प्रहरी माग्दैछ सय रुपैयाँ !!

प्रहरी माग्दैछ सय रुपैयाँ !!

मानौँ, तपाईं आफ्नो सुरमा बाटो हिँड्दै हुनुहुन्छ, यत्तिकैमा प्रहरीले तपाईंलाई रोक्यो र सय रुपैयाँ माग्यो ।

अचम्म नमान्नुस्, तपाईं कुनै पनि बेला यसरी सय रुपैयाँ मागिनेमा पर्न सक्नुहुन्छ ।

यसको कारण हो, माक्स ।

कोभिड– १९ को संक्रमण बढिरहेकै बेला विभिन्न व्यवसाय, सवारी तथा कार्यालय सुचारु भएपछि सरकारले जारी गरेको सुरक्षा मापदण्डलाई कार्यान्वयन गराउनका लागि अहिले ड्युटीवाल प्रहरीको हात–हातमा नगदी रसिदको ठेली थमाइएको छ । तपाईं यदि बिनामाक्स सडकमा यात्रा गर्दै हुनुहुन्छ भने प्रहरीले रोक्छ र शुरुमै सय रुपैयाँ माग्छ ।

तपाईंले प्रहरीलाई सय रुपैयाँ तिरेपछि बल्ल जिल्ला प्रशासन कार्यालयले जारी गरेको नगदी रसिद पाउनुहुन्छ ।
तर, यो कारवाही र जरिवानाको विषय उति धेरै प्रचारमा आएको छैन ।

काठमाडौंमा प्रहरी युनिटमध्ये सिंहदरबार र दरबारमार्ग बृत्तले अहिलेसम्म यस्तो कारवाहीबाट लाखौँ रुपैयाँ राजस्व दाखिला गरिसकेको छ । तर, अरु युनिटहरु यसमा त्यति सक्रिय हुन पाएका छैनन् ।

दशैं किनमेलको क्रम शुरु भइसकेको छ । मानिसहरुको हिँड्डुलको क्रम पनि बाक्लिएको छ । र, यसक्रममा मानिसहरु बिनामाक्स हिँड्दा एकबाट अर्को व्यक्तिमा संक्रमण फैलिने कारण अब सय रुपैयाँको सजायँलाई व्यापक पार्न लागिएको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

प्रहरीमै उच्च संक्रमण
अर्कातिर, कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापनमा स्वास्थ्यकर्मीपछि फ्रन्टलाइनमा सबभन्दा बढी खटिएका सुरक्षाकर्मी संक्रमणको उच्च शिकार भएका छन् ।

अहिलेसम्म नेपाल प्रहरीमा तीन हजार ३०, सशस्त्रमा नौ सय ३२ र नेपाली सेनामा १४ सयभन्दा बढी यो संक्रमणको शिकार भएका छन् ।
फौजी परम्पराअनुसार एउटै व्यारेक, मेस र शौचालयको प्रयोगका कारण संक्रमणले यस्तो कहालिलाग्दो रुप लिएको हो ।

त्यसमा पनि लाकडाउन वा निषेधाज्ञा कार्यान्वयनका लागि विभिन्न पेशा, व्यवसायका जनसाधारणबीच सशरीर पुग्नुपर्ने कारण जनपदतर्फका प्रहरी बढी संक्रमित छन् । जनपदमा पनि ट्राफिक प्रहरी सबभन्दा बढी संक्रमित छन् । त्यसपछि सर्च, कर्डन र मोबाइल ड्युटीमा खटिएका प्रहरी बढी छन् ।

पेरिमिटर फोर्स, अर्थात् अर्धसैन्य संरचनाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले सीमा र औद्योगिक सुरक्षामा पनि संलग्न छ । यसर्थ, त्यसका थुप्रै दर्जाका कर्मचारी संक्रमणको शिकार भए ।

नेपाली सेनाले होल्डिङ सेन्टर, शव व्यस्थापन र स्वास्थ्य सेवाका केही जिम्मेवारी वहन गरिरहेको छ । यसर्थ, उनीहरुमा पनि संक्रमणको दर बढ्दो छ ।
फौजी शैलीकै बसोबास हुने कारागारमा पनि संक्रमण फैलिने क्रम बढ्दो छ ।

उदाहरणका लागि चार सय क्षमताको केन्द्रीय कारागारमा अहिले १२ सय भन्दा बढी कैदी, बन्दी छन् । त्यसमाथि दुई सय दीर्घ रोगी र कोभिड– १९ को संक्रमण भएका चार सय कैदी, बन्दी त्यहाँ छन् ।

कतिलाई क्वारिन्टिन र कतिलाई आइसोलेसनमा राख्ने ? प्रश्न जटिल बनेको छ ।

सरकारले संक्रमणलाई मध्यनजर गर्दै विभिन्न जात्रा, पर्वमा भिड जम्मा हुने कुराको नियन्त्रण गरेको छ । यस्तो नियन्त्रणकै क्रममा पनि सर्वसाधारणदेखि सुरक्षाकर्मीमा संक्रम देखिने गरेको छ ।

प्रहरी हिरासतमा रहेका चोरी, लुटपाट र डकैतीका अभियुक्तमा पनि संक्रमण बढ्दो छ । उनीहरुसँगै तिनलाई नियन्त्रण, कारवाही एवं मुद्दा अभियोजन प्रक्रियामा संलग्न प्रहरीमा संक्रमणको दर बढ्न थालेको छ ।

टिप्पणीहरू