नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल !

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल !

बैंकर तथा समाज सेवी उपेन्द्र पौड्याललाई नबिल बैंकले सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको चार वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि उपेन्द्र  पौड्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका अनुसार सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको छ ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका उपेन्द्र पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ ।

तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका पौड्याल यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

उपेन्द्र  पौड्याल

अध्यक्ष पौडेल सन् १९८६ मा ग्रिण्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यहांँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष सेवा गरको थिए ।

१४ वर्ष ग्रिण्डलेज बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् ।  होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका थिए । त्यही अनुभवका आधारमा उनले हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरेका थिए । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उनको अनुभव छ ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्ष सम्म पुर्याएको छ । बैंकले उहाँको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको जनाएको छ ।

 

टिप्पणीहरू