बङ्गलादेश बैंक आफ्नै दुनियाँमा

बङ्गलादेश बैंक आफ्नै दुनियाँमा

केन्द्रीय बैंकको नीति र निर्देशनलाई एकातिर छाडेर आफ्नै दुनियाँमा रमाउने बैंक तथा वित्तीय संस्थाहरूको अग्रपंक्तिमा नेपाल बङ्गलादेश बैंक (एनबी) लिमिटेड देखिएको छ । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष र राष्ट्र बैंकको पूर्व निर्देशकसमेत रहिसकेका सीईओ ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको कारण एनबीले उक्त हर्कत् देखाएको हो ।

एनबीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को व्यवस्था विपरित सञ्चालक समिति गठन र सञ्चालन गर्दै आएको छ । लामो समयदेखि बैंकमा आईएफआईसी बैंक लिमिटेड,बङ्गलादेशको तर्फबाट तीनजना सञ्चालक मनोनयन हुने गरेको छ ।

अहिले आईएफआईसी बैंकको तर्फबाट एआरएम नाजमुस सकिब अध्यक्ष छन् भने मोहमद साह आलम सरवार र श्रीमती कमरुन नहर अहमद सदस्य छिन् । तर,बैंकमा आईएफआईसी बैंकको कूल ४०.९१ प्रतिशत मात्र संस्थापक सेयर लगानी छ ।

त्यसैगरी स्थानीय संस्थापक लगानीकर्ताको १०.७३ प्रतिशत र सर्वसाधारणको ४८.३६ प्रतिशत सेयर लगानी छ । यो हिसाबले कूल नेपाली लगानीकर्ताको सेयर हिस्सा ५९.०९ प्रतिशत रहेको देखिन्छ । तर,सञ्चालक समितिमा ४०.९१ प्रतिशत लगानी भएको आईएफआईसीको तोकिएको संख्याभन्दा बढी अनुपातमा प्रतिनिधित्व गराइएको बारे केन्द्रीय बैंकले समेत मौनता साँध्दै आएको छ ।

संस्थापक लगानीकर्ताको झण्डै ११ प्रतिशत लगानी हुँदा रणनीतिक हिसाबले एकजना पनि प्रतिनिधित्व गराइएको छैन ।

अहिले सञ्चालक समितिमा सर्वसाधारणको तर्फबाट तीन जना र वैदेशिक लगानीकर्ताको तर्फबाट तीनजना गरी छ जना सञ्चालक छन् । तर, स्थानीय संस्थापक लगानीकर्ताको झण्डै ११ प्रतिशत लगानी हुँदा रणनीतिक हिसाबले एकजना पनि प्रतिनिधित्व गराइएको छैन ।

संस्थापक र सर्वसाधारणको दुई वटा समूह बनाई स्वदेशी संस्थापक लगानीकर्तालाई समेत बङ्गलादेशको आईएफआईसी बैंकको संस्थापक र संस्थागत समूहमा समावेश गरिएको खेललाई स्वस्थ प्रतिनिधित्व मान्न नसकिने बताइन्छ । त्यसैगरी नेपाली संस्थापक लगानीकर्तालाई बैंकको सञ्चालक बन्नबाट वञ्चित गराइनु नै गम्भीर खेल भएको समेत स्रोतको दाबी छ ।

एनबी बैंकले दुई वर्षदेखि विज्ञ सञ्चालक पनि नियुक्त गरेको छैन । विज्ञ सञ्चालकलाई आफ्नो काबुमा राख्न नसकिने भएकाले मूलतः सीईओको अरुचीमा विज्ञ सञ्चालकको विषयले प्राथमिकता नपाएको बताइएको छ ।

बैंकले प्रकाशित गरेको पछिल्लो वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतको वार्षिक तलब १ करोड ४१ लाख रूपैयाँ उल्लेख छ । तर, निजले पाउने वार्षिक तथा बिरामी बिदा,बोनस,उपदान,सञ्चयकोष तथा औषधी उपचारको शीर्षक उल्लेख भएपनि बुझेको रकम वार्षिक प्रतिवेदनमा खुलाइएको छैन ।

प्रमुख कार्यकारी अधिकृतको वार्षिक तलब १ करोड ४१ लाख रूपैयाँ उल्लेख छ । तर, निजले पाउने वार्षिक तथा बिरामी बिदा, बोनस, उपदान, सञ्चयकोष तथा औषधी उपचारको शीर्षक उल्लेख भएपनि बुझेको रकम खुलाइएको छैन ।

राष्ट्र बैंकको मार्गनिर्देशनमा सीईओको कूल तलब,भत्ता र सुविधामा हुने खर्च रकम र बैंकका बाँकी कर्मचारीलाई गरिएको कूल खर्चको अनुपातमा सीमा तोकिएको छ । त्यसैले बैंकले प्रकाशित गर्नैपर्ने विवरणहरूमध्ये सीईओको सम्पूर्ण तलब,भत्ता र सुविधाको खर्च रकम पनि हो ।

तर, ती विवरण वार्षिक प्रतिवेदनमा उल्लेख नगर्नुको उद्देश्य उक्त सीमालाई तोकिएको परिधिभित्रै रहेको देखाउने सीईओको भित्री मक्सद् हुनसक्ने चार्टर्ड एकाउण्टेण्टहरू बताउँछन् । सीईओ ढुङ्गाना पनि चार्टर्ड एकाउण्टेण्ट हुन् । चार्टर्ड एकाउण्टेण्टहरूलाई आवश्यकताअनुसार वित्तीय विवरण लुकाउन र देखाउन कानुनले दिएको लाइसेन्सको समेत दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।

टिप्पणीहरू