व्यापारीले लुकाउन थाले प्याज

व्यापारीले लुकाउन थाले प्याज

नेपालगञ्जमा व्यापारीले प्याज लुकाउन थालेपछि अभाव देखिन थालेको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएलगत्तै व्यापारीहरूले प्याज लुकाउन थालेको भेटिएको छ । बजारमा प्याजको अभाव भएको र व्यापारीहरूले प्याज लुकाउन थालेको थाहा पाएपछि नेपालगन्जमा संयुक्त अनुगमन टोलिले बुध र बिहिबार अनुमनसमेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, वाणिज्य तथा आपुर्ती कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण मञ्चलगायत निकायका प्रतिनिधिहरूको टोलीले तरकारी बजारको अनुगमन गरेको हो ।
अनुमगनको क्रममा तरकारी पसलहरूमा प्याज नभेटिएको वाणिज्य तथा आपूर्ति कार्यालय बाँकेका सूचना अधिकारी देविलाल चौलागाइले बताए । चौलागाइका अनुसार प्रतिबन्ध लागेपछि मौज्जादको अवस्था, खरिद र बिक्रीबारे निरीक्षण गर्न अनुगमन टोली रानी तलाउ लगायतका होलसेल बजार पुगेको थियो । त्यसक्रममा व्यवसायीहरूले प्याज लुकाएको र मुल्य बढाएको फेला परेको छ ।

अनुगमनको क्रममा धेरै तरकारी पसलहरूमा प्याज नै नभेटिएको, कुनै पसलमा थोरै मात्रामा भेटिएको र केहि पसलहरूमा ४०÷५० बोरासम्म प्याज स्टक राखिएको वाणिज्य तथा आपुर्ती कार्यालयका सूचना अधिकारी देविलाल चौलागाइले बताए ।
अनुगमनको क्रममा प्रतिव्यक्तिलाई १ के.जी. भन्दा बढी बिक्रि गर्न नपाइने र प्रतिकिलो ८० रुपैपा भन्दा बढीमा बिक्रि गर्न नपाइने गरी व्यापारीहरूलाई निर्देशन दिएको उनको भनाइ छ । अहिले रानीतलाउ तरकारी बजारका तरकारी पसलहरूमा प्याज नै छैन ।

मुल्य बढाउने उद्देश्यले व्यापारीहरूले प्याज लुकाएको उपभोक्ताहरूले आरोप लगाएका छन् । धेरै जसो तरकारी पसलहरूमा प्याज नै नभएको र प्याज भएको पसलहरूले १ किलो भन्दा बढी नदिने गरेको एक जना उपभोक्ताले गुनासो गरे ।
बढी मुल्यमा बेच्ने भन्दै व्यापारीहरूले घरमा लगेर प्याज लुकाएको उपभोक्ताहरू बताउँछन् । तरकारी बजारमा पसल अनुसार प्याजको मुल्य पनि फरक फरक छ । कतिपय पसलहरूले ५ किलो आलु खरिद गरेपछि ८० रुपैयाँमा १ किलो प्याज दिने गरेका छन् भने कतिपयले १ सय २० रुपैयाँसम्म प्रति किलो बेचेको भेटिन्छ ।

व्यापारीहरूले १ किलो प्याज खरिद गर्न ५ किलो आलु खरिद गर्नैपर्ने नियम बनाएका छन् । जसले गर्दा उपभोक्ताहरू मारमा परेका छन् । १ हप्ता अघि ६० रुपैया प्रति किलो प्याजको मुल्य रहेकोमा अहिले ८० देखि १ सय २० रुपैया सम्म पुगेको छ । त्यो पनि उपभोक्ताहरूले सहज रुपमा पाइरहेका छैनन् । सयुक्त अनुगमन टोलीले अनुगमन गर्नुपूर्व बीचको १ दिन ७ सयको १ नम्बर प्याज बिक्रि भएको थियो । एक्कासी मूल्य बढेपछि चौतर्फी बिरोध भएको थियो । सबै उपभोक्ताहरूलाई सहज होस् भन्ने उद्देश्यले अनुगमन टोलिले एक जनालाई १ किलो भन्दा बढी प्याज बिक्रि गर्न नपाइने मापदण्ड बनाएको भएपनि व्यापारीहरूले मनोमानी गर्न भने छोडेका छैनन् ।

रानी तलाउ तरकारी बजारको पप्पु तरकारी पसलका प्रोप्राइटर निजामुद्धिन राइले भारतबाट प्याज आउन बन्द भएपछि प्याजको अभाव भएको बताए । बिगत लामो समयदेखि रुपैडिया नाकाबाट प्याज आउन बन्द भएको र सुगौली नाका भएर आउने गरेकामा अहिले त्यो पनि बन्द भएपछि टिलरबाट नै प्याज नपाइने गरेको उनको भनाइ छ ।
डिलरहरूले प्रसस्त मात्रामा प्याज राखेको भएपनि प्याज नै नभएको भन्दै दिन छोडेपछि प्याज बेच्न छोडेको एक जना व्यापारीको भनाइ छ ।

लकडाउनको कारण लामो समयदेखि बिभिन्न समस्याहरू झेल्दै आएका नागरिकहरूले लकडाउन खुलेपनि प्याजको अभाव झेल्नु पर्ने अवस्थाको सिर्जना भएको छ । समस्याको सिर्जना भएपछि मात्रै अनुगमन गर्ने संस्कारको अन्त्य गरी समस्या नै हुन नदिने गरी नियमित अनुमगन गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । विभिन्न बाहानामा उपभोग्य सामग्रीहरूको अभाव सिर्जना गर्ने र मुल्य बृद्धि गरी सर्वसाधारण नागरिकहरूलाई दुख दिने परिपाटीको अन्त्य गर्न सरोकारवालाहरूको समयमै ध्यान जाओस् ।

टिप्पणीहरू