मन्त्री जति घुमफिरमा, मन्त्रालय रित्तै !

मन्त्री जति घुमफिरमा, मन्त्रालय रित्तै !

मुख्यमन्त्री महेन्द्रबहादर शाही, सामाजिक विकासमन्त्री दल रावल, कानुनमन्त्री नरेश भण्डारी र पर्यटनमन्त्री नन्दसिंह बुढा सुरक्षा दलबलसहित भदौ २६ गते कालिकोट हुँदै, जुम्ला, मुगु रारा, हुम्ला, बाजुराका रमणीय ठाउँमा राज्यको तर्फबाट रमाइलो गर्न निस्केकाे छ ।

राज्यको साधन र श्रोतको कसरी दुरुपयोग हुन्छ भन्नेको गतिलो उदाहरण बनेको छ– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पछिल्लो चर्तिकला । कूल बजेटको आधा हिस्सा पनि खर्चिन नसकेर आलोचनाको सिकार बनेका मुख्यमन्त्री र मन्त्रीहरू आर्थिक वर्ष सकिएपछि अनुगमनको नाममा कोरोनाको बीचमा हुलहुज्जत गर्दै कर्णालीको विकट बस्तीमा हैन, रमणीय ठाउँमा जोडा बाँधेर मस्तीमा हिँडेका छन् । उता सेवाग्राही भने सातवटै मन्त्रालय खाली हुँदा रित्तै फर्किनुपर्ने अवस्था छ ।

मुख्यमन्त्री महेन्द्रबहादर शाही, सामाजिक विकासमन्त्री दल रावल, कानुनमन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह बुढा सुरक्षा दलबलसहित भदौ २६ गते कालिकोट हुँदै, जुम्ला, मुगु रारा, हुम्ला, बाजुराका रमणीय ठाउँमा केन्द्रित राज्यको तर्फबाट रमाइलो गर्न हिँडेका छन् । भदौ २८ सम्म कालिकोटमा रहेका लडाकू पृष्ठभूमिका मुख्यमन्त्री शाहीले कहिले बिहान ४ बजे नै कार्यक्रम राखेर त कहिले मास्क नलगाई हिँडेर जिल्लामा नयाँपन देखाए ।

उनले जिल्लामा रहँदा तहल्का मच्चाएका थिए । सिडिओ र सुरक्षाकर्मीलाई त थर्काए नै, संघीय माननीय दुर्गबहादुर रावललाई पनि जितेर के ग¥यौ ? प्रदेशमा जितेर नि मैले यस्तो गरेँ भनेर पावर सो गरे । रोमान्टिक मुडमा हिँडेका उनलाई साथ दिन सुर्खेतबाट तीन जना मन्त्री झन्डा हल्लाउँदै कालिकोट गएका थिए । कोरनाको बीचमा हुल हुज्जत गर्दै सलामीका सलामी खाँदै जुम्ला हान्निए । बाटामा उनीहरुको रमिता हेर्नलायक थियो । दुई जना मान्छे देख्यो कि मोदी स्टाइल भन्दै साइरनवालासहित १५ वटा अगुवापछुवा गाडी रोकेर आ–आफ्नो परिचय दिएर हात मिलाउन गइहाल्थे ।

मुख्यमन्त्री र मन्त्रीहरू दुई जना मान्छे देख्यो कि मोदी स्टाइल भन्दै साइरनवालासहित १५ वटा अगुवापछुवा गाडी रोकेर आ–आफ्नो परिचय दिएर हात मिलाउन गइहाल्थे ।

साँझ परेपछि जिल्लाकै महँगो होटलमा बडा विलासी तवरले जलपानसहितको रमाइलो जुम्लामा पनि जारी थियो । कानुनमन्त्रीको गृहजिल्ला भएकाले उनलाई अलि बढी चटारो थियो । कर्णालीमा बौदिक छवि बनाएका भण्डारी रमाइलो टोलीमा हौसिएको देखेपछि स्थानीय पनि छक्क परेका थिए । मन्त्रीको हुल देखेर जुम्लावासी भन्दै थिए, ‘मन्त्री भनेपछि त कोरना पनि भाग्ने रैछ, अरु भएको भए पुलिसले डण्डा लगाइहाल्थ्यो, के गर्नु ? ३० गते जुम्लामा हल्ला खल्ला गर्दै हिँडेको मन्त्रीको ५१ सदस्यीय टोली मुगु रारा ताल अनुगमन गर्न निस्कियो । मन्त्रीका एक जना पिए मुगुका स्थानीय जनप्रतिनिधिलाई फोनमा भन्दै थिए– ‘मुख्यमन्त्रीसहित मन्त्रीहरु आउँदै हुनुहुन्छ, कालिज सालिज यस्सो व्यवस्था गरिस्याला ।’

सिडियो, डिएसपी, जनप्रतिनिधिहरु, सशस्त्र, सेना र सारा गाउँले यो कोरोनाको बेला हुल बनेर लहरै भाषण गर्दै तेश्रो जिल्ला वा मुगुमा पुगेको यो टोलीका लागि स्वागत सम्मानमा असोज १ मा भव्य भेला आयोजना गरिएको छ । निमुखा विचरा जनताको फूलमाला, रातो चामल, कालिज, खसी, खाँदै रमाइलो गर्दै रारामा मुख्यमन्त्रीसहितको टोली रमाइलो मस्तीमा छ । त्यो पनि राज्यको स्रोत र साधनमा ।

मन्त्रीका एक जना पिए मुगुका स्थानीय जनप्रतिनिधिलाई फोनमा भन्दै थिए– ‘मुख्यमन्त्रीसहित मन्त्रीहरु आउँदै हुनुहुन्छ, कालिज सालिज यस्सो व्यवस्था गरिस्याला ।’

यो टोली यत्तिमै सीमित हुने छैन । तीन दिन हिँडेर विभिन्न पाटनमा, यार्सादेखि, स्थानीय उत्पादनको अनुगमनसहित स्वाद ग्रहण गर्नेछ । अनि हुम्ला पुगेपछि सामाजिक मन्त्री भएर पनि एनजिओबाट राजीनामा नदिएका दल रावलको जिल्लामा हिमाली स्वादमा रमाउँदै फेरि पहाडी सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको कोल्टी प्रवेश गर्नेछ ।

विनाकाम अर्कै प्रदेश भए पनि त्यहाँ कर्णाली प्रदेश सरकारको ५१ सदस्यीय टोली त्यही बाटो पारेर घुमफिर गर्दै एक रात बस्नेछ । अनि कालिकोट हुँदै असोज पहिलो साता सुर्खेत पुग्नेछ । त्यतिञ्जेल विकास निर्माण योजना अनुगमनबापत मुख्यमन्त्रीको दुई लाखभन्दा बढी र अन्य मन्त्रीको डेढ लाखभन्दा बढी भत्ता पाक्नेछ भने स्वकीय सचिव र सुरक्षाकर्मी अनि जनप्रतिनिधिले पनि औकात र पहुँचअनुसार लाखौं भत्ता बुझेर दशैं खर्च जोहो गर्नेेछन् ।

टिप्पणीहरू