नोटमा सही धस्काउनेहरू नै एल्बम र मिस नेपालमा

नोटमा सही धस्काउनेहरू नै एल्बम  र मिस नेपालमा

बाहिर जतिसुकै व्यस्तताको देखाए पनि पछिल्लो बन्दाबन्दी र निषेधाज्ञाले केन्द्रीय बैंकका ठूलाबडाहरूलाई कामविहीन बनाइदिएको छ । मौद्रिक नीति, एकीकृत निर्देशन र अन्य महत्वपूर्ण विषयमा सामुहिक छलफलको लागि बैंकरले समय मागेमा ‘अति व्यस्त’ हुनुहुन्छ भनेर जवाफ फर्काइन्छ । अति आवश्यक भएमा ‘भर्चुअल मिटिङ्ग’ को अप्सन देखाउने गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुखमा मास्क र हातमा सेनिटाइजर दलेरै भए पनि गीति एल्बमको विमोचन गरेका छन् ।

कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले अत्यावश्यक बाहेकका काममा निवास वा कार्यालय बाहिर ननिस्कन बारम्बार अनुरोध गर्दै आएको छ । स्वयम् अधिकारी पनि कोरोना सङ्क्रमित कर्मचारीसँग ‘फेस टु फेस’ भेट गरेको आशङ्कामा भदौ पहिलो साता केही दिन होम क्वारिन्टिनमा बसेका थिए ।

तर, कोरोना सङ्क्रमण हुन नदिन सरकारले अत्यावश्यक बाहेक अन्य काममा बाहिर नजान गरेको अनुरोध उल्लङ्घन हुनेगरी गभर्नरले आइतबार सिंहदरबारमा एल्बम विमोचन गरिदिए । विमोचन कार्यक्रम सङ्क्रमण रोक्न सरकारले गरेको अनुरोध अनुरूप थियो वा बिरुद्ध ? व्यावसायिक हिसाबले पनि एल्बम विमोचन कार्य केन्द्रीय बैंकका गभर्नरको कार्य क्षेत्रमा पर्दैन । त्यसैगरी अहिलेको अवस्थामा गीति एल्बम विमोचन गर्न हुरदुराउँदै बालुवाटारबाट सिंहदरबार पुग्नु कत्तिको जरुरी वा अत्यावश्यक थियो ?

 तर, ‘आवश्यक नै थियो भने ‘भर्चुअल अप्सन’ लाई बिर्सन हुँदैन थियो’ बैंकका एकजना कार्यकारी निर्देशक बताउँछन् । आफ्नै कार्यालय छेवैको जनसम्पर्क महाशाखामा कार्यरत कर्मचारीको गीति एल्बम विमोचन गर्न अधिकारी आइतबार दिउँसो सिंहदरबार पुगेका हुन् । कोरोना र लकडाउनले थिलथिलो पारेको अर्थतन्त्र, व्यवसाय र बैकिङ्ग क्रियाकलापलाई उकास्न घोत्लिनुपर्ने समयमा अधिकारी भने आफ्नो पदीय जिम्मेवारीसँग कुनै मेल नखाने विषयमा सरिक हुनुलाई सबैले अचम्म मानेका छन् ।

एल्बम विमोचन कार्यक्रम सङ्क्रमण रोक्न सरकारले गरेको अनुरोध अनुरूप थियो वा बिरुद्ध ? अहिलेको अवस्थामा गीति एल्बम विमोचन गर्न हुरदुराउँदै बालुवाटारबाट सिंहदरबार पुग्नु कत्तिको जरुरी वा अत्यावश्यक थियो ?

यसअघिका गभर्नर चिरञ्जीवी नेपाल पनि कार्यव्यस्तता र पदीय मर्यादालाई बिर्सेर मिस नेपाल प्रतियोगितामा निर्णायक बनेपछि विवादमा तानिएका थिए । अर्थशास्त्र र मौद्रिक विषयमा साँच्चिकै निधार खुम्चाएर घोप्टिनेहरूको लागि सुन्दरी प्रतियोगिता र विशुद्ध मनोरञ्जनका कार्यक्रम विश्वमा नै प्राथमिकतामा पर्दैनन् । तर, नेपाल राष्ट्र बैंकका पछिल्ला गभर्नरहरूले समयको माग भन्दै उक्त पदचापको अनुसरण गर्न खोजेको बताइन्छ । सिंहदरबारमा एल्बम विमोचन गराउने भागवत आचार्य हालै विदेशी विनिमय व्यवस्थापन विभागबाट सरुवा भएर जनसम्पर्क महाशाखामा पुगेका छन्  । महाशाखामा हाजिर भएकै दिन उनले सामाजिक सञ्जालमा आफू उक्त महाशाखाको प्रमुख भएको स्टाटस् नै हालिदिए । जबकि त्यहाँको हाकिम उनीभन्दा एक तह माथिका नारायणप्रसाद पोखरेल हुन् जो केही दिनपछि सरुवा भएर आउँदै थिए ।

आचार्यले आफूसँग हुँदै नभएको हैसियतलाई बढाइ चढाइ गरेर सामाजिक सञ्जाल रङ्गाएको कारण गभर्नरको निर्देशनमा बैंकले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही गर्ने चेतावनीसहितको सर्कुलर दुई महिनाअघि गरेको थियो । अहिले कारबाही गर्नुपर्ने भनिएका तिनै आचार्यको एल्बम विमोचन गर्न गभर्नर अधिकारी नै मुखमा मास्क लगाएर सिंहदरबार पुगिदिएका हुन् । अधिकांश बैंकरले अधिकारीलाई तुलनात्मक रूपमा ‘व्यावसायिक छवि’ राख्न मरिहत्ते गर्ने गभर्नर भन्ने गरेका छन् । तर,गीति एल्बमको विमोचन केन्द्रीय बैंकको गभर्नरको व्यावसायिकताभित्र पर्छ कि गीतकार तथा सङ्गीतकारको व्यावसायिकताभित्र ?  त्यो चाँहि कसैले खुट्याउन सकेका छैनन् ।

केन्द्रीय बैंकको जागीर,नेपाली व्याकरणमा पीएचडी, कथा/कविता विधामा रुची राखेर फरक धारको मौद्रिक नीति र अर्थशास्त्रमा कलम चलाउन खोज्ने आचार्य र गभर्नर दुबैको जिल्ला खोटाङ्ग हो । जिल्लावासीको मन राखिदिनैको लागि गभर्नर अधिकारीले उनको  एल्बमको विमोचन गराइदिएको हुनसक्ने स्रोतको दाबी छ ।

टिप्पणीहरू