प्रधानमन्त्री ओलीको सुशासनको नारा छल्दै मन्त्रीले हिजो रातारात यसो गरिन्

प्रधानमन्त्री ओलीको सुशासनको नारा छल्दै मन्त्रीले हिजो रातारात यसो गरिन्

उता पूर्व-पश्चिम रेल्वे परियोजनाको ट्रयाक विवाद चर्किएको मौका छोपेर यता खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयको दोस्रो परियोजनाअन्तर्गत चारवटा ठेक्काको सूचना सार्वजनिक गरेको छ । चार वटा ठेक्काको कूल लागत १४ अर्ब रूपैयाँ छ । यसअन्तर्गत मेलम्चीको पानी सुन्दरीजल आएपछि काठमाडौं उपत्यकामा पहिले बिच्छाइएको मुख्य पाइपलाइन (ट्रंक लाइन) सँग समानान्तर हुनेगरी अर्को पाइप लाइन बिच्छाइने छ ।

जसमा सुन्दरीजलदेखि चाबहिलसम्म अर्को लाइन बिच्छाउने र शहरी क्षेत्रका उपभोक्ताको घरसम्म पानी वितरणको लागि वितरण लाइन (सञ्जाल) बनाउने उल्लेख छ । यसलाई डीएनए प्रोजेक्ट अर्थात् डिष्ट्रिब्युसन नेटवर्क भनिएको छ । यस्तो नेटवर्क शुरुमा छुट्टाछुट्टै चारवटा तयार गरिएको थियो ।

सरकारको सबै संयन्त्रदेखि उच्च राजनीतिक नेतृत्व रेल्वे परियोजनाको विवाद सल्टाउनेतिर लागेको मौकामा खानेपानी मन्त्री विना मगर भने पाइपसँगै ‘नगद नारायण’ बिच्छाउने काममा लागेको बालुवाटार स्रोतको आशंका छ । परियोजनाका निर्देशक तथा सहसचिव भोजविक्रम थापा भोलि २० गतेदेखि अवकाश हुँदै छन् ।

मन्त्री मगरले गत शुक्रबार र शनिबार मध्यरातसम्म कार्यालयमा बसेर उक्त ठेक्काको काम फत्ते गरेकी हुन् । हिजो आइतबार अबेरसम्ममा सम्बन्धित ठेकेदारलाई कामको जिम्मा लगाउने गरी रफ्तारमा राती १० बजे डकुमेण्टमा हस्ताक्षरको काम सम्पन्न भएको बताइएको छ । शुक्रबार दिउँसो चारजना ठेकेदारलाई मन्त्रालयमा बोलाएर भाइले डिल गरेका थिए ।

डिल मिलेपछि कागजी प्रक्रिया शुक्रबार अपरान्हबाट द्रुत गतिमा अघि बढाइएको हो । अवकाश हुन लागेका निर्देशकले यसअघि सबै कागजी प्रक्रियामा हस्ताक्षर गरिसकेकाले उनीमार्फत् सबै काम निमिट्यान्न पार्न सजिलो भएको प्रधानमन्त्री कार्यालयमा सूचना पुगेको छ । त्यसैगरी भोलि आउने निर्देशकलाई खासै झ्याउलो र जिम्मेवारी पनि नहुने भएकाले समेत यतिखेर ठेक्काको प्रक्रिया रातारात सकाइएको आँकलन गरिएको छ ।

स्रोतका अनुसार रातारात ठेक्का पाउनेहरूमा किरण वैद्यको एक्जिम नेपाल,धरहरा बनाउने जिम्मा पाएको रमण कन्स्ट्रक्सन,संघीय संसद भवन निर्माणको जिम्मा पाएको तुँदी कन्स्ट्रक्सन र अर्को नयाँ कम्पनी छन् । २४ घण्टापछि सेवानिवृत्त हुन लागेको हाकिमलाई अघि सारेर यसरी रातारात अरबौंको ठेक्का प्रदान गरिएको घटनालाई बालुवाटारले राम्रैसँग नियालिरहेको बताइएको छ ।

यता,मन्त्रीमण्डल पुनर्गठनको चर्चा र उता हाकिमको अवकाशको मिति नजिकिएपछि ‘साइनिङ् एमाउण्ट’ लाई ध्यानमा राखेर रातारात ठेक्काको जिम्मा लगाएको आशंका छ । विज्ञहरूका अनुसार कुनैपनि परियोजना र ठेक्कामा सबैभन्दा ठूलो चलखेल नै ‘साइनिङ् एमाउण्ट’ मा हुन्छ । अहिले मेलम्चीको दोस्रो परियोजनाको ठेक्कालाई पनि त्यहि ढङ्गले हेरिएको छ । ‘साइनिङ् एमाउण्ट’ बाटै सबै सेटिङ्ग र भाग मिलाउने प्रपञ्च चारवटै ठेकेदारसङ्ग यसअघि नै भएको सुईंको आफूहरूले पनि पाएको बालुवाटारले दाबी गरेको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुहारी भएकाले पनि मन्त्री मगरका हरेक क्रियाकलाप र निर्णयलाई बालुवाटारले आफ्नो विशेष अध्ययनको विषय बनाउँदै आएको छ । मन्त्रालय मातहतका निकायमा पछिल्लो अढाई दशकमा भएका अधिकांश सरुवामा समेत नगद नारायणको भूमिका महत्वपूर्ण रहेको उजुरी बालुवाटारमा धेरैवटा परेको बताइन्छ ।

हिजो राती तय भएको ठेक्कामा अधिकांश कन्स्ट्रक्सनले मिलेमतोमा औसतमा २० प्रतिशतभन्दा कम लागतमा बोलपत्र हालेको समेत बालुवाटारको निश्कर्ष छ । शुक्रबार भएको ०.५ प्रतिशतको डिलमा जुटेको सहमतिअनुसार ‘साइनिङ्ग एमाउण्ट’ वापत मात्रै पनि झण्डै ६ करोड रूपैयाँ हुन आउँछ ।
यसअघि परियोजनाको बजेट ल्याउन अर्थ मन्त्रालयमा आवश्यक पहल गर्नेमा भोलिदेखि अवकाश हुन लागेका निर्देशक थापा,मन्त्रालयका सचिव र काठमाडौं उपत्यकाका सांसदहरू मुख्य थिए । उनीहरूले तत्कालीन अर्थमन्त्री युवराज खतिवडासमक्ष संयुक्त डेलिगेशन नै गएर बजेट ल्याएका हुन् ।
तर, बजेट निकासा भएर आएपछि सलबलाहट अस्वाभाविक ढंगले अघि बढेको मन्त्रालयका कर्मचारीहरू नै बताउँछन् ।
पर्सिदेखि खाली हुने मेलम्ची निर्देशनालायको हाकिममा कसलाई ल्याउने भन्ने सम्बन्धमा पनि डाक बढाबढको सिद्धान्तले काम गरेको संकेत पाइएको छ । थापाको अवकाशपछि उक्त स्थानमा लैजानको लागि मन्त्रीले तीनजनाको सूची तय गरेकी छिन् । सम्भावित निर्देशकको रूपमा हेरिएका सूर्य कँडेल र प्रदिप मुडभरीसँग राम्रै कुरा भइरहेको तर कुरो नमिलिसकेको बताइन्छ । ‘जसले बढी कबोल गर्छ त्यहि निर्देशक हुने हाम्रो परम्परा नै हो’ मन्त्रालय स्रोतले स्पष्ट पारेको छ ।

उता माओवादीसँग निकट भनिएका भर्खरका कमल श्रेष्ठले पनि घरदैलो गर्न छाडेका छैनन् । अझै डेढ दशक सेवा अवधि बाँकी रहेका उनी भविष्यमा सचिव बन्न आफूलाई कसैले रोक्न नसक्ने भएकाले मन्त्रीले लामो समयसम्मको सम्बन्ध राख्ने कि तत्कालको ‘नगद नारायण’ को ? भन्नेमा अडिग देखिन्छन् ।

टिप्पणीहरू