नेपालीहरू कोरोनासँग निष्फिक्री, लकडाउनसँग भयभित

नेपालीहरू कोरोनासँग निष्फिक्री, लकडाउनसँग भयभित

कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई उछिन्यो । विकासमा कहिले उछिन्ने ? संसारमा कोरोनाले कोहराम मच्चाइरहेका बेला नेपालमा दुई अंकको संख्या पार गरेको थिएन । कोही मरेको थिएन । कोही एकजनालाई सामान्य लक्षण देखियो भने, कोही विदेशबाट आएर हाछ्यूँ मात्रै गर्‍यो भने पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली पुगेर उसलाई तुरुन्तै सावधानीपूर्वक अस्पताल लगेर पिसिआर टेष्टिङ र आइसोलेशनमा राखिन्थ्यो । सांसद र मन्त्रीहरु पुग्थे स्वास्थ्य अवस्था बुझ्न । सारा संसारले सहनुभूति व्यक्त गर्दथ्यो र चिन्ता पनि । जुन घरको मानिसलाई कोरोना आशंकामा अस्पताल लगियो, त्यो घरमा ताल्चा ठोकिन्थ्यो, त्यो टोलै शिल गरेर सुरक्षाकर्मीले पहरा दिन्थे ।

सुदूरपूर्वमा वा सुदूर पश्चिममा एकजनालाई कोरोना पोजेटिभ देखिए महत्वपूर्ण समाचार बन्थ्यो, सबैको चासो र चिन्ताको विषय बन्थ्यो । कोलाहल हुन्थ्यो, सबै त्राहिमाम जस्ता देखिन्थे । सरकारले चैत्र ११ गतेदेखि लगाएको लकडाउन जनस्तरबाट चिन्ताका साथ पालना भएको थियो । काठमाडौंमा बढी जनसंख्या भएका कारण यहाँ कोरोना फैलिए असामान्य हुने ठानेर उपत्यकाबाट गाउँ जान लाखौँको लर्को लाग्यो । गाडी चलेका थिएनन् । हवाई उडान सबै बन्द गरिएका थिए । तर नेता र मन्त्रीहरु आफ्ना जिल्लामा जनता पठाउन प्रतिष्पर्धा गर्न थाले । भारतबाट नेपाल आउनेको लर्कोले चिन्ता थप्यो । भारतमा तिब्र गतिमा फैलिएको संक्रमण र मृत्युदरले नेपाललाई चिन्तित बनाउनु स्वभाविक थियो । नेपालले भारतबाट आउने नागरिकको सहजीकरण र व्यवस्थापन गर्न सकेन । महाकाली नदीमा छलाङ लगाएर आए कोही, कोही रातीराती प्रहरीलाई हजारौं पैसा बुझाएर नेपाल आए । बारा जिल्लाका केही सुरक्षाकर्मीमाथि यो विषयमा कारबाही पनि भएको थियो ।

यावत ढंगले पहिलो चरणको लकडाउन जेठ मसान्तसम्म चल्यो । मानिसहरु कामका लागि घरबाहिर निस्कन पाएनन् । कुनै आर्थिक गतिविधि हुन सकेनन् । औषधी, अत्यावस्यकीय र खाद्यान्नबाहेक कुनै पनि पसल वा उद्योग खुलेनन् । मजदुरी गर्ने र व्यापार गर्नेले कुनै आम्दानी गर्न पाएनन् । होटल र पर्यटन व्यवसाय पूर्णरूपमा ठप्प भए । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को कार्यक्रमका लागि हजारौं होटल, रिसोर्ट र पर्यटकीय व्यवसायमा हजारौं मानिसले अरबौं लगानी गरेका थिए । सरकारले पनि यसका लागि खरबौं लगानी गरेको थियो । तर त्यो सबै रोकिँदा सरकारको मात्र नभएर जनताको पनि लगानी डुबेको छ । यो अवधिमा एकजना मानिस पनि नेपालमा कोरोनाका कारण मरेनन् । तर जीवनयापनको माध्यम बन्द हुँदा १५ सयभन्दा बढीले आत्महत्या गरेर जीवन त्यागे । आर्थिक जीवन व्यक्ति र राज्यको तहसनहस भयो । ग्राहस्थ उत्पादन नराम्रोसँग खस्कियो । आर्थिक वृद्धिदर विगतको ७ प्रतिशतबाट झरेर १.५ प्रतिशत भयो ।

सरकारले लकडाउनमा खान नपाएका जनतालाई भनेर ४ किलो चामल, २ किलो दाल र १ किलो नुन बाँड्न थाल्यो । जनतालाई थोरै राहत महसुस भयो । सरकारले कोरोना माहामारी नियन्त्रण भन्दै अन्यत्र शीर्षकमा भएका बजेटलाई पनि कटौती गर्दै कोरोना कोषमा ल्याएर खर्च गर्न थाल्यो । औषधि, मास्क, भेन्टीलेटर, थर्मल गन, एप्रोनलगायत खरिदमा अरबौं खर्च गर्न थाल्यो । अहिलेसम्म कोरोना नियन्त्रणमा भन्दै सरकारले २२ अर्बभन्दा बढी खर्च गरेको तथ्यांक देखिन्छ । तर जनताले कोरोना परीक्षण गर्न आफैँले ४ हजारदेखि १५ हजारसम्म शुल्क तिरेका छन् । त्यो पनि सहज ढंगले परीक्षण हुँदैन । भोलिपल्टको लाइनमा बस्न सपरिवार लालाबाला लिएर सडकमै रातभरी सुत्नुपरेको छ । अधिकांश कोरोना संक्रमित घरमै आइसोलेसनमा बसेका छन् । अन्य देशमा जनतालाई घरभित्रै लकडाउन गरेर राख्दा उनीहरुको खातामा जनताकै करबाट जम्मा भएको राष्ट्रिय ढुुकुटीको केही रकम राहतस्वरुप हालिदिएको देखिन्छ । जसका कारण ति देशमा जनताको जीवनयापनमा धेरै राहत भयो । तर नेपालमा राहतको नाममा जम्मा ४ किलो चामल बाँडेर तीन महिनासम्मको लकडाउनमा सरकारले जनताको जीवनको मजाक उडायो । संवेदनाहिनताको नमुना देखायो । सरकारी तलब खाने, ठूला कम्पनीबाट नियमित तलब खानेबाहेक मजदुर, किसान, मध्यमवर्गीय जनतालाई सिधै केही निश्चित रकम दिनुपर्छ भनेर जनस्तरबाट उठेको आवाज सरकारलाई मन परेन । तर सिसिएमसीका पदाधिकारीको मिलेमतोमा ओम्नी जस्ता कम्पनीलाई गलत ढंगले करोडौंको स्वास्थ्य सामाग्री ल्याउने जिम्मा बिना टेण्डर दिएर अनियमितता गर्न खोजे । जि टु जि सामान ल्याउदा पनि अनियमितता भएको भन्ने गुनासो आयो । यसमा जिम्मेवार निकायका मानिसको असाध्यै गैरजिम्मेवार अभिव्यक्ति आए । प्रतिपक्ष दल कानमा तेल हालेर निदायो । कोरोनाको कहर कसैका लागि लुट्ने सुनौलो अवसर बन्यो । कसैका लागि काल ।
पहिलो लकडाउनको अन्त्यसम्ममा नेपालमा एकजना पनि मानिस कोरोनाका कारण मरेका थिएनन् । भारतमा संक्रमण बढ्न थालेको थियो । मृत्युदर पनि ह्वात्तै बढेको थियो । तर त्यहीबेला नेपालमा लकडाउन खुकुलो बनाउने र खोल्ने निर्णय भयो । नेपालको पूर्वदेखि पश्चिमसम्म भारतसँग सिमाना जोडिएको तराईको भूगोल भएको र खुल्ला सिमाना भएका कारण भारतबाट रातारात लाखौं रकमसहित नेपाल घुसपैठ गर्नेको संख्या बढ्यो । नेपालका काठमाडौं उपत्यकालगायत सबै पहाडी जिल्लामा भारतबाट आएका संक्रमितहरु पुग्न थाले । यसले चिन्ता बढायो । नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो । सुरुमा भारतबाट आएका जमातीहरुले उदयपुर, पर्सा, बारा, रौतहट बाँके, रुपन्देही लगायत जिल्लामा कोरोना सल्काए । पछि त विभिन्न माध्यमबाट आएकाहरुले नेपालमा कोरोनाको कहर नै छायो । अहिले कोरोना नेपालमै समुदायस्तरमा फैलिसकेको अवस्था देखिन्छ । संक्रमितको संख्या लाखको हाराहारीमा पुगिसक्यो । लगभग छ सय ५० जनाको मृत्यु भएको छ । हरेक दिन कोरोनाका कारण नेपालमा मर्नेको संख्या १० देखि १५ जनासम्म हुने गरेको छ । यो चिन्ताको विषय हो ।

केही कमजोरीका बाबजुत सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्न मिल्दैन । बेलैमा बोर्डर व्यवस्थापन गर्न नसकेको विषयबाहेक सरकारले आफ्ना तर्फबाट जनतालाई कोरोना लाग्नबाट बचाउन उसको क्षमताले भ्याएसम्म गम्भीरतापूर्वक नै लागेको देखिन्छ । सरकार चिन्तित पनि देखिएकै छ । जनचेतना र खबरदारीमा लागेकै छ । कसरी संक्रमितको पहिचान गर्ने, उपचार गर्ने र त्यसबाट अन्यलाई कसरी बचाउने भन्नेमा सरकारका सबै निकाय उत्तिकै चिन्तित भएर काम गरेको देखिन्छ । अहिलेसम्म पनि सरकारको त्यो भूमिकामा कुनै शंका गर्ने ठाउँ छैन । तर जनताले यो कोरोनाको भूतलाई फिस्स पनि गनेको देखिँदैन ।

भारत अहिले संसारकै सबैभन्दा बढी संक्रमित हुने देशको दोस्रो नम्बरमा छ । मृत्युदर पनि त्यही अनुपातमा छ । त्यसको सोझो असर नेपालमा परेको छ । किन कि बंगलादेश र पाकिस्तानमा जस्तो बन्द सिमाना छैन नेपाल र भारतबीच । स्वभाविकै रुपमा नेपालमा लकडाउन खोलेपछि संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्यो । सरकार चिन्तित भयो । नागरिकको जीवन सुरक्षाको चिन्ता हुनु स्वभाविकै हो । सरकारले फेरि लकडाउन गर्‍यो । तर संक्रमणको गति र मृत्युदर घटेन । चाडबाड नजिकिएको, भोकले यसै पनि मर्ने अवस्था आएकाले जनताले लकडाउनलाई नै आफ्नो काल देख्न थाले । मानिसमा कोरोनासँग भन्दा पनि सरकार र लकडाउनप्रति आक्रोस बढ्न थाल्यो । सरकारले फेरि लकडाउन खुकुलो बनाउने निधो गर्‍यो । सवारी जोर–बिजोर गरेर चलाउने, लामोछोटो दूरीका सवारी साधन चलाउने, हवाइ उडान खोल्ने, होटल पसल खोल्ने, सबैखाले उद्योग र निर्माण काम सुरु गर्ने निर्णय क्रमशः गर्‍यो । अहिले केही बाहेक सबै खुल्ला गरिएको छ । त्यसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनिवार्य भनिए पनि हामी हेर्न सक्छौं, कतै पनि कसैले पनि गम्भीरतापूर्वक पालना गरेका छैनन् । यस्तो लाग्छ, सरकारले जनताको जीवन रक्षाको लागि भन्दा पनि आफ्नै लागि मात्रै यो लकडाउन गरेको र स्वास्थ्य सुरक्षा मापदण्ड भनेको थियो ।

केही मानिसहरु लागिरहेकै छन्, यो संक्रमण केही होइन, केही हुँदैन । सरकारले विश्व स्वास्थ्य संगठनको पैसा खान यो हौवा पिटाएको हो पनि भनिरहेका छन् । उनीहरुले कोरोनाका कारण मरेका यी साँढे पाँचसय जनाको परिवारलाई जवाफ दिनुपर्छ । सरकारले अहिले लकडाउन खोलेको छ । पिसिआर परिक्षण सहज बनाएको छ । संक्रमितको दर बढिरहेकै छ । मृत्युदर बढिरहेकै छ । तर मानिसमा कोरोनासँग रत्तिभर डर देखिँदैन । उनीहरुमा डर छ त केवल सरकारले फेरि लकडाउन गर्ने हो कि भन्ने मात्रै ।

टिप्पणीहरू