राजधानीको तनावले सर्‍यो सचिवालय

राजधानीको तनावले सर्‍यो सचिवालय

दाङबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी नै दाङ पुर्‍याएपछि नेकपाभित्रको गुटगत असन्तुष्टि छरपस्ट भएको छ । हिजो प्रदेश राजधानी भालुवाङ र नाम लुम्बिनी तोक्ने निर्णय भएसँगै हालको अस्थायी राजधानी बुटवल तनावग्रस्त छ । प्रदेशको निर्णयका कारण सत्तारुढ नेकपाभित्र पनि तनाव छ । अध्यक्षहरूबीचको असमझदारीले दूरी बढिरहेका बेला प्रदेश राजधानीको निर्णयले आज बस्ने भनिएको सचिवालय बैठक नै सरेको छ ।

मन्त्रीमण्डल पुनर्गठनका विषयमा दुई अध्ययक्षबीच सहमति जुटिरहेको छैन । यसबीच पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगको सल्लाहबिना नै प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत, लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत र शंकरदास बैरागीलाई मुख्यसचिव बनाएपछि प्रचण्ड रुष्ट हुनुहुन्छ । हिजो दुई अध्यक्षबीचको भेटमा पनि खास मुद्धामा छलफल हुन नपाई बाझाबाझ भएर सकिएको थियो ।

आज हुने भनिएको सचिवालय बैठक दुई अध्यक्षबीचको विवादका कारण नभई प्रदेश राजधानीका कारण सरेको बताइएको छ । ‘राजधानीको विषयले बुटवलमा तनाव छ, मलाई समस्या भयो, त्यसकारण सार्न पाए हुन्थ्यो ।’ रुपन्देहीबाट निर्वाचित पार्टीका महासचिव विष्णु पौडेलले यसरी अनुरोध गरेपछि बैठक सरेको स्रोतले बतायो ।

बुटवल आज दिनभर पनि तनावग्रस्त रह्यो, भोलि जिल्ला बन्द छ । प्रदेश राजधानी तोकिएसँगै हिजोदेखि बुटवल तनावग्रस्त छ । स्थायी राजधानी दाङको भालुवाङ तोकिएको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले एक दर्जन सरकारी र केही निजी सवारी जलाएका छन् । हिजो सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कोरपियो, कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ र लु १ झ ४४९ नं. का गाडी तोडफोड भएका छन् । नेपाली काँग्रेसको नेतृत्वमा प्रदर्शन भइरहेको छ । काँग्रेस रुपन्देहीले भोलि जिल्ला बन्दको आह्वान गरेको छ । बन्दको पूर्वसन्ध्यामा काँग्रेसले आज साँझ बुटवल बजारमा राँके जुलुश निकालेको छ । १९ गते प्रदेशसभा अगाडि धर्ना दिएर सांसदहरुलाई प्रदेश सभा वैठकमा जानै नदिने काँग्रेसको निर्णय छ । आफ्नो माग पूरा नभए काँग्रेसले नेकपाका साँसदहरूको घर अगाडि कालो झण्डा प्रदर्शन गर्दै कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

टिप्पणीहरू