रातारात भेटिएको ११ नं. पिलरको रहश्य

रातारात भेटिएको ११ नं. पिलरको रहश्य

नेपाल-चीन सीमाको हुम्लास्थित नाम्खा गाउँपालिका–६, लाप्चा (लोलुङजोङ) क्षेत्रमा चीनले सीमा मिचेको, ११ नं. पिल्लर हराएको र भेटिएको समाचारले अघिल्लो चौबिस घण्टा तरङ्ग उत्पन्न भए पनि चीनले त्यहाँ पाँच वर्षअघि नै भवन बनाउन थालेको बुझिएको छ ।

त्यतिबेला नै चीनले बनाउन लागेको भवन उसकै सीमाभित्र रहेको बताइएको थियो । उक्त भवनसम्बन्धी समाचार बाहिर आएपछि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नापी विभागका प्रतिनिधिसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रतिनिधि त्यतिबेलै फिल्ड भिजिटमा गएका थिए ।

टोलीले स्थलगत अवलोकन,सीमा निरीक्षण र नक्साको आधारमा त्यतिबेलै चीनले बनाउन लागेको भवन सीमाबाट झण्डै एक किलोमिटर उतैतर्फ रहेको निश्कर्ष निकालेर केन्द्रमा जानकारी गराएको थियो । तर, अहिले त्यही स्थानमा धेरैवटा भवन बनेपछि फरक ढङ्गले समाचार बाहिर ल्याइएको परराष्ट्र र गृह मन्त्रालय स्रोतले बताएको छ । उक्त स्थान ५ हजार दुई सय मिटरको उचाई अर्थात् सगरमाथाको बेस क्याम्प बराबरमा छ । जहाँ बाह्रैमास हिँउ र अत्यधिक चिसो हुन्छ ।

कूटनीतिसँग जोडिएको संवेदनशील विषयमा सञ्चार माध्यमले ब्रेकिङ्ग न्यूजको शैलीमा ११ नं. को पिल्लर हराएको वा लुकाइएको भनिएको भोलिपल्टै हिजो उक्त पिल्लर भेटिएको खबर आएको छ । ११ नं. पिल्लर २०१९ सालमा दुई देशको सीमा वार्ता तथा समाधान टोलीले जहाँ, जसरी गाडेको थियो त्यहि अवस्थामा नै पाइएको परराष्ट्र श्रोताले बतायो । तरपनि यसवीच हाम्रा मूलधारका केहि सञ्चारमाध्यमले विना पुस्ट्याई हराएको र भेटिएको समाचार सम्प्रेषण गरिरहे ।

टिप्पणीहरू