मन्त्री राख्ने र हटाउने कुरा

मन्त्री राख्ने र हटाउने कुरा

नेकपाको आज सम्पन्न सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषय प्रवेशमात्रै पाएन, पूरै बैठक त्यही विषयको छलफलमा केन्द्रित भएको छ ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको कुरा निस्किनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय मान्ने र त्यसका निम्ति निश्चित म्याण्डेड तय गरिए हुन्थ्यो भन्ने अपेक्षा राख्नुभयो ।

उहाँले पुनर्गठनका लागि तीन विकल्प पेश गरेपछि अरु नेताहरुले आ–आफ्नो धारणा राखेका छन् ।

प्रधानमन्त्रीले सबैलाई हटाएर सबै नयाँ ल्याउने, पहिलो चरणका मात्रै हटाउने र कार्यक्षमताका आधारमा केही राख्ने, केही हटाउने विकल्प पेश गर्नुभयो ।

त्यसपछि एकजना वरिष्ठ नेताले यस्तो सुझाव दिनुभयो, ‘को मन्त्री राख्ने र को नराख्ने कुराले मात्रै हैन, दुई अध्यक्षले टुंग्याउने भन्यो भने पनि त्यहाँ विकृति आइहाल्छ । त्यसैले यही बैठकमा नामै तोकेर पहिला यी–यी मन्त्रीलाई राखौँ भन्नेमा पुगौँ, त्यसपछि बाँकी स्वतः हट्ने भए । अनि, नयाँ को–को पठाउने भन्ने कुरा पनि यस्तै बैठकबाट टुंगो लगाऔँ । दुई अध्यक्ष वा प्रधानमन्त्रीलाई अधिकार दिने भन्ने कुरा हुँदैन ।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘बसेरै टुंग्याउने हो । सरकार पुनर्गठन गरेर फेरि भोलि–पर्सिदेखि साथीहरुको गनगन सुन्न मलाई पनि रहर छैन ।’

अर्का एक नेताले ‘मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भने गरिहाल्नुपर्यो, हुँदैन भने अहिले हुँदैन भने जाऔँ’ भनेपछि नेताहरु एकछिन मुसुमुसु हाँसे । ती नेताले यसो भन्नुको कारण हो, पुनर्गठनको हल्लापछि मन्त्री बन्नेहरुको ताँतीले गर्दा राति समयमा सुत्न र विहानका नित्यकर्ममा लाग्नसमेत बाधा पुगेको बताए ।

महाधिवेशन, सांगठानिक एकताका बाँकी काम, एकताका समस्या फुकाउनका लागि गठन गर्नुपर्ने कार्यदल, सदस्यता, लेवी संकलनका विषय पनि सचिवालय बैठकका एजेण्डा थिए । तर, आइतबार सरकारबारे चलेको छलफलपछि नेताहरु उठेका छन् ।

अब एक चरण दुई अध्यक्षबीच को मन्त्री राख्ने र को हटाउने विषयसहित नयाँ मन्त्रीबारे छलफल चल्ने भएको छ । र, त्यसपछिको सचिवालय बैठकले दुई अध्यक्षको सहमतिमाथि आवश्यक सुझाव र संशोधन गर्दै मन्त्रिपरिषद् पुनर्गठन हुने नेकपास्रोतले जनाएको छ ।
यो कामपछि मात्रै पार्टी अन्य सांगठानिक विषयमा प्रवेश गर्ने कुरा चलेको बताइन्छ ।

टिप्पणीहरू