राजीनामाको मसी नसुक्दै मीठो स्वाद

राजीनामाको मसी नसुक्दै मीठो स्वाद

एकैदिन, त्यसमा पनि एकै छिनअघि मुख्यसचिवबाट राजीनामा दिने व्यक्ति राजीनामा स्वीकृतिको खबर नआउँदै बेलायतको लागि राजदूत नियुक्त भएका छन् । एक छिनअघि राजीनामा दिएर खाली भएको मुख्यसचिवमा त्यहि क्याबिनेटले परराष्ट्र सचिवलाई बढुवा गरिदिएको छ ।

त्यहि मेसोमा अढाई वर्षदेखि एकछिन पनि खाली नबसी मन्त्री, सांसद र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार रहेका व्यक्तिलाई पनि अमेरिकाको लागि राजदूतमा नियुक्त गरिएको छ । हिजो बिहान बसेको क्याबिनेटको सबैभन्दा रोचक र महत्वपूर्ण नियुक्ति तथा निर्णय यिनै हुन् ।

नियुक्तिको चर्चामा चुलिएकै बखत मुख्यसचिव र राजदूत नियुक्तिको एकमुष्ट सूची तयार हुँदै थियो । तर,हुलुमुलमा नियुक्त गर्दा लोकदर्शन रेग्मी,शंकरदास बैरागी र युवराज खतिवडा उछिट्टिने सम्भावना देखेपछि प्रधानमन्त्रीले साइत कुरेर बोलाउनु भएको हिजो बिहानको क्याबिनेट बैठकले तीनैजनालाई रोजेको पदमा पुर्याइदिएको छ ।

आफू बिरोधीले चलखेल गर्ने डरमा गरिएको यस्ता काइते प्रक्रिया र निर्णयले प्रशासनिक र राजनीतिक नियुक्तिको सर्वमान्य पद्धतिलाई नै चौपट बनाइदिएको जानकारहरु बताउँछन्  । यसअघिका मुख्यसचिव सोमलाल सुवेदीले एशियाली विकास बैंकमा जान म्याद छँदै मुख्यसचिवबाट राजीनामा दिएका कारण रेग्मीको पालो आएको थियो । नत्र सिष्टमबाट रेग्मी कहिल्यै मुख्यसचिव बन्दैनथे । उता, सोमलाललाई पनि यहि सरकारले फिर्ता बोलाएर जोकर फाल्टु बनाइदियो ।

अहिले पनि सिष्टमबाट रेग्मीले कात्तिकमा अवकाश लिएको भए सचिव चन्द्र घिमिरे मुख्य सचिव बन्ने सम्भावना अधिक थियो भनिन्छ । तर, रेग्मीलाई अवकाश दिन लगाउँदै बेलायतको निम्ति राजदूत र वैरागीलाई मुख्यसचिव बनाएर घिमिरेलाई पनि प्रशासनिक भाषामा मरणासन्न तुल्ल्याइयो । सरकारले गरेका एकपछि अर्को यस्ता निर्णयले अब पद्धतिलाई समातेर कुनैपनि कर्मचारी निजामतीको उपल्लो दर्जा र गतिलो देशमा राजदूत बन्न नपाउने निश्चित बनेको छ ।

एकपछि अर्को यस्ता निर्णयले अब पद्धतिलाई समातेर कुनैपनि कर्मचारी निजामतीको उपल्लो दर्जा र गतिलो देशमा राजदूत बन्न नपाउने निश्चित बनेको छ ।

यसअघिको सरकारले मुख्यसचिव भोजराज घिमिरेलाई पनि म्याद छँदै राजीनामा दिन लगाएर क्यानाडाको राजदूत बनाएको थियो । परराष्ट्र सचिव दुर्गा भट्टराईले समेत राजीनामा दिएर राष्ट्र संघको लागि स्थायी प्रतिनिधि बनेको कारण यता वैरागीले जेनेभाबाट फर्की कामु परराष्ट्र सचिव पाएका हुन् ।

सामान्यतयाः परराष्ट्र सचिव अवकाशपश्चात् राष्ट्रसंघको लागि स्थायी प्रतिनिधिमा जाने गरेको देखिन्छ । तर,बैरागीले ‘बा’ को पहिलेदेखि मुख्यसचिव बन्ने बिश्वास जितेपछि दक्षिण अफ्रिकामा राजदूत रहेका अमृत राईलाई त्यतैबाट सात समुद्रपारी न्यूयोर्क पुर्याइएको परराष्ट्रका कर्मचारी हाकाहाकी बताउँछन् । उनीहरूका अनुसार परराष्ट्रका कर्मचारी प्रायः राजनीतिक खिचातानीमा पर्ने गरेका छन् ।

अलि अगाडि परराष्ट्रका वरिष्ठ सहसचिव भरत पौडेललाई न्यूयोर्क पठाउनुपर्नेमा नपठाई रोकेर राखिएको थियो । तर, दक्षिण अफ्रिकामा राजदूत रहेका अमृत राईलाई छापामार शैलीमा तानेर त्यता पठाइयो । यसरी प्रधानमन्त्री ओलीको सरकारले गुरिल्ला शैलीमा गरेको नियुक्ति,सरुवा र बढुवाले निजामतीको पद्धतिमा नै प्रहार भएको परराष्ट्रका कर्मचारीले गाईंगुईंमा व्यक्त गर्न थालेका हुन् ।

टिप्पणीहरू