सुन्दरीहरूको व्यापारिक संसार

सुन्दरीहरूको व्यापारिक संसार

खुल्ला बजार अर्थतन्त्रमा उत्पादित सामान वा सेवा बिक्रीको लागि ‘ब्राण्ड एम्बेसडर’ तोक्ने रणनीति अपनाइन्छ । सामान्यतयाः त्यस्ता सेवा वा उत्पादनसँग साइनो र सम्बन्ध जोडिएका व्यक्तिलाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्नु स्वाभाविक पनि हो । तर, उक्त व्यवसायसँग गोरु बेचेको साइनोसमेत नगाँसिएका व्यक्तिलाई म्यानेजर र बोर्ड डाइरेक्टर हैन बरु रूपको भरमा ‘ब्राण्ड एम्बेसडर’ बनाउने चलन नेपालमा नयाँ फेशन भएको छ ।

सरकारले विभिन्न देशमा नियुक्त गर्ने राजदूतमा आधी आकाशको संख्या न्यून भएको आवाज महिला सांसदहरूले उठाए पनि व्यापारिक क्षेत्रमा नियुक्त ‘ब्राण्ड एम्बेसडर’ मा पुरुषको संख्या सिलो खोज्नुपर्ने अवस्थामा छ । केही समयदेखि महिलामा पनि ‘रूपमती’ हरूलाई मात्रै ब्राण्ड एम्बेसडर बनाउने होडबाजीमा बैंक तथा वित्तीय संस्थाहरू देखिएका छन् । सम्भवतः उनीहरूसँग धेरै बजेट हुने भएकाले पनि सेलिब्रिटी बनेका चेलिबेटीहरूले त्यता रुचि देखाएको हुनुपर्छ ।

पहिले विदेशी संयुक्त लगानीमा खुलेका बैंकमा देखिएको महिलालाई नै ‘ब्राण्ड एम्बेसडर’ बनाउने चलन अहिले सरकारी बैंकतिर पनि सरेको छ । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल अनुश्का श्रेष्ठलाई ‘ब्राण्ड एम्बेसडर’ बनाएको छ भने कृषि विकास बैंकले रक गायिका आश्र्रा कुँवरलाई । गाउँघरतिरको सानो निक्षेप,साना किसान र साना ऋणी लक्ष्यित यी बैंकले रोजेका ‘ब्राण्ड एम्बेसडर’ बीच कुनै तालमेल देखिँदैन ।

यसअघि वाणिज्य बैंकले पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई पनि ‘ब्राण्ड एम्बेसडर’ बनाएको थियो । खतिवडालाई भारतीय महिन्द्रा गाडीको नेपाल बिक्रेता अग्नि ग्रुपले पनि ‘ब्राण्ड एम्बेसडर’ तोकिसकेको छ । उता, एनआईसी एसिया बैंकले अभिनेत्री मनिषा कोइरालालाई राखेको छ ।

यसअघि एभरेष्ट बैंकले पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठलाई ‘ब्राण्ड एम्बेसडर’ बनाएको थियो । नेपाल बंगलादेश बैंकले पूर्व मिस नेपाल माल्भिका सुब्बालाई ‘ब्राण्ड एम्बेसडर’ र एनसीसी बैंकले पूर्व मिस नेपाल उषा खड्गीलाई ‘प्रोडक्ट एम्बेसडर’ बनाएको छ ।
माछापुच्छ्रे बैंकले केही वर्षअघि अभिनेत्री श्वेता खड्कालाई ‘ब्राण्ड एम्बेसडर’ बनायो । गुर्खा फाइनान्सले गायिका तथा नायिका मेलिना राईलाई आफ्नो बनायो । बैंक तथा वित्तीय संस्थाहरू बाहेक बीमा कम्पनी र रेमिट्यान्स कम्पनीहरूले पनि ‘ब्राण्ड एम्बेसडर’ को नक्कल गर्न थालेका छन् ।

गायिका इन्दिरा जोशीलाई सूर्या लाइफ इन्स्योरेन्सले बनाएको छ भने केही समय पहिले रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेसले एक जना गायिकालाई अनुबन्धित गरेको थियो । थोरै बैंक तथा वित्तीय संस्थाले मात्र खेलाडी,राष्ट्रिय महत्वका व्यक्तित्व र पुरुष कलाकारलाई ‘ब्राण्ड एम्बेसडर’ बनाएको देखिन्छ ।

नारीलाई भोग्या बनाउने, सुन्दरी प्रतियोगितामा सजाउने प्रथाको बिश्वका कम्युनिस्टहरुले बिरोध गर्दै आएका हुन् । नेपालमै पनि माओवादीले मुहारको भन्दा मनको सौन्दर्य प्रबर्द्धन हुनुपर्छ भन्दै मीस नेपाल बिथोल्ने काम गरेकै हो । तर, बजार उपभोक्तावादले नानीदेखि लागेको बानी किन पो छोड्थ्यो र !

टिप्पणीहरू