बालुवाटारमा किन ल्याइए खतिवडा ?

बालुवाटारमा किन ल्याइए खतिवडा ?

क्याबिनेट बैठकको बामदेवसम्वन्धी निर्णयबारे केही नबोलेर सोमबार साँझको बैठक सकिएपछि थपिएको निर्णयचाहिँ हिजो अपरान्ह सार्वजनिक गरिएको छ । क्याबिनेटको माइन्यूटमा हालै राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार राख्ने निर्णय थपिएको हो ।

सङ्गै प्रदिप ज्ञवालीलाई परराष्ट्रको जिम्मेवारीबाट सञ्चारतिर लैजान सकिने संकेत गरिएको छ । खतिवडालाई बालुवाटारको गौंडामा राखेर विमला पौडेल राईलाई अर्थ राज्यमन्त्री बनाई त्यताको काम चलाउने सोच रचिएको स्पष्ट हुँदै गएको छ । युवराजलाई आर्थिक सल्लाहकार राखिनु भनेको अर्थमन्त्रीमा वरिष्ठ नेताहरु जान बाटो छेकिनु हो ।

स्रोतका अनुसार क्याबिनेट बैठकमा केही पनि जानकारी नगराई प्रधानमन्त्रीले मुख्य सचिवलाई खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्ति,ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारीलगायतको माइन्युट गर्न लगाउनु भएको हो । मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले टिपेर दिएको विवरण बताउने क्रममा ज्ञवालीले ती कुरा बाहिर ल्याएका हुन् ।

खतिवडालाई बालुवाटार वरिपरि राख्न यतिखेर स्वयम् प्रधानमन्त्रीको सल्लाहकार समूह पनि इच्छुक थिएन । तर पनि आफूलाई लागेपछि गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानका सामु बालुवाटारको किचेन क्याबिनेटका सदस्यहरूसमेत खतिवडाको नियुक्तिपछि झस्किएको बताइन्छ ।

१० दिनअघि मन्त्रीबाट राजीनामा दिने क्रममा निकटवर्तीहरूसँग खतिवडाले आफूलाई बालुवाटारका हर्ताकर्ताले घेराबन्दीमा पारेको बताएका थिए ।

खतिवडालाई मनोवैज्ञानिक तवरले मन्त्रालयभन्दा माथि राखिएको अवस्थाले अब सितिमिति वरिष्ठ कमरेडहरूले अर्थमन्त्री बन्ने इच्छा नराखे हुन्छ । जोसुकै नेता अर्थमन्त्री बने पनि आफ्नो हिसाबले मन्त्रालय चलाउँदा खतिवडाले बालुवाटारको आडमा विभिन्न बहानामा भाँडभैलो मच्चाउने निश्चित छ ।

खतिवडालाई मनोवैज्ञानिक तवरले मन्त्रालयभन्दा माथि राखिएको अवस्थाले अब सितिमिति वरिष्ठ कमरेडहरूले अर्थमन्त्री बन्ने इच्छा नराखे हुन्छ ।

स्रोतका अनुसार जतिसुकै वरिष्ठ नेताले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले पनि सके आफूले,नसके प्रधानमन्त्रीको दौराको फेरो समाएर भएपनि मन्त्रीलाई हायलकायल बनाउने रणनीतिमा उनलाई विशेष आर्थिक सल्लाहकारको हैसियतमा राखिएको हो ।

बालुवाटारले अर्थराज्य मन्त्रीमा खतिवडाजस्तै लम्पसारवादमा विश्वास गर्ने विमला राई पौडेलहरूको खोजी गरिरहेको छ । विकल्पमा दामोदर भण्डारीलाई पनि हेरिएको छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा भण्डारी अर्थ राज्यमन्त्री नै थिए ।

बालुवाटारले भण्डारी र राईमध्ये राईलाई धेरै हिसाबले सहज अर्थ राज्यमन्त्रीको रूपमा अथ्र्याएको छ । विमला नियुक्त हुँदा शीतल निवासले समेत शीतलता महशुस गर्नेछ । खतिवडाले पनि ‘अर्थशास्त्र पढेकी’ भन्दै मुण्टो हल्लाउने छन् । त्यस्तो अवस्थामा माथिबाट मन्त्रालय चलाउन कुनै बेरोकतोक हुने छैन । तर,भएकै तीन जना राज्यमन्त्री झिक्ने भनिराखिएको बेला नयाँ राज्यमन्त्री नियुक्ति कसरी सम्भव होला,प्रष्ट छैन ।

पार्टीका वरिष्ठ नेताले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा माथिकालाई पनि आफूले भनेझैँ गर्न गराउन बेला बेलामा हम्मे पर्छ । मन्त्रीलाई पनि बालुवाटारको तारन्तारको दबाब पाच्य हुँदैन । त्यस्तो अवस्थामा खतिवडाजस्तै ‘पुस्तके अर्थशास्त्री’लाई मन्त्रालयको जिम्मेवारी दिँदा सबैलाई हाइसञ्चो हुने छ ।

प्रधानमन्त्रीले जस्तै खतिवडाले पनि आफूले मन्त्रालय छाड्नुपरेको तोडमा राजनीतिक उचाई भएको नेताभन्दा यस्तै कर्मचारी टाइपको खिचिमिचि हैसियतका व्यक्तिलाई अर्थ मन्त्रालयमा राख्ने योजना बुनेका छन् । त्यस्ता व्यक्तिलाई त्यहाँ राख्दा आफूलाई सोचेभन्दा बढी सहज हुने ठम्याइ उनको छ । झारझुरलाई मन्त्रालयको जिम्मेवारी दिँदा आफूलाई बाइपास गरेर केही गर्न नसक्ने उनको बुझाई हो ।

यी सबै घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउञ्जेल अर्थ मन्त्रालय खतिवडाको निगरानी र मुठ्ठिमा सञ्चालन गर्ने योजना बनाएको प्रष्ट हुँदै गएको छ । मन्त्री जो बने पनि खतिवडालाई नै सर्वेसर्वा बनाउने उहाँको चाहनाले बिस्तारै मूर्तरूप लिँदैछ ।

टिप्पणीहरू