‘महामारीमा घर बस्दा सन्तान उत्पादन गरौं’ : सिंगापुर

‘महामारीमा घर बस्दा सन्तान उत्पादन गरौं’ : सिंगापुर

विश्वमा सबैभन्दा थोरै सन्तान उत्पादन दर भएका मुलुकमध्ये सिंगापुर पनि हो । नयाँ पुस्तामा बिहेवारी नै नगर्ने, गरे पनि बच्चा जन्माउन आनाकानी गर्ने र महिला र पुरुषको आवश्यकता पूर्तिको लागि लिभिङ्ग टुगेदरको जीवन शैली अपनाउने भएपछि सिंगापुरमा अन्य विकसित मुलुकमा झैँ बृद्ध जनसंख्याको तुलनामा जन्मदर अत्यन्त कम देखिएको हो ।

पर्याप्त जनसंख्याको अभावमा भविष्यमा आइपर्नसक्ने सामाजिक,आर्थिक तथा राजनीतिक समस्या समाधानको लागि सरकारले आफ्ना नागरिकलाई धेरै सन्तान उत्पादनको विभिन्न योजना र कार्यक्रम घोषणा गर्दै आएको छ । तरपनि त्यसतर्फ खासै उपलब्धि हासिल नभएको अवस्थामा अहिलेको महामारीलाई सन्तान उत्पादन गर्ने सुनौलो अवसरको रूपमा ग्रहण गर्न त्यहाँकी उपप्रधानमन्त्री हङ्ग स्वी किटले आर्थिक प्याकेजसहित अनुरोध गर्न लागेको बताएकी छन् ।

नयाँ प्रस्तावमा ‘महामारीका कारण धेरै समय घरभित्रै बस्नुपर्ने अवस्थामा दम्पत्तिलाई सन्तान उत्पादनको लागि उपयुक्त अवसर मिलेकोले त्यसतर्फ अग्रसर हुने अभिभावकलाई एक पटकको लागि गतिलो आर्थिक सुविधा प्रदान गर्ने’ बताइएको छ । सिंगापुरमा हरेक युवा दम्पतिले सन्तान उत्पादनलाई आर्थिक बोझको रूपमा लिने गरेका छन् ।

कामकाजी अभिभावकलाई राम्रै आर्थिक सहयोग पुग्ने गरी सरकारले सन्तान उत्पादनमा जोड दिँदै आर्थिक प्याकेजको घोषणा गर्न लागेको हो । सरकारले विधायकहरुसँगको छलफलमा भनेको छ ‘महामारीको समयमा घरभित्र त्यत्तिकै बस्नुभन्दा सन्तान उत्पादनको लागि आवश्यक तयारी गर्न प्रोत्साहन गरिने छ ।’

महामारीले अन्य मुलुकमा झैँ त्यहाँपनि सार्वजनिक स्वास्थ्यमा भएको अत्यधिक खर्च र न्यून आयले सिंगापुरको अर्थतन्त्रमा गहिरो मन्दी देखिन थालेको छ । कोरोनाको कारण पछिल्लो छ महिनामा कूल गार्हस्थ्य उत्पादन १२.६ प्रतिशतले घटेको छ ।

सिंगापुरको शिशु जन्मदर प्रति महिला मुश्किलले एकको हाराहारीमा छ । कुनैपनि मुलुकमा प्राकृतिक रूपले जनसंख्या दर स्थीर राख्नको लागि औसतमा एक महिला बराबर २.१ शिशुको जन्म हुनुपर्छ । सिंगापुरको भन्दा पनि कम जन्मदर भएका अन्य मुलुकमा दक्षिण कोरिया र पुएर्टोरिको हुन् ।

टिप्पणीहरू