ज्ञवाली अब सञ्चारमा ?

ज्ञवाली अब सञ्चारमा ?

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई सरकारको प्रवक्ताको समेत जिम्मेवारी दिएपछि आगामी मन्त्रीमण्डल पुनर्गठनमा उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफ्ट गर्न खोजिएको अड्कल लगाइएको छ । तर, पहिले नै उनले सञ्चार मन्त्रालयप्रति इच्छा नराखेको निकटस्थहरुले बताएका छन् ।

बरु, उनले परराष्ट्र मन्त्रालयको जिम्मा पाउनुअघि निर्माण तथा भौतिक योजना मन्त्रालयप्रति चाहना  राखेका थिए । हिजो सार्क अर्थमन्त्रीहरुको भिडियो कन्फरेन्समा सहभागी हुन प्रधानमन्त्रीले उनै ज्ञवालीलाई खटाउनुभएको थियो  ।

सीसीएमसीको हालैको एउटा बैठकमा ज्ञवाली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच विवादास्पद ओम्नी समूहको विषयलाई लिएर निकै चर्काचर्की परेको बुझिएको छ । उच्च स्रोतका अनुसार ओम्नीलाई नियमविपरित सोझै स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिन नहुने अडान ज्ञवालीलगायत अर्का एकजना मन्त्रीले सीसीएमसीको बैठकमा राखेपछि पोखरेल ‘फायर’  भएर एकलौटी निर्णय गराएका थिए ।

ओम्नी समूहलाई सोझै खरिदको जिम्मा दिने निर्णय गराउन खोजिएको सीसीएमसीको चैत दोस्रो साताको बैठकमा पोखरेलले ज्ञवालीलाई ‘सङ्कटको बेलामा टाँङ्ग अड्याउन खोजेको’ आरोप लगाएको पनि स्रोतको दाबी छ ।

टिप्पणीहरू