नेकपालाई यो गणित महङ्गो पर्न सक्छ

नेकपालाई यो गणित महङ्गो पर्न सक्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका दुई हजार दुई सय ४९ जना कार्यकर्ताले संयुक्त राजीनामाको घोषणा गरेका छन् । प्रदेश राजधानीको बिषयमा नेताहरूले स्पष्ट अडान नलिएको उनीहरु बताउँछन् । उनीहरू खासगरी जिल्ला पार्टी इञ्चार्ज तथा उद्योग, पर्यटन,वन र वातावरण मन्त्री लीला गिरी,नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेकपा रुपन्देही अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीप्रति बढी आक्रोशित देखिएका छन् । चुनावी वाचाबाट पछि हटेको र जनताको साथ रहँदारहँदै पनि खुट्टा कमाएको आरोप नेताहरुमाथि लागेको छ । पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चुनावको वाचा पुरा नगरेको हुँदा पार्टीमा बसिरहनुको औचित्य नरहेको बताए ।

कार्यक्रममा व्यवसायीहरू यमलाल लोहनी, नारायण घिमिरे, एजाज आलम, माधव नेपाल, समुन्द्र जिसीलगायतले बोलेका थिए । पार्टी त्याग्नेमा रुपन्देहीस्थित ३५ वटा सामाजिक संघ संस्थाका २२४९ जना पार्टी सदस्य छन् । गएको स्थानीय चुनावमा बुटवल उपमहानगरपालिकाबाट करिब चौबिस सय मत अन्तरले नेपाली काँग्रेसका खिलराज पाण्डे हारेका थिए । त्यसकारण नेकपालाई कार्यकर्ताको यो बिद्रोह महङ्गो पर्ने देखिएको छ ।

टिप्पणीहरू