कङ्गोमा सेनावीच कुटपिट काण्डको चुरो कुरो « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

कङ्गोमा सेनावीच कुटपिट काण्डको चुरो कुरो

प्रकाशित मिति :  ११ आश्विन २०७७, आईतवार १६:५०


राष्ट्रसंघीय मिशनअन्तर्गत कङ्गोमा तैनाथ नेपाली सेनाको टोलीमा तीनजना क्याप्टेनले आफू मातहतका सैनिकलाई मरणासन्न हुनेगरी कुटेको घटना बाहिरिएपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले दोषीलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् ।

यसैबीच सेनाले वरिष्ठ मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको बताइएको छ । घटनाको खबर प्राप्त हुनासाथ सेनाले थालेको प्रारम्भिक अनुसन्धानमा सैनिक जवान र हाकिमहरूले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको देखिएको छ ।

हल्ला बढ्दै गएपछि सम्झाउँदा ‘केटाहरूले मर्यादा नाघेको’ सैनिक स्रोतको दाबी छ । रक्सीले मातेका क्याप्टेनहरूले पनि त्यहि सिलसिलामा उनीहरूलाई हल्ला नगर्न भन्दै निर्घात् कुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

तर,दुबै तर्फबाट मर्यादाको पालना भने नभएको अनुसन्धानबाट पत्ता लागेको छ । गल्ति र कमजोरी जसले गरेपनि सोबमोजिमको कारबाही हुने सैनिक स्रोतले दाबी गर्यो । हुनतः शान्ति सेनामा रहेका प्रमुख सेनानीलाई समरी अदालत बस्ने अधिकार दिइएको हुन्छ ।

उसले जवान र अधिकृत दुबैलाई त्यहिँ एक हदसम्मको कारबाही गर्न सक्छ । शान्ति सेनामा एकजना प्राविधिक कानून अधिकृत र चिकित्सक पनि हुने भएकाले आवश्यक छानबीन र शारीरिक परिक्षण त्यहिँबाट गर्न सकिन्छ ।

कुटपिट गरिएका सैनिकमध्ये सख्त घाइते एकजना नायक रहेको बताइएको छ । हानाहानमा अरु धेरैजनाले चाँहि नशाको सुरमा अनुशासन र गति दुबै छाडेका थिए । शान्ति सेनामा जहिले पनि मुलुक फर्किने बेला यस्ता साङ्घातिक आक्रमणका घटना प्रायः हुने गरेको सैनिक अधिकृतहरू बताउँछन् ।

एक वर्षदेखि कङ्गोमा रहेको अहिलेको टोली पनि फर्किने बेला भएको छ । सेड्युलअनुसार दशैंअघि उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको छ । शान्ति सेनामा जानुअघि छ महिनाको बन्द तालिम र एक वर्षदेखि विदेशमा रहदा जवान र अधिकृतहरूमा चिडचिडाहटपन आउने भएकाले पनि यस्तो घटना हुने उनीहरूको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस !