हिजो पनि मन्त्रीकै कुरा

हिजो पनि मन्त्रीकै कुरा

एकातिर नेकपा सचिवालयको बैठक बसिरहेको छ । आज मंगलबार पनि सचिवालय बैठक बोलाईएको छ । आइतबारको बैठकमा मन्त्रीमण्डल पुनर्गठनबारे विस्तृत छलफल गरिएको थियो । दुईजना अध्यक्षबीच हुने प्रारम्भिक सहमतिपछि मन्त्रीमण्डल पुनर्गठनको विषय सचिवालय बैठकले टुङ्गयाउने छ ।

त्यहि क्रममा हिजो सोमबार पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रीमण्डल पुनर्गठन र केही संवैधानिक तथा राजनीतिक नियुक्तिको बारेमा पुनः छलफल भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले ‘मन्त्रीमण्डल पुनर्गठन सहमतिमा गर्छु’ भन्नुभएको छ । उहाँले हिजोको भेटमा ‘ठ्याक्कै यसै गर्ने हो’ भनेर छिनालेर कुरो नगर्नु भएको पनि स्रोतको दाबी छ । मन्त्रीमण्डल पुनर्गठनको तीनवटा विकल्पमध्ये प्रधानमन्त्री ओलीले हाल रिक्त तीन वटा मन्त्रालयमा नयाँ व्यक्तिलाई मन्त्री बनाएर अघि बढ्ने योजना समेत बनाउनु भएको छ ।

तर, अर्का अध्यक्ष अढाई वर्षदेखि मन्त्री भएका सबैलाई हटाएर नयाँ ढंगले मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने अडानमा देखिनुभएको छ । त्यसैले पनि होला हिजोको भेटमा समेत प्रधानमन्त्रीले कसलाई हटाउने र कसलाई राख्ने सम्बन्धमा मुख खोल्नुभएको छैन ।

यसैबीच राष्ट्रिय सभाको रिक्त सांसद पदमा मनोनित वामदेव गौतम संविधानबमोजिम सांसद र मन्त्री दुबैको निम्ति अयोग्य भन्दै सर्वोच्च अदालतमा दुईवटा निवेदन परेको छ । गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्ने तयारी हुँदैगर्दा उनी बिरुद्ध अदालत जाने तयारी भित्रभित्रै भइरहेको समाचार जनआस्था अनलाइनले केही साताअघि नै प्रकाशित गरेको थियो ।

टिप्पणीहरू