मिल्ने पत्र – मिलापत्र

गाउँपालिकाका वडाध्यक्षज्यू हैरान हुनुहुन्छ । अब देशमा के गर्नुहुन्छ, के गर्न हुँदैन त्यो उहाँले थाहा पाउन नसकिने अवस्था छ । अहिले भर्खरै पनि एक हुल मानिस उहाँको घर घेराउ गरी फर्के । यसले उहाँलाई हुनसम्मको तनाव भएको छ ।

दिक्क वडाध्यक्षज्यूले श्रीमतीलाई भन्नुभयो, ‘भन्ने बेलाचाहिँ सबैजना मिल्नुपर्छ, सबै मिले मात्रै देश विकास हुन्छ भन्छन्, अब सबैजना मिलौं न त भनेर मिलाउन खोज्दाचाहिँ किन मिलाएको भनेर गाली गर्न आउँछन् । मैले त कुरै बुझ्न सक्या छैन ।’

‘होइन, के मिलाएर को कराउन आए भनेको ? म त केही बुझ्दिन ।’ सोझी श्रीमती पनि फत्फताउनुभयो ।

‘त्यही अस्ति माथि खेताँ बलात्कार ग¥यो भन्ने कुरा छ नि, त्यही मुद्दा हो क्या !’ वडाध्यक्षज्यूले टोली फुकालेर मुख पुछ्नुभयो ।

‘के भो त्यसमा ?’ श्रीमतीले जिज्ञासा पोख्नुभयो ।

‘के हुनु, त्यही त हो नि,’ वडाध्यक्षज्यूले दिक्क मान्दै भन्नुभयो, ‘बलात्कार भयो । केटो ठालूको छोरो रै’छ । पक्राउप¥यो । कारवाही चलाउनुप¥यो भन्ने । मैले भनें कि कारबाही चलाउने ? गाउँको कुरा गाउँमै मिलाऊँ । एकापसमा मिलापत्र गराऔँ । झन्झटै भएन । मैले यति भन्या हुँ, अब यिनीहरू मिलापत्र किन गर्न लगाएको भनेर पो झगडा गर्न आउँछन् बा !

मिलापत्र भनेको के ? मिल्ने पत्र । अब मिलाऊँ भन्दा किन मिल्ने भन्छन् भने मिल्ने कामै भएन नि ! भाषण गर्दा हामी सबै मिली एक हुनुपर्छ भन्छन्, अब मिलेर मिलापत्र गरौँ भन्दाचाहिँ किन मिलापत्र गर्न लगाएको भन्छन् । मिलापत्रै गर्न हुँदैन भने कसरी मिल्छ ? मिल्दै मिल्दैन भने एक कसरी हुन्छ ? मलाई त यो देशको भविष्य नै छ जस्तो लागेन है !’ वडाध्यक्षज्यूले लामो सास तान्नुभयो ।

टिप्पणीहरू