त्यो कुरा हुँदै होइन : दीपक साउद

त्यो कुरा हुँदै होइन : दीपक साउद

जनआस्था साप्ताहिकको भदौ २४ गतेको अंकमा प्रकाशित (सुदुरपश्चिममा नेकपा कमजोर बनाउने धन्दा) शीर्षकको समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

शोषक, सामन्ती र जमिन्दारले देशमा हैकम चलाइरहेका बेला १५, १६ वर्षको कलकलाउँदो उमेरमै देश र जनताका लागि ज्यानलाई हत्केलामा राखेर १० वर्षे महान जनयुद्धमा होमिएँ । व्यक्तिगत र परिवारका सबै रहर र चाहनालाई सिंगो देश र जनताको मुक्तिका लागि समर्पित गरें । जनयुद्धकै क्रममा गरिब, निमुःखा, दुःखी र समाजका उत्पीडित वर्गको जीवनस्तर उठाउने र मुलुकका सबैखाले शोषण,अन्याय र अत्याचार विरुद्ध लडने प्रण गरेँ । त्यस क्रममा कैयौ पटक मृत्युलाई नजिकबाट जितें । नाफाको यो जीन्दगीलाई फेरि पनि जनताकै पक्षमा समर्पित गर्ने बाचा गरेको छु ।

२०७० सालको संविधानसभा निर्वाचनमा अछामको क्षेत्र नम्वर १ बाट तत्कालीन माओवादीको उम्मेदवार बनेँ । लामो समयसम्म तत्कालीन माओवादीको जिल्ला अध्यक्ष भएर काम गरें । मेरै संयोजकत्वमा ईतिहासमै पहिलोपटक सुदुरपश्चिममा छैठौ राष्टिय खेलकुद भब्यरुपमा सम्पन्न भयो । हाल नेकपाको सुदुरपश्चिम प्रदेश कमिटि सदस्य भएर जनताकै पक्षमा क्रियाशिल छु । जनयुद्धका कमाण्डर, पार्टी स्थायी समिति सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसंग मेरो नाम जोडेर मन्त्रालयका कतिपय निर्णय प्रक्रिया, सुदुरपश्चिमको राजनीति र बाढी पीडितलाई राहत सम्वन्धी तथ्यहिन र गलत समाचार जनआस्थामा प्रकाशित भएको छ । यसबाट मेरो राजनीतिक र सामाजिक जीवनमा गम्भिर क्षति पुगेको छ । यस्ता गलत समाचारबाट म, मेरो परिवार र मेरा आफन्तमा परेको मानसिक तनाब र पीडाको मुल्य कसले तिर्छ रु जसका विषयमा समाचार लेखिन्छ, उ संग एक शब्द पनि नसोधी एकपक्षीय रुपमा समाचार प्रकाशित गर्नु पत्रकारिताको धर्म विपरित हो भन्ने कुरा यहाँलाई अवगत नै छ ।

माननीय उद्योगमन्त्री भटट मार्फत गुटबन्दी गर्न हालै अछामको रामारोशन क्षेत्रमा केही खाद्यान्न र पैसा परिचालन गरिएको भन्ने समाचारमा उल्लेख विषय तथ्यहिन र पूर्वाग्रही छ । अछामको रामारोशनमा भदौ २ गते गएको बाढी र पहिरोमा परि १७ जनाको ज्यान जानुका साथै करोडौको धनमाल नष्ट भएको यहाँलाई अवगत नै छ । मेरै गाउं, क्षेत्रमा भएको उक्त दर्दनाक घटनाका पीडितलाई राहतका लागि पहल गर्नु र आफुले सकेको सहयोग गर्नु के मेरो अपराध थियो रु माननीय उद्योगमन्त्रीसंगको समन्वयमा मैले उक्त घटनाका पिडितलाई ९० क्विण्टल खाद्यान्न, जस्तापाता र कृयाखर्च जुटाएर जिल्लामा पठाएकै हो ।

बाढी पहिरो प्रभावित रामारोशनको अवस्था बुझ्न केन्द्रबाट भुगर्वविदको टोली पनि पठाएका थियौ । मैले देशभित्र मात्र नभई विदेशमा रहेका नेपालीसंग पनि राहत सहयोगका लागि आग्रह गरेको थिएँ । गैर आवासीय नेपाली संघ, नेदरल्याण्डका महानुभावहरुले समेत दुई लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । उक्त रकम पार्टीका प्रदेश कमिटी सदस्य गोविन्द साउदमार्फत स्थानीय जनप्रनिनिधि र पार्टीका प्रतिनिधिको रोहवरमा बाढी पहिरोबाट आफन्त गुमाएका परिवारका सदस्यलाई वितरण गरिएको थियो । पिडामा परेकाहरुलाई सहयोग गर्नेमाथि अनेक खालका लाञ्छना लगाउन खोज्नुले पिडितका घाउमा नुनचुक छर्कनु खोज्नु हो भन्नेमा दुई मत छैन ।  बाढीपहिरो जस्तो प्राकृतिक विपत्तमा परेकाहरुको सेवा गर्दा त्यसमाथि पनि राजनीति गर्न खोज्नु यो भन्दा अराजनीतिक र सर्मनाक काम अरु के हुन सक्छ ?

यस्तै मलाई माननीय मन्त्रीज्युको अघोषित सल्लाहकार भन्दै कसिमन र फाईदा लिने गरेको भन्ने समाचारमा उल्लेख विषय पनि मेरो क्षमता र प्रतिभाबाट आंत्तिएकाहरुको रोदन मात्र हो । विगतमा जनयुद्धका कमाण्डर, पार्टीका स्थायी समिति सदस्य एवं सुदुरपश्चिमका नेता माननीय मन्त्रीज्यूसंग सुदुरपश्चिमको विकास र सम्वृद्धि, पार्टी सञ्चालन एवं राष्टिय राजनीतिका विषयमा छलफल, परामर्श हुनु कुनै अनौठो विषय होइन । हालैको पार्टीको आन्तरिक विवाद, सुदुरपश्चिमको विकास र राष्टिय राजनीतिका विषयमा माननीय मन्त्रीज्यू र म बीच भएका छलफल र परामर्शलाई बंग्याएर नियोजित रुपमा उत्पादन भएका गलत प्रचारहरुको माध्यम जनआस्था जस्तो प्रतिष्ठित साप्ताहिक पत्रिका बनेकोमा भने दुःख लागेको छ ।

माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टज्युले राजनीतिक स्थायित्व, स्थिर सरकार र पार्टी एकताका पक्षमा लिनु भएको अडानका कारण पार्टीभित्रकै ठूलो पंक्ति उहाँसंग रिसाउनु स्वभाविकै हो । पार्टीमा देखिएका विवादका सन्दर्भमा माननीय मन्त्रीज्यूले राख्नुभएको अडानका पक्षमा म पनि उभिएको थिएँ । त्यस क्रममा मैले पनि राष्टिय प्रशारणका एपी वान, प्राईम टेलिभिजन लगायतका सञ्चारमाध्यममा पार्टी एकताका पक्षमा अन्र्तवार्ता दिएको थिएँ । स्थायित्व, विकास र पार्टी एकताका पक्षमा हामीले राखेको अडानबाट विचलित बनेकाहरुले विषयलाई बंग्याएर व्यक्तिगत आक्षेप लगाउने कुचेष्टा गरिरहेका छन ।

गत निर्वाचनमा पार्टीकै नेताहरु हराउन म लगायतका साथीहरु लागेको भन्ने समाचारको आरोप पुरै असत्य मात्र होइन, मेरो राजनीतिक जीवन समाप्त पार्ने नियोजित षडयन्त्र हो । त्यतिबेला वामगठबन्धनका उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा एवं गृह मन्त्री माननीय भीम रावलसंग रातदिन चुनावी प्रचारमा खटेको, सबै चुनावी सभामा भाषण गरेको र रावलजीलाई जिताउन सक्रियतापूर्वक फिल्डममा खटेको कुरा पार्टीका आम कार्यकर्तालाई अवगत छ । यस्ता निराधार, कपोकल्पित र भ्रामक प्रचार गरेर पार्टी एकता विरोधी गतिविधिमा सक्रिय रहेकाहरुले खोजी गर्नुपर्ने बेला आइसकेको छ ।

सुदुरपश्चिममा राष्टिय खेलकुद, अछामको विकास निर्माण, युवा रोजगारी र अवसरमा मैले गरिरहेका लोकप्रिय कामबाट अत्तालिएकाहरु यतिबेला म र माननीय उद्योगमन्त्रीज्यूलाई राजनीतिक रुपमा समाप्त पार्न सकिन्छ कि भन्ने फोहोरी खेलमा लिप्त छन । तर व्यक्तिगत स्वार्थ नराखी दुःखी गरिब, पीडामा परेका जनता र सुदुरपश्चिमको विकासमा लागि पहल गर्दा कसैले निराधार आरोप लगाउंछ भने म त्यसबाट कदापी विचलित हुन्न । जनतालाई केन्द्रमा राखेर एक मुट्ठी श्वांसको सहारामा देश र जनताको हितमा हिंडेको सिपाहीलाई कसैले सिद्धयाउंछु भन्ने कल्पना गरेको छ भने त्यो कोरा सपना मात्र हुनेछ । आफु सिन्को भांच्न नसक्ने वा नचाहने तर अरुले गरेको समाजसेवा देखि नसहने प्रवृत्तिप्रति म जानकार नै छु । समाचारमा भनिए जस्ता मन्त्रालयका नीतिगत निर्णयमा मेरो कुनै संलग्नता छैन । कुनै एकजना व्यक्तिको दवाव वा प्रभावमा भन्दा पनि मुलुकको संविधान, कानून, नीति, नियम अनुसार सरकार र त्यसका अंगहरुले निर्णय गर्छन भन्ने कुरा यहाँलाई अवगत नै छ ।

मन्त्रालयका निर्णय प्रक्रियालाई प्रभावमा राखेर आर्थिकोपार्जन गरेको भन्ने गलत समाचारले मेरो राजनीतिक जीवन समाप्त पार्ने गम्भिर षडयन्त्र भएको छ । पार्टीको आन्तरिक राजनीतिक जीवनमा मलाई समाप्त पारेपछि मात्र आफनो भविष्य देख्ने तत्वहरुको उक्साहटमा नियोजित रुपमा समाचार तयार पारिएको हो भन्नेमा कुनै दुविधा छैन । मेरो राजनीतिक क्षमता र प्रतिभाबाट पार्टी भित्रकै केही तत्वहरु तिरमिराएर षडयन्त्रका तानाबुना बुन्दैछन । अतः जनआस्था साप्ताहिकमा प्रकाशित निराधार र गलत समाचारबाट म र मेरो राजनीतिक जीवनमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राखी गलत समाचारले पाएको प्राथमिकता र स्थानमै मेरो यो खण्डनलाई पनि प्रकाशित गरि मलाई न्याय दिन हुन सम्पादकज्यूसंग अनुरोध छ ।

दीपक साउद
नेकपा सुदुरपश्चिम प्रदेश कमिटि सदस्य

 

 

 

टिप्पणीहरू