करोडौँ करोड कहाँ गयो कमाण्डर ? « Jana Aastha News Online
Logo
१७ मंसिर २०७८, शुक्रबार
|  Fri Dec 3 2021

करोडौँ करोड कहाँ गयो कमाण्डर ?

प्रकाशित मिति :  १५ आश्विन २०७७, बिहीबार १६:००


हामीलाई लाग्छ, सेनाले चलाएको पम्पमा मिसावटमुक्त इन्धन भर्दा राष्ट्रिय ढुकुटीमा योगदान पनि पुर्‍याउन पाइन्छ । तर, यस्तो आमविश्वासमाथि १७ वर्षदेखि कत्रो घात हुँदै आएको रहेछ भने, न त्यो आम्दानी सेनाको, न राज्यकै ढुकुटीमा जान्छ । हामीले तिरेको पैसाले प्रधानसेनापतिसहितका केही सैनिक अधिकारीले मोज गरिरहेका रहेछन् ।

नेपाली सेनाले राजधानी उपत्यकाका भद्रकाली र लगनखेलमा सञ्चालन गरेको पेट्रोल पम्पमा देखिँदा ‘सैनिक कल्याणकारी पेट्रोल पम्प’ भन्ने साइनबोर्ड नै छ । इन्धन भर्ने र पैसा लिने पनि सैनिक कर्मचारी नै हुन् । तर, त्यो पैसा सेना वा राज्यको कुनै पनि कोषमा जाँदैन । न त्यसको आधिकारिक सञ्चालक सेनाको कुनै विभाग, युनिट वा दल नै हो । यसरी भित्रभित्रै ‘मिलाएर’ खाइँदो रहेछ ।

तनहुँको खैरेनीटार र बुटवलमा पनि सैनिक पेट्रोल पम्प छन् । तिनको रकमचाहिँ कल्याणकारी कोषमा जम्मा हुन्छ । तर, १४ वर्ष बित्यो, उपत्यकाका पम्प व्यक्तिको नाममा बनाएर लूट मच्चाइँदै छ । त्यहाँस्थित सैनिक कल्याणकारी कोषको लगानी फिर्ता गरेर २०५९–६० सालपछि कोषमा महिनाको २५–२५ हजार तिर्दै पम्पलाई व्यक्तिको नाममा कायम गरिएको हो । शुरुमा भूपू मेजर गोपाल पोखरेल भद्रकालीका र त्यही दर्जाका भूपू भीमबहादुर कार्की लगनखेल पम्पका सञ्चालक भए । त्यसको आम्दानी के हुन्छ ? कसैलाई थाहा छैन । जानेचाहिँ प्रधानसेनापति कोषमा हो । र, सैनिक कल्याकारी कोषले दुई पम्पबाट २५–२५ हजारका दरले पाउँछ, महिनावारी ५० हजार । तर, ती दुईको मासिक खर्च छ, ६०–७० हजार ।
आजकल भद्रकालीको पम्पमा भूपू जर्नेल निरञ्जनविक्रम राणा र लगनखेलमा भूपू कर्णेल धु्रव थापा बस्छन् ।

पम्प सरकारी जमिनमा भाडा तिर्नुपर्दैन । सेनाको इन्धनतर्फ बजेटबाट ६० प्रतिशत बजेट भद्रकाली र लगनखेलमा जान्छ । सर्वसाधारणसमेतले विश्वासका कारण सकेसम्म त्यहीँ इन्धन भर्न चाहन्छन् । सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय र सरकारी सवारी साधनमा हालिने इन्धन पनि त्यहीँको हो । यसरी भद्रकाली र लगनखेलबाट दिनमा करिव ५० लाखको कारोबार हुन्छ । वर्षको १५–२० करोड नाफा छ । तर, यत्रो रकमको न कुनै अडिट हुन्छ, न सदुपयोग नै ।

पम्पको आम्दानीसहित पहिला–पहिला ‘बाटो काज’ को पैसा पनि प्रधानसेनापति कोषमा जाने चलन थियो । प्रज्ज्वलसमशेर जबराले बाटो काज र पम्पको पैसाले जंगीअड्डाभित्रै आर्मी अफिसर्स क्लब बनाए । त्यहाँको संरचनामा सरकारी वा कल्याणकारीको बजेट छैन । धर्मपालबरसिंह थापाले पुरानो क्लब पनि त्यही पैसाले बनाए । यसो गरेकोचाहिँ पछि कसैले प्रश्न गरेमा देखाउनका लागिमात्रै हो । यी दुई प्रधानसेनापतिले त्यतिसम्म त गरे, तर त्यसपछिकाले माखो मारेनन् । खाए, बाँडे, सिध्याए ।

थाहा छैन, अहिले सेनाभित्रको भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरेका पूर्णचन्द्र थापाले यस्तो ‘पापी धन’ भित्र्याए कि भित्र्याएनन् ! तर, अहिले पनि भद्रकाली र लगनखेलका सैनिक पम्पको रकम कल्याणकारी कोषमा गएको छैन, न राज्यको कुनै निकायमा त्यसको अडिट हुन्छ, न हिसाब नै खोजिन्छ ।


प्रतिक्रिया दिनुहोस !