वामदेवको शपथ आजै, सचिवालय बैठक भोलि

वामदेवको शपथ आजै, सचिवालय बैठक भोलि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले बुधबार ढिलो गरी पठाएको सिफारिस हिजै राष्ट्रपति कार्यालयमा दर्ता भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त हुने पक्कापक्की भएको छ ।

राष्ट्रपतिको कार्यालयले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेको सूचना राष्ट्रियसभाको सचिवालयलाई पठाएलगत्तै आजै उहाँको शपथ गराउने कार्यक्रम पनि तय भएको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ ।

‘यदि राष्ट्रपति कार्यालयबाट आज चिठी आयो भने हामी ढिलो नगरी उहाँलाई बोलाउँछौँ’, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जनआस्थालाई बताए ।
गौतमका बारेमा पार्टी निर्णयका आधारमा मन्त्रिपरिषद् बैठकमा प्रस्ताव टेबुल हुँदासम्म निर्णय सार्वजनिक नगरिएपछि पार्टी निर्णय कार्यान्वयनको विषयमा सर्वत्र प्रश्न उठेको थियो ।

पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसबारेमा बुधबार व्यापक प्रश्न उठाएपछि हिजै सिफारिस पठाइएको हो ।

मन्त्रिपरिषद् टुंग्याउन सचिवालय बैठक

नेकपाको सचिवालय बैठक शुक्रबार विहान बालुवाटारमा बस्ने भएको छ ।

भोलिको बैठकले मन्त्रिपरिषद् पुनर्गठनका बारेमा टुंगो लगाउने सम्भावना रहेको एक सचिवालय नेताले जनआस्थालाई बताए ।
स्थायी कमिटी बैठकको निर्णयअनुसार अब गरिने मन्त्रिपरिषद् पुनर्गठन तथा सबैखाले सरकारी नियुक्तिपूर्व पार्टीको अनुमति लिनुपर्ने छ । सोहीअनुसार भोलिको सचिवालय बैठकमा मन्त्रिपरिषद्मा को रहने, को हट्ने भन्ने कुरा टुंगो लगाउन लागिएको हो ।

प्रधानमन्त्रीको अनिच्छा भए पनि उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय तोक्ने प्रस्ताव भोलिको सचिवालय बैठकमा पेश हुँदैछ ।

टिप्पणीहरू