श्रीमतीले समाउने, श्रीमानले फसाउने

पतिव्रता श्रीमती । श्रीमान्को आयु बढाउन धर्मकर्म र संस्कारअनुसार रीति पु¥याउने स्त्रीहरू । समाजलाई सभ्य र निरन्तरता दिने महिला । परापूर्वकालदेखि देवीको रूपमा चिनिँदै आएका । आफ्नै श्रीमतीलाई प्रयोग गरेर पैसा कमाउने श्रीमान्हरू कस्ता होलान् ? अनि पैसाकै लागि श्रीमान्ले अरू केटाहरूसँग जे जे गर्नु भनेको छ त्यही त्यही गर्ने श्रीमतीहरू कस्ता होलान् ? काभ्रेमा घटेका केही घटनाले समाजको पछिल्लो रूपको चित्रण गरेको छ ।

घटना २०७७ भाद्र २४ गतेको हो । राति ९ बजे पाँचखाल नगरपालिका–१२ घर भएका २२ वर्षीय राजकुमार दनुवारलाई धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा डेरा लिएर बस्ने ३/४ जना युवाको समूहले अपहरण गरेको सूचना प्रहरीले पायो । ५० हजार माग गर्ने उक्त समूह राति फरार भयो तर अपहरणमा पर्ने राजकुमारको उद्दार भयो । श्रीमानहरूकै योजनामा उमा र सविनाले अपहरण गर्न थालेको केही महिना भइसकेको छ । राजकुमार र सविनाको मोबाइलमार्फत चिनजान भएको हो । च्याट गर्दागर्दै शारीरिक सम्बन्ध राख्ने प्रस्ताव सविनाले राखिन् । राजकुमार तयार भए । भाद्र २४ गते दिउँसो उनी बनेपा आए । २८ किलोमा सविना र राजकुमारबीच शुरुमै पैसाको बार्गेनिङ भयो । १० हजार साथमा भएको र काम सकिएपछि त्यही दिने भनियो । अरनिको राजमार्गको त्यो ठाउँबाट उमा र सविना राजकुमारसँगै बुडोलमाथि रहेको जंगलमा पुगे । त्यहाँ उमालाई कुर्न लगाइयो । त्यो सबै योजनामै भइरहेको थियो ।

यता राजकुमार र सविना झ्याङतिर जाँदै थिए । सविना र उमाका श्रीमान्ले राजकुमारलाई च्याप्प समाते । मेरी श्रीमतीलाई ललाइफकाइ जबर्जस्ती गर्ने भन्दै हप्काइयो । राजकुमार सहमतिमै आएका भए पनि अर्काकी श्रीमतीसँग सम्बन्ध राख्ने प्रयासमा थिए । केही मुक्का प्रहार भयो । पैसाको बार्गेनिङ चल्यो । शुरुमै ५० हजार एटिएमबाट निकालेर दिने सहमति भयो । उनीहरूले पैसा नदिए मारिदिने धम्की दिए । एटिएममा उनले पैसा भएर पनि मिलेन भन्दै फर्काए । त्यसपछि दाजुलाई पैसा लिएर आउन भन्दै आफू अपहरणमा परेको खबर गरे ।

पैसा नआउञ्जेल उनीहरूले राजकुमारलाई शौचालयमा थुनेका थिए । ५० हजार तयार भएपछि दाजुले प्रहरीलाई सूचना दिए । प्रहरी र उनीहरू पैसा बोकेर २८ किलो माथिको जंगलमा पुगे । प्रहरी सादा पोशाकमा थिए । तैपनि उनीहरूले धेरै मान्छे भएर चाल पाए । झ्याङनजिकै पैसा राखिदिनु भनेकाले पैसा राखिदिएर फर्कंदा उनीहरू फरार भए । प्रहरीले एकजना मान्छेलाई देख्यो तर समाउन सम्भव भएन । राजकुमारको उद्धार भयो । भदौ २५ गते बिहानदेखि नै प्रहरीले पिछा गरिरह्यो । इन्स्पेक्टर सुरेश खत्रीको कमाण्डमा रहेको प्रहरीले साँझ ७ बजे उनीहरूको समूह भर्खरै डेरा सरेर नयाँ घरमा आएको खबर प्रहरीले पाए । प्रहरी पुग्दा उनीहरू घरभित्र चुकुल लगाएर खुकुरीसहित तयारी अवस्थामा थिए ।

प्रहरीले ढोका ढकढक गर्नेबित्तिकै खुकुरी लिएर हान्न थाले । प्रहरीलाई उल्टै चोर आयो भनेर गाउँले भड्काउँदै भाग्ने प्रयास गरे । हवाई फायर गरेर उनीहरूमध्ये आकाश र उनकी श्रीमती सविनालाई राति नै पक्राउ गरेको एसपी रवि पौडेलले बताए । थप सहयोगका लागि बनेपाबाट प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको टोली पनि घटनास्थल पुगेको थियो । भदौ २६ गते शुक्रबार प्रहरीले उमा परियारलाई कोठाबाटै नियन्त्रणमा लिएको छ । उनका श्रीमान् र भाइ फरार छन् । आफ्नै श्रीमतीलाई अरूसँग कुरा गराएर यौन सम्पर्कका लागि तयार भएपछि रकम बार्गेनिङ गर्ने र रकम नदिए अपहरण गरी मारिदिने धन्दा यस्तरी फस्टाएको हो । लकडाउनले काम गर्ने वातावरण छैन । काम गर्दा पनि आम्दानी छैन । अनि श्रीमान्/श्रीमती नै पैसा कमाउन गलत धन्दामा लाग्न थालेका छन् ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू