प्याजको अभाव बढ्दै

प्याजको अभाव बढ्दै

तरकारी पसलेहरूले प्याज लुकाउन थालेपछि बजारमा प्याज अभाव हुन थालेको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएलगत्तै व्यापारीले प्याज लुकाउन थालेको भेटिएको छ । बजारमा प्याज अभाव भएको र व्यापारीले लुकाउन थालेको थाहा पाएपछि नेपालगञ्जमा संयुक्त अनुगमन टोलीले बुधबार र बिहीबार अनुगमनसमेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य तथा आपूर्ति कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हक हित संरक्षण मञ्चलगायत निकायका प्रतिनिधिको टोलीले तरकारी बजार अनुगमन गरेको हो । अनुगमन क्रममा तरकारी पसलमा प्याज नभेटिएको वाणिज्य तथा आपूर्ति कार्यालय बाँकेका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए । चौलागाईंका अनुसार प्रतिबन्ध लागेपछि मौज्दादको अवस्था, खरिद र बिक्रीबारे निरीक्षण गर्न अनुगमन टोली रानी तलाउलगायत होलसेल बजार पुग्दा व्यवसायीले प्याज लुकाएको र मूल्य बढाएको फेला परेको हो ।

अधिकांश तरकारी पसलमा प्याज नै नभेटिएको, कुनैमा थोरै भेटिएको र केहीमा ४०÷५० बोरासम्म स्टक राखेको पाइएको वाणिज्य तथा आपूर्ति कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए । प्रतिव्यक्ति १ केजी, प्रतिकिलो ८० रूपैयाँभन्दा बढीमा बिक्री नगर्न व्यापारीलाई निर्देशन दिएको उनको भनाइ छ ।

मूल्य बढाउने उद्देश्यले व्यापारीले प्याज लुकाएको उपभोक्ताले आरोप लगाएका

छन् । धेरैजसो तरकारी पसलमा प्याज नै नभएको र भएकाहरूले पनि १ किलोभन्दा बढी नदिने गरेको उपभोक्ताले गुनासो गरे । बढी मूल्यमा बेच्ने भन्दै व्यापारीले घरमा लगेर प्याज लुकाएको उपभोक्ता बताउँछन् । तरकारी बजारमा पसलअनुसार प्याजको मूल्य फरक छ । कतिपय पसलले ५ किलो आलु खरिद गरेपछि ८० रूपैयाँमा १ किलो प्याज दिने गरेका छन् भने कतिपयले १ सय २० रूपैयाँसम्म प्रतिकिलो बेचेको भेटिन्छ ।

संयुक्त अनुगमन टोलीले अनुगमन गर्नुपुर्व बीचको १ दिन ७ सयको १ नम्बर प्याज बिक्री भएको थियो । एक्कासि मूल्य बढेपछि चौतर्फी विरोध भएको थियो । सबै उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले अनुगमन टोलीले एक जनालाई १ किलोभन्दा बढी प्याज बिक्री गर्न नपाइने मापदण्ड बनाए पनि व्यापारीले मनोमानी गर्न भने छाडेका छैनन् ।

रानीतलाउ तरकारी बजारको पप्पु तरकारी पसलका प्रोप्राइटर निजामुद्दिन राईले भारतबाट प्याज आउन बन्द भएपछि प्याज अभाव भएको बताए । लामो समयदेखि रूपैडिया नाकाबाट प्याज आउन बन्द भएको र सुगौली नाका भएर आउने गरेकामा अहिले त्यो पनि बन्द भएपछि डिलरबाटै प्याज नपाइने गरेको उनको भनाइ छ । डिलरहरूले प्रसस्त मात्रामा प्याज राखे पनि प्याज नै नभएको भन्दै दिन छाडेपछि प्याज बेच्न छाडेको एक व्यापारीको भनाइ छ ।

लकडाउनको कारण लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका नागरिकले लकडाउन खुले पनि प्याजको अभाव झेल्नुपर्ने अवस्था सिर्जना भएको छ । समस्या सिर्जना भएपछि मात्रै अनुगमन गर्ने संस्कार अन्त्य गरी समस्या नै हुन नदिने गरी नियमित अनुगमन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । विभिन्न बाहानामा उपभोग्य सामग्री अभाव सिर्जना गर्ने र मूल्यवृद्धि गरी सर्वसाधारण नागरिकलाई दुःख दिने परिपाटी अन्त्य गर्न सरोकारवालाको समयमै ध्यान जाओस् ।

नमस्कार शाह

टिप्पणीहरू