क्याबिनेट हेरफेरबारे नेकपामा छलफल प्रारम्भ « Jana Aastha News Online
Logo
१६ मंसिर २०७८, बिहीबार
|  Thu Dec 2 2021

क्याबिनेट हेरफेरबारे नेकपामा छलफल प्रारम्भ

प्रकाशित मिति :  ४ आश्विन २०७७, आईतवार १८:२०


आज दिउँसो कोटेश्वर पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठनबारे नीतिगत छलफल भएको छ । बैठकमा हालै राष्ट्रियसभा सदस्य बनेका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नराम्रोसँग पड्किनुभयो ।

गौतमले प्रधानमन्त्रीलाई ‘मलाई तपाईंले धेरैपटक अपमानित गर्नुभयो । पटक पटक अपमानित गर्नुभयो’ भन्नुभएको थियो । तर प्रधानमन्त्री तथा अध्यक्ष ओलीले हाँसि हाँसि ‘त्यसो होइन, मैले तपाईंलाई त्यसो गर्न खोजेको होइन’ भनेर टार्नुभएको बताइन्छ ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रस्तुति मन्त्रीमण्डलमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठको प्रवेशबारे कानूनी स्पष्टता खोज्ने खालको रहेको बताइन्छ । गौतम र श्रेष्ठ मन्त्रीमण्डलमा सहभागी हुनेबित्तिक्कै दुबैको हैसियत एक स्टेप पछाडि धकेलिनेमा उहाँहरू सचेत रहेकाले त्यसो गरिएको अनुमान लगाइएको छ ।

तरपनि बादलले संविधानमा भएको व्यवस्थाले गौतमलाई राष्ट्रिय सभाको सदस्य मनोनित गर्न र आवश्यकताअनुसार मन्त्री बन्न नरोक्ने उल्लेख गर्नुभयो । गौतम र श्रेष्ठ मन्त्री बन्ने वा नबन्ने भन्ने कुरोचाँहि सचिवालयको निर्णयमा भर पर्ने उहाँको कथन थियो ।

नीतिगत रूपमा कसैलाई पनि मन्त्री बनाउने वा नबनाउने अधिकार प्रधानमन्त्रीसङ्ग हुने उहाँको भनाइ थियो ।

पोखरेलले पनि सचिवालयले नीतिगत निर्णय गरेको अवस्थामा समेत मन्त्री राख्ने वा फाल्ने जिम्मा भने प्रधानमन्त्रीलाई दिइनुपर्ने बताउनुभयो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूरै समय बस्नुभयो । भोलि सोही स्थानमा बस्नेगरी आजलाई बैठक स्थगित भएको छ । नयाँ ठाउँमा पार्टी बैठक सञ्चालन गरिएको सम्बन्धमा उहाँले बैठकको बीच बीचमा आफूलाई सुखद् अनुभूति भएको समेत बताउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !