रहेनन् खनुपरुदे

रहेनन् खनुपरुदे

नेपाली कांग्रेसको पहिलो पुस्ताका नेता रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ ।

उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि उनी चावहिलस्थित ओम अस्पताल भर्ना गरिएका थिए । अस्पताल भर्ना भएपछि उनलाई कोरोना संक्रमण भएको थियो ।

उनको अहिले दिउँसो १२ बजे निधन भएको नाति कुलुप प्रसाईंले जनआस्थालाई बताए ।

प्रसाईं परिवार ताप्लेजुङको हाङपाङबाट झापाको बिर्तामोड बसाइँ झर्ने पहिलो पुस्ताका पर्वते समुदाय हुन् । अथाह जमिनका धनी भएका कारण ०१७ साल पछि नेपाली कांग्रेस पार्टी सञ्चालनका लागि वीपी कोइरालाले प्रसाईं परिवारबाट आर्थिक स्रोत जुटाउने गरेका थिए ।

उनका भाइ एवं राजनीतिक चिन्तक सिके प्रसाईंको केही वर्षअघि निधन भइसकेको छ ।

विक्रम संवत् १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा प्रसाईंको जन्म भएको थियो ।

अथाह धनसम्पत्ति भए पनि उनी मितव्ययी स्वभावका थिए । उनका बारेमा एउटा पन्चायतकालीन घटना कांग्रेसबृत्तमा अझै चर्चा गरिन्छ । वीपीले विराटनगरबाट बनारस जानका लागि उनीसँग गाडी माग्ने गर्थे । एकपटक रामबाबुले पठाएको गाडीमा डिजल सकिएपछि वीपीलेटेलिफोनमा सोधे, ‘किन तेल रित्तो ?’
रामबाबुले जवाफ दिए, ‘तपाईंले गाडी मागेको कि तेल ?’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा लामो समय कोषाध्यक्षको जिम्मेवारी बहन गरेका उनी ०४६ को परिवर्तनपछि सन्त नेता कृष्णप्रसाद भट्टराई पक्षधरका रुपमा परिचित थिए । भट्टराईपक्षीय नेता–कार्यकर्ता पार्टी भूमिकाबाट किनारा लगाइने क्रममा उनी पनि पछिल्लो समय भूमिकाशून्य अवस्थामा थिए ।

टिप्पणीहरू