँगामा ताउ

राष्ट्र बैंकले कोरोना महामारीको विषम परिस्थितिलाई पनि आफ्ना कर्मचारीको निम्ति गतिलो खाने भाँडोको रूपमा प्रयोग गरेको देखिएको छ । वर्क फ्रम होम, होम क्वारेण्टिन र होम आइसोलेसनमा बसेका कर्मचारीलाई भर्चुअल तालिममा सहभागी गराएर भत्ताको व्यवस्था गरिएपछि ‘खाने मुखलाई जुँगाले नछेक्ने’ परिस्थिति बनेको हो ।

बन्दाबन्दी र निषेधाज्ञाको अवधीमा बैंकले पाँच सय बढी कर्मचारी तथा उच्च अधिकारीलाई आन्तरिक तथा वाह्य भर्चुअल तालिममा मनोनयन गरेर २५ देखि ५० प्रतिशत भत्ता दिएको देखिन आएको छ । बैंकको बैंकर्स प्रशिक्षण केन्द्रले आयोजना गरेको भर्चुअल तालिममा सहभागीलाई आन्तरिक दैनिक भ्रमण भत्ताको २५ प्रतिशत रकम दिइएको छ । विदेशी संघ संस्थाले आयोजना गरेको तालिमका सहभागीलाई भने त्यस्तो भत्ताको ५० प्रतिशत रकम दिइएको छ ।

बैंकले एकातिर कर्मचारीलाई छ महिनाभन्दा बढी समयदेखि वर्क फ्रम होमको सुविधा दिएको छ । तलब, भत्ता र अन्य सबै आर्थिक सुविधा दिएर आवश्यकताअनुसार होम क्वारिण्टन र होम आइसोलेशनमा समेत राखिएको छ । त्यसैगरी, अधिकृत द्वितीयभन्दा माथिका कर्मचारीलाई व्यक्तिगत ल्यापटप प्रदान गरिएको छ भने सबै कर्मचारीलाई मासिक इन्टरनेटवापतको रकम उपलब्ध छ ।

सबै कर्मचारी र तिनका सदस्यसमेतको कोरोना बीमा गरिएको छ । यस्तो अवस्थामा पनि महामारीलाई मौका छोपेर घरबाटै भर्चुअल तालिममा सहभागिता जनाएका कर्मचारीलाई भत्ता दिनु कानुन र व्यवहार दुबै दृष्टिकोणले आपत्तिजनक रहेको एकजना पूर्व गभर्नरले बताए ।

स्रोतका अनुसार यसबीच वैदेशिक भर्चुअल तालिममा करिब दुई सय जना र आन्तरिक भर्चुअल तालिमको निम्ति तीन सय जनाभन्दा बढीको मनोनयन भइसकेको छ । अरु धेरै जना मनोनयनको क्रममा रहेको बताइएको छ । अधिकांश सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मले सहभागिता जनाएको त्यस्तो तालिमको निम्ति जनशक्ति व्यवस्थापन विभागको सिफारिशमा गभर्नर महाप्रसाद अधिकारीले मनोनयन स्वीकृत गरेका हुन् । स्रोतका अनुसार घरको सोफामा बसेर भर्चुअल तालिममा सहभागी कर्मचारीहरूले एकदेखि पाँच दिनसम्मको भत्ता बुझेका छन् ।

बैंकका केही कर्मचारीले भर्चुअल तालिममा जनाएको सहभागिताले पञ्चायतकालमा नेपाल टेलिभिजनका समाचारवाचक डा. सुबोधकुमार पोखरेललाई समेत बिर्साइदिएको स्रोतको दाबी छ । उनीहरूमध्ये कतिपय घरको सोफा वा पलङ्मा बसेर सहभागिता जनाउँदा शरिरको माथिल्लो भागमा टाई सुट लगाएर, शरिरको तल्लो भागमा भने हनुमान कट्टुमै सजिएको समेत पाइएको छ ।

हुनतः नियमनकारी निकाय भएकाले अरुलाई अर्ति र उपदेश दिनु स्वाभाविक हो । आफूले गरेको क्रियाकलाप र निर्णयले सबैलाई लज्जित बनाउँदा भने राष्ट्र बैंकका ठूला बडामा कुनै सङ्कोच र अप्ठेरोसमेत नदेखिएको गुनासो छ ।

साउनमा जारी मौद्रिक नीति र सोबमोजिम एकीकृत निर्देशनमा गरिएको संशोधनमा राष्ट्र बैंकले आफू मातहतका निकायलाई सुशासनको राम्रो पाठ सिकाएको छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई मीठो लवज र भाषामा प्रस्तुत हुनुपर्ने विषय लिखितमै उल्लेख गरेको केन्द्रीय बैंकको आफ्नो आन्तरिक व्यवहार भने एक सय असी डिग्री उल्टो देखिएकोमा बैंकरहरूले खिसीट्युरी गरेका छन् ।

बन्दाबन्दी र निषेधाज्ञा शुरु भएपछि बैंकले आफ्नो सेवा सुचारु राख्न अहिलेसम्म पनि कर्मचारीहरूलाई आलोपालोमा कार्यालय आउने व्यवस्था मिलाएको छ । लगभग आधाजसो कर्मचारीले मात्र कार्यालयमा उपस्थित भएर र आधालेचाहिँ वर्क फ्रम होमबाट काम गर्ने पालो बनाइएको जनशक्ति व्यवस्थापन विभाग स्रोतले बताएको छ ।

त्यसमा पनि कोरोना संक्रमित कर्मचारीसँगको सम्पर्क र ट्रेसिङ्गपछि पालोमा कार्यालय आउनुपर्ने कर्मचारीसमेत साता, दश दिन होम क्वारेण्टिनमा बस्ने गरेका छन् । जनशक्ति व्यवस्थापन विभागका एकजना कर्मचारी भन्छन् ‘बैंकका सबै कार्यालय, विभाग र इकाइमा संक्रमण देखिइसकेकोले अहिले मुश्किलले २५ प्रतिशत कर्मचारी मात्र कार्यालय आउँछन् ।’

टिप्पणीहरू