रत्नराजको नियुक्तिले राष्ट्र बैंकमा गाईजात्रा

रत्नराजको नियुक्तिले राष्ट्र बैंकमा गाईजात्रा

राष्ट्र बैंकको विद्यमान नीति र निर्देशनविपरित ‘वानप्रस्थ’ उमेरमा पनि ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेका रत्नराज बज्राचार्यको नियुक्तिको विषय नियमनकारी निकायमा सर्वाधिक चासोसँगै भुसको आगो बनेको छ ।

गभर्नर महाप्रसाद अधिकारीको ‘ग्रीन सिग्नल’ मा बज्राचार्यलाई गुपचुप ग्लोबल आइएमईको सीईओमा लगेको रहस्य चुहिएपछि त्यस्तो अवस्था आएको हो । अहिले नियमनकारी निकायको बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरीवेक्षण विभागका कर्मचारीहरू पक्ष र विपक्षमा देखिनेगरी विभाजित भएको बताइएको छ ।

बैंकमा एकथरी कर्मचारी राष्ट्र बैंकको नीति,निर्देशनको अक्षरशः पालना हुनुपर्ने अडानमा छन् । उनीहरू गभर्नरलगायत कसैलाई पनि ‘हिडन सहमति वा आदेश’ दिने अधिकार नरहेको बताउँछन् । तर, ‘त्यहि विभागका केही कर्मचारीले भने गभर्नर र ग्लोबल बैंकको हर्ताकर्ताका मुख ताकेर आवश्यकताअनुसार मुण्टो हल्लाउने’ गरेको स्रोतको दाबी छ ।

गभर्नरले राजनीतिक दबाब वा चाहनामा दिएको ग्रीन सिग्नलबमोजिम ग्लोबलले राष्ट्र बैंकलाई सीईओ नियुक्तिको बोधार्थ दिएको चर्चा छ । ग्लोबल आइएमई बैंकले नियमनकारी निकायको बैंक सुपरीवेक्षण विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागलाई भदौ पहिलो साता लेखेको पत्रमा ‘पोष्ट मर्जर व्यवस्थापनको निम्ति रत्नराजलाई सीईओ बनाइएको’ व्यहोरा उल्लेख छ ।

अहिले त्यहि पत्रको व्यहोराले बैंकको मौद्रिक नीति र एकीकृत निर्देशनको अक्षरशः पालनाको अडान रद्दीको टोकरीमा फालिदिएको महसुस केही कार्यकारी निर्देशक तथा निर्देशकले गरेका छन् । एकजना निर्देशक भन्छन् ‘बैंकको शीर निहुराउने गरी एउटा वाणिज्य बैंक,उसका अध्यक्ष र सीईओको दबाबलाई शीरोधार्य गर्ने आफ्ना हाकिमहरू देखेर लाज मान्नुको विकल्प भएन ।’

उच्च स्रोतका अनुसार बज्राचार्यको नियुक्तिले फुस्काइ दिएको गभर्नर, बज्राचार्य र ग्लोबल बैंकको धोती अनेक बहानामा समाउने र जोगाउने कोशिस हुन थालेको छ । ‘ब्याक डेट’ मा कुनै एउटा वाणिज्य बैंकसँग ‘मर्जर एमओयु’ गराएर छोपछापको प्रयास गर्ने सम्भावना बढेको बताउन थालिएको छ ।

‘ब्याक डेट’ मा कुनैपनि वाणिज्य बैंकहरूबीच ‘मर्जर एमओयु’ गराउनुु भनेको केन्द्रीय बैंकको सामुन्ने मञ्चन गरिने ताण्डव नृत्यको पराकास्ठा हो  । विद्यमान नीति र निर्देशनअनुसार ग्लोबल बैंकले यो वर्षपनि अर्को वाणिज्य बैंकलाई मर्ज गर्न खोजेको हो भने पहिले आवश्यक प्रक्रिया पूरा गरिनुपर्छ । त्यसपछि मात्र सीईओको कुरो अघि बढ्ने एकजना पूर्व गभर्नर बताउँछन् ।

तर, स्पष्ट व्यवस्थाको विपरित हुनेगरी ‘मर्जर एमओयु’ नगराई त्यसअघि नै बज्राचार्यलाई सीईओ नियुक्त गर्नु ग्लोबल बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको दम्भ र अहंकार हो । नियमविपरित उनलाई सीईओ नियुक्त गर्न दिनु राष्ट्र बैंक नेतृत्वको लाचारीको पराकाष्ठा हो ।

गभर्नर अधिकारीले बज्राचार्यलाई गुरु मान्दै आएकाले पनि उनी र ग्लोबल बैंकलाई कारबाही गर्नबाट राष्ट्र बैंक नेतृत्व पछाडि हट्नु स्वाभाविक रहेको स्रोतको दाबी छ । राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीति र एकीकृत निर्देशनमा ६५ वर्ष उमेर नाघेका व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीईओ बन्न नपाउने व्यवस्था स्पष्टसँग लेखिएको छ ।

– द्रव्य शाह

टिप्पणीहरू