‘अब लकडाउन हुँदैन’

‘अब लकडाउन हुँदैन’

सरकारले अब फेरि मुलुकमा लकडाउन नहुने बताएको छ । हिजो दिउँसो उद्योग वाणिज्य क्षेत्रका अगुवाहरूसँग भेट गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उक्त कुरा बताउनुभएको हो। केही साताअघि स्वास्थ्य मन्त्रालयले मुलुकभर कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी वा निषेधाज्ञाको सिफारिश गरेको समाचार बाहिरिएको थियो ।

तर, अहिले हिन्दूहरूको सबैभन्दा ठूलो चाड दशैं र त्यसलगत्तै तिहार,नेपाल सम्बत र छठको समय भएकाले बन्दाबन्दीको सम्भावना नरहेको मन्त्री ढकालले स्पष्ट पार्नुभएको हो। भेटमा ढकालले लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाले मुलुकको अर्थतन्त्र चौपटको अवस्थामा पुग्ने सम्भावना बढ्दै गएकाले पनि सरकार तत्काल चाडबाडको मुखमा बन्दाबन्दी वा निषेधाज्ञा गर्ने मुडमा नरहेको स्पष्ट पार्नुभएको हो।

२५ हजार संक्रमित पुगेको अवस्थामा समेत आवश्यकताअनुसार सिकिस्तलाई मात्र अस्पताल र स्वास्थ्य संस्थामा तथा अन्य सामान्य अवस्थाका संक्रमितलाई अहिलेझैँ घरमै आइसोलेसनमा राखिने मन्त्रालयले जनाएको छ । तर, सर्वसाधारणमा मास्कको प्रयोग नगर्ने, सामाजिक दूरीको ख्याल नगर्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड नपनाउने प्रवृत्ति बढ्दै गएकोतर्फ भने मन्त्री ढकालले गुनासो गर्नुभएको थियो ।

ढकालले भन्नुभयो  ‘के मास्क प्रयोग गर्नु भनेको सरकारप्रति गुन लगाउनु हो ? अनि नलगाउनु चाँहि सरकारको मेख मारेको रूपमा बुझ्ने हो भने अवस्था आगामी दिनमा झन् जटिल बन्नसक्नेतर्फ स्वयम् नागरिक नै सचेत र जागरुक बन्नुपर्छ ।’

टिप्पणीहरू