दिल्ली जाने कसको पालो ?

दिल्ली जाने कसको पालो ?

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा रिक्त हुन लागेको डेपुटी चिफ अफ मिशन (डीसीएम) मा सम्भवतः नयाँ सहसचिव रामप्रसाद सुवेदी र कुमार खरेलमध्ये एक जनालाई पठाइने सम्भावना छ । डीसीएममा प्रायः नयाँ सहसचिवलाई पठाइने परराष्ट्रको प्रचलन नै हो । त्यहाँ तीन बर्ष बसिसकेका भरत रेग्मीको यसै साता मन्त्रालयमा सरुवा भएको छ ।

स्रोतका अनुसार सहसचिवमा बढुवा भएर राजदूतको लाइनमा बसेकाहरू सामान्यतयाः डीसीएममा जान रुचाउँदैनन् किनकि त्यता जाँदा मुखमा आएको राजदूत पद नै चट हुन्छ । बरु, राजदूत बनिसकेपछि र उमेर ढल्किएपछि भने तिनैले खुट्टा उचाल्ने गरेको भने देखिन्छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले गत हप्ता भारतीय प्रधानमन्त्रीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरे । तर, लामो समयपछि भएको कुराकानीमा पनि धेरै विषयमा छलफल नभएको स्रोतले बताएको छ । उक्त भेट सामान्य औपचारिकतामा सीमित थियो ।

भेटमा आचार्यले सीमाको विषय उठाउँदासमेत डोभलले वार्तामै जोड दिएका थिए । मिति र समय नतोकी वार्ताको कुरो मात्र उठाउनुलाई भारतीयहरूको चलाखी ठानिएको छ ।

उक्त भेटमा मन्त्रीस्तरीय वा सचिवस्तरीय वार्ताको बारेमा पनि कुरै नभएको बताइन्छ । त्यसो हुनुमा कोरोना संक्रमण र लकडाउनलाई मुख्य कारण मानिएको छ । अहिलेको परिस्थितिलाई एकाध महिनासम्म लम्ब्याएर दुई देशबीचको आर्थिक सहयोगलाई निरन्तरता दिने मनस्थितिमा भारत रहेको डोभालले संकेत गरेका छन् ।

भारत चीनले भन्दा पहिले आफूले काठमाडौंसम्म रेल पुर्याउने योजनामा लागेको बताइन्छ । नेपालले पनि यसअघि नै प्रि फिजिबिलिटी अध्ययन प्रतिवेदन बुझाई सकेको छ । तर, त्यसपछि खासै काम अघि नबढेकोले भारतीय रेल चीनकोभन्दा पहिले काठमाडौं पुग्नेमा स्रोतले आशंका गरेको छ ।

यसबीच भारतीय विदेश मन्त्रालयको नेपाल हेर्ने डेस्क प्रमुख फेरिएका छन् । उनी यसअघिका भन्दा फरक ढंगको प्रमुख रहेको बताइएको छ । अहिलेसम्म काठमाडौंस्थित दूतावासमा पोष्टिङ्ग नभएकाले पनि उनको नेपालप्रति व्यक्तिगत धारणा नबनिसकेको भनी अर्थ्याइएको छ ।

टिप्पणीहरू