सिँचाई र सडक दुबै स्वाहा

सिँचाई र सडक दुबै स्वाहा

बाँकेको सिक्टा सिँचाई परियोजना ठेकेदार तथा राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो । निर्माण सम्पन्न पछि नहरमा पानी पठाउँदा एक ठाउँमा डिल रसायो,अर्को वर्ष राप्ती नदीमा बाढी आउँदा नहर दुई ठाउँमा राम्रैसँग भत्कियो ।

त्यसपछि नहरको डिजाइन गर्ने इञ्जिनियर र परियोजना पूर्व निरीक्षण गर्ने सबै प्राविधिकलाई माटोको गुणस्तर परीक्षणमा लापरबाही गरेको आरोप लगाइयो । सोही क्रममा निर्माण कम्पनीका मालिक पाण्डेलगायत सिँचाइ विभागका २१ जनालाई दोषी करार गरेर अख्तियारले विशेष अदालतमा मुद्दा चलायो । सिँचाईं विभागका अधिकांश इञ्जिनियर र कर्मचारी उक्त मुद्दामा पोलिएपछि त्यो बेला विभाग नै स्वाहा भएको बताइन्छ ।

सिक्टा सिँचाईमा भएको घोटाला र अनियमिततासम्बन्धी मुद्दा दश दिन अगाडि पेशीमा चढे पनि इजलासले हेर्न नभ्याएको भन्दै हिजोको लागि सारिएको थियो । हिजो पनि मुद्दा पेशीमा चढ्यो तर हेर्न नभ्याएको भन्दै धकेलिएको छ । लामो समयदेखि विशेष अदालतमा रहेको उक्त मुद्धा हेर्न नभ्याएको भन्दै पछि सर्दै आएको छ ।

मुद्दा लागेका २० जनामध्ये १० जना जति अनिवार्य अवकाशको कारण सेवाबाट बाहिरिएका छन् । बाँकी १० जनापनि हालसम्म निलम्बनमै छन् । उता, सडक विभागका अधिकांश कर्मचारी पप्पु कन्स्ट्रक्सनको अनियमिततामा तानिएका कारण त्यसैगरी स्वाहा भएका छन् । यी घटनाले सडक र सिँचाईंका कतिपय राम्रा र आशलाग्दा इञ्जिनियरलाई समेत सिध्याइदिएको छ ।

झण्डै दुई करोड रूपैयाँ खर्चेर मर्मत गरेपछि ४५ किलोमिटरको नहर सहज ढङ्गले सञ्चालनमा आएको छ । अख्तियारले भने सिक्टा परियोजनाको पूरै खर्च र लागतको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको हो । अर्बौं रूपैयाँमा सम्पन्न सिक्टा नेपालको हालसम्मको सबैभन्दा लामो नहर हो ।

अख्तियारले करिब एक वर्ष लगाएर गरेको अनुसन्धानपछि मुद्दा दायर गरेको थियो ।

टिप्पणीहरू