रुकुमका मजदुरको रुवावासी

रुकुमका मजदुरको रुवावासी

रुकुम पूर्वको एक विद्युत आयोजनामा काम गरेका मजदुरहरुले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् । ती सिस्ने गाउँपालिका वडा नम्बर ८ स्थित जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका मजदुर हुन् ।
६ महिना बितिसक्दा पनि आफूहरुले दाम नपाएको सिस्ने गाउँपालिका वडा नम्बर ८ की चन्द्रकला माझकोटीले बताइन् । उनले त्यहाँ १८ दिन काम गरेबापत पाउनुपर्ने ज्याला ९ हजार हो । स्थानीय झुपलाल घर्ती,कुवेर घर्ती,नौली पुनलगायतले पनि ज्याला नपाएको जनाएका छन् । मामको जोहो गर्न काम गर्दा दाम नपाइएकोमा उनीहरुको दुखेसो छ ।

विद्युत आयोजना निर्माण समितिका सचिव विष्णु सार्कीले भने भुक्तानी आउनुपर्ने रकम घटेको भन्दै ज्याला दिन नसकिएको बताए । उनका अनुसार पहिले जिल्ला समन्वय समिति रुकुम पूर्वले १७ लाख र सिस्ने गाउँपालिकाले ४० लाख गरी जम्मा ५७ लाख रकम विद्युत आयोजनाको लागि उपलब्ध गराउने भनिएको थियो । समितिले पनि त्यहिअनुसार इस्टिमेट बनाएको हो । तर पछि जिल्ला समन्वय समितिबाट पैसा भुक्तानी नभएको र गाउँपालिकाबाट पनि पावर हाउस निर्माणको लागि तयार पारिएको ठाउँमा पहिरो झरेपछि ४० को ठाउँमा २१ लाख एक हजार मात्र भुक्तानी आएको उनले बताए । सचिव सार्कीले करिब ६० जना मजदुरलाई दिनुपर्ने ज्याला करिब ६ लाख बाँकी रहेको र सम्बन्धित निकायमा सहकार्य गरेर चाँडै उपलब्ध गराइने उल्लेख गरेका छन् ।

यता जिल्ला समन्वय समिति रुकुमले भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफूहरुसँग कुनै सम्झौता नभएको जनाएको छ । जिसस प्रमुख गजेन्द्र बहादुर ओलीले आफ्नो समन्वयकारी भूमिका रहने तर त्यसरी बजेट विनियोजन गर्नलाई कार्यालयमा बजेट नहुने प्रष्ट पारे । औपचारिक रूपमा अथवा कुनै बैठकमा विद्युत आयोजनालाई बजेट उपलब्ध गराउने भन्ने विषयमा कुनै किसिमको छलफल नभएको उनको भनाई छ ।

२०७२ साल असारमा काम सम्पन्न भई संचालनमा आएको उक्त विद्युत आयोजनाले सिस्ने गाउँपालिकाको वडा नम्बर ७ र ८ का साथै रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ छिङमा सेवा दिएको थियो । वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको २ करोड १३ लाख बजेटमा विद्युत आयोजनाको काम सम्पन्न भएको हो । जसमा ३० प्रतिशत जनश्रमदान नागरिकको रहेको गाउँपालिकाका उपाध्यक्ष गोबद्र्धन बुढाले बताए । सिस्ने गाउँपालिकाले पनि तार पोल बिस्तारको लागि १२ लाख बजेट बिनियोजन गरेको थियो ।

टिप्पणीहरू