मुख्यसचिव बनाउनुअघि पैसा तिराए हुने !

मुख्यसचिव बनाउनुअघि पैसा तिराए हुने !

परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउनुअघि विदेशस्थित नियोगमा कार्यरत रहँदा वैदेशिक भत्ताको २५ प्रतिशतमा लाग्ने पारिश्रमिक कर नतिरेको भनी महालेखा परीक्षकको कार्यालयले लगाएको दोष निवारण गरिदिए हुने कतिपयको सुझाव छ ।

महालेखा प्रतिवेदनअनुसार विभिन्न ३७ वटा नियोगमा कार्यरत परराष्ट्रका कर्मचारीको आर्थिक वर्ष २०७३/७४ देखि २०६४/६५ सम्म दश वर्षको अवधिमा रहेको वैदेशिक भत्तामा लाग्ने पारिश्रमिक कर बक्यौता छ ।

बैरागी सचिवमा बढुवा हुनुअघि (सहसचिव हुँदा) संयुक्त राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अष्ट्रेलियास्थित दूतावासमा उपप्रमुख हुनुहुन्थ्यो ।

महालेखा प्रतिवेदनअनुसार, उहाँको नाममा करिब १५ लाख कर बक्यौता छ । महालेखाको प्रतिवेदनमा उहाँले नेतृत्व गरेको नियोग जेनेभाको करिब एक करोड कर बक्यौता रहेको छ भने उपप्रमुख भएर बसेको नेपाली दूतावास अष्ट्रेलियाको ५२ लाख बक्यौता छ ।

खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्नेहरुको बक्यौता देखिए त्यस्ता व्यक्तिलाई लोकसेवा आयोगले अन्तर्वार्तामा अनुत्तीर्ण गर्ने नीति नै बनाएको छ ।

आयकर ऐन– २०५८ को दफा ११९ मा कर तिर्नुपर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य दरले ब्याज लाग्ने उल्लेख छ ।

टिप्पणीहरू