सानैदेखि जसले देखाए असाधारण संकेत

सानैदेखि जसले देखाए असाधारण संकेत

अलेक्ज्याण्डर मेसेडोनियाका हुन् । मेसेडोनिया ग्रिसको ठीक उत्तरमा पर्छ । त्यसबेला त्यहाँका सम्राट उनैका पिता फिलिप थिए । २० वर्षको कलिलो उमेरमै अलेक्ज्याण्डर त्यहाँका राजा बने र सम्पूर्ण जीवन साम्राज्य विस्तारमै लगाए । साम्राज्यलाई पश्चिम एसिया र उत्तरी अफ्रिकासम्म फैलाए । त्यसैले आजपर्यन्त उनलाई पहिलो विश्व विजेता मानिन्छ । जम्माजम्मी १३ वर्ष शासन चलाएका उनको ३३ वर्षको अल्पायुमा मेसोपोटामियामा मृत्यु भयो, जुन वर्तमानमा इराक, कुवेत, सिरिया र टर्कीमा पर्छ ।
साम्राज्य विस्तारकै क्रममा एउटा देशमा पुगे । त्यहाँका राजा आफ्नो देशमा आक्रमण गर्न आइपुगेको खबर पाउनेबित्तिकै उनीसँग भेट्न गए । अलेक्ज्याण्डर यो देखेर खुशी भए । सोचे, ‘ल राम्रै भयो, युद्ध लड्नै नपर्ने भयो । राजा आफैं आत्मसमर्पण गर्न आइपुगे ।’

राजाले सोधे, ‘मैले त तपाईंको कुनै क्षति पु¥याएको छैन, न दुव्र्यवहार नै गरेको छु, तैपनि किन आउनुभयो ? के लिन आउनुभयो ?’

अलेक्ज्याण्डरले घमण्डी पाराले जवाफ दिए, ‘के हो, तिमी त काँतरले जस्तो कुरा गर्न थाल्यौ । भो, मेरो सेनाले तिम्रो राज्यमाथि आक्रमण गर्ने छैन तर तिमीले ७ वर्षसम्म मलाई कर तिर्नुपर्छ ।’

राजाले भने, ‘तपाईंसँग अकूत सम्पत्ति छ, मैले दिने करको सानो रकमले के नै पो घाटा हुन्छ ? बरु तपाईं र मबीच असल मित्रता जोडौं न !’

अलेक्ज्याण्डर राजाको प्रस्तावमा सहमत भए । राजाले सबैलाई भोजन र आराम गर्न आफ्नो राज्यमा आमन्त्रण गरे । अलेक्ज्याण्डरको निमन्त्रणा स्वीकारेर लावालस्करसहित सीमामा पुग्दा त्यहाँका सेनाले उनीहरुलाई घेरे । यो देखेर अलेक्ज्याण्डरले आश्चर्य मान्दै सोधे, ‘तपाईंले मसँग ठूलो विश्वासघात गर्नुभयो ।’

जवाफमा राजाले यति मात्रै भने, ‘मेरो सेना तपाईंको स्वागत गर्न आएको हो, युद्ध गर्न होइन । हाम्रो राज्यको सेना कमजोर भएकाले हामीले मित्रता गरेको भन्ने भ्रममा पर्नुभएको होला, वास्तविकता यो हो कि बेकारमा मान्छेको रगत बगाउनु हामीलाई निको लाग्दैन ।’ राजाको कुरा सुनेर अलेक्ज्याण्डर महान्को शीर लज्जाले झुक्यो । अनाहक घमण्ड गरेकामा पश्चाताप भयो ।

अलेक्ज्याण्डर त्यसबेला राजा बनिसकेका थिएनन् । मात्र १२ वर्षका थिए । उनका पिता राजा फिलिपको दरबारमा एकजना व्यापारी घोडा लिएर गयो । घोडा एकदम बदमास थियो, कसैले सवारी गर्नै नसक्ने । फिलिपले पनि त्यो घोडा बदमास नै रहेछ भनेर लिन मानेनन् तर अलेक्ज्याण्डरले बाबुसँग भने, ‘अनुमति दिनुहुन्छ भने म यो घोडा चढेर देखाउँछु ।’

दरबारमा उपस्थित सबै बालकको साहस देखेर अवाक बने तर फिलिपले छोरालाई घोडा चढ्न अनुमति दिए । अलेक्ज्याण्डर अघि बढेर घोडालाई यसरी उभ्याए कि उसको छायाँ उसैले देखोस् । साँच्चै घोडा आफ्नो छायाँ देखेर डरायो । अलेक्ज्याण्डर यही मौकाको पर्खाइमा थिए । उनी विलम्ब नगरी घोडा चढे । घोडा यति बेग गतिमा दौड्यो कि उसको शरीर पसिनाले भिज्यो । अलेक्ज्याण्डरले घोडा फर्काए र बाबुको सामु ल्याए । फिलिपले छोराको साहस, चतु¥याइँ र बहादुरीको तारिफ गर्दै भने, ‘तिम्रो बहादुरी र वीरता यो सानो देशभित्र सीमित भएर बस्ने खालको छैन ।’

फिलिपको यो कथन भविष्यमा सही सावित भयो । राजा बनेलगत्तै उनी विश्वविजेता बन्न निस्के र भारतसम्म पुगे ।

नेपोलियनले फ्रान्समा दुईपटक शासन गरे । सन् १८०४ देखि १८१४ सम्म र पछि फेरि सन् १४१५ को मार्च २२ देखि जुन २२ सम्म । सन् १८१५ मा वाटर लुमा पराजित हुनुअघिसम्म उनले प्रायः सबै युद्ध जितेर लगभग पूरै युरोप महादेशलाई आफ्नो अधीनमा पारिसकेका थिए । उनमा असाधारण गुण थियो । साहस र आत्मविश्वास थियो । कल्पनाशीलता र घोर महत्वाकांक्षा थियो । बहादुर सैन्य नेता थिए । अलेक्ज्याण्डर र मंगोल सम्राट चंगेज खाँको जस्तो युद्ध कला थियो तर स्वभावले उनी नीच, स्वार्थी र घमण्डी थिए । अलेक्ज्याण्डर उनका आदर्श पुरुष थिए ।

नेपोलियन बाल्यकालमा सानो तोपसँग खेल्थे । तोप चल्दा आउने बिष्फोटको आवाज मन पथ्र्यो । कहिलेकाहीं खेलाँची युद्ध लड्थे । उनका बाबु चाल्र्स बोनापार्ट फ्रान्सिसी दरबारमा कोर्सिकाको प्रतिनिधित्व गर्थे । फ्रान्स र कोर्सिकाको एकीकरण भएको एक वर्षपछि नेपोलियन जन्मेका थिए । चाल्र्सले फ्रान्सिसी शासनविरुद्ध कोर्सिकामा विद्रोहसमेत गरेका थिए । तर पछि उनी फ्रान्सिसी दरबारको भक्त बने र गभर्नर मार्बिफलाई रिझाएर आफ्ना छोरा नेपोलियनलाई ब्रिने सैन्य विद्यालयमा भर्ना गराउन सफल भए ।

सैन्य विद्यालयको स्तर उच्चकोटिको थियो । जीवन आरामदायी । सम्पूर्ण सेवा, सुविधा उपलब्ध थियो किनभने त्यहाँ ठूलाबडाका छोराहरु मात्र पढ्न पाउँथे । घरमा जस्तै विद्यालयमा पनि उनीहरुको सेवार्थ नोकरचाकर राखिएका हुन्थे । शुरुमा नेपोलियन त्यहाँको जीवनशैली देखेर डराए । केही समय बिताइसक्दा पनि त्यहाँको वातावरण ठीक लागेन । यसले मान्छे बिगार्छ मात्र, सपार्दैन भन्ने उनले ठाने । किनभने त्यहाँका विद्यार्थी कसैले पनि घोडा, बुट र हतियारसम्म आफैं सफा गर्दैनथे, सबै काम नोकरलाई लगाउँथे । यस्तो शिक्षाले युद्धको मैदानमा भोग्नुपर्ने कडा मिहिनेत, कष्ट, जोखिम उठाउन सक्दैन भन्ने निश्कर्षमा पुगे ।

उनले सैन्य हाकिमलाई एउटा पत्र लेखेर पाठशालाबाट सुविधा र विलासीका सामान हटाउन माग गरे । विद्यार्थीलाई घोडालाई नुहाउने, सफा गर्न लगाउने, बुट र हतियार सफा गर्ने बानी बसाल्दा युद्धसम्बन्धी कठिन आफ्नो र साथीहरुको रक्षा गर्न सकुन् भन्ने उनको ध्येय थियो । नेपोलियनको उक्त पत्र पढेर सैन्य अधिकृत निकै खुशी भए र ‘यो युवक भविष्यमा कुशल सेनापति बन्ने’ भविष्यवाणी गरे ।

त्यहाँ अध्ययनरत रहँदै एकदिन शिक्षकले अपराध गरेको सम्झेर नेपोलियनलाई दण्ड दिए । वास्तवमा नेपोलियनको गल्ती थिएन, जे भयो, भूलवश भएको थियो । तर सन्तोष र ठूलो धैर्य राखेर शिक्षकले दिएको दण्ड सहे । दण्डस्वरुप उनलाई तीन दिनसम्म खराब खाना खुवाइयो । चुपचाप खाए । उनलाई थाहा थियो, अपराध गर्ने को हुन् ? भूल कसले गरेका थिए ? तर उनी अपराध गर्ने साथीको नाउँ बताउन तयार भएनन् । उनको स्वभाव यस्तो थियो । घटनाबाट मनुष्य, जीवनबाट घटना र घटनाबाट जीवन बन्दछ भन्ने शिक्षा प्राप्त गरेका थिए ।

नेपोलियन त्यसबेला १० वर्षका थिए । ब्रिनेमा असाध्य हिमपात हुन्थ्यो । हिमपातका कारण विद्यार्थी पाठशालाबाट निस्कँदैनथे तर नेपोलियन चुपचाप बस्ने स्वभावका थिएनन् । उनी बाहिर गई हिउँ जम्मा पार्न थाले र त्यसबाट एउटा किल्ला बनाए । उनले आफूले जानेको सबै सीप उक्त किल्ला निर्माणमा लगाए । पछि सुन्दर किल्ला निर्माण भएपछि अरु विद्यार्थी पनि उनलाई सघाउन बाहिर निस्के ।

हिउँबाट किल्ला बनेपछि शहरका हजारौं मानिस उक्त किल्ला हेर्न त्यहाँ पुगे । नेपोलियनले आफ्ना साथीहरुको दुईवटा टोली बनाए । एउटा टोली किल्लाको रक्षार्थ भित्र बस्यो भने अर्को टोलीले किल्लामाथि धावा बोल्न थाल्यो । नेपोलियन उनीहरुको सेनानायक बने । उनी कहिल्यै भित्र बसेका जवानहरुको नेतृत्व गर्थे त कहिले आक्रमण गर्ने टोलीको । यो नक्कली लडाइँ धेरै दिन चल्यो । हिउँको गोलाले एक अर्कालाई आक्रमण गर्दा कैयौं विद्यार्थी घाइते पनि भए । एक जनाले आदेश नमान्दा नेपोलियनको कुटाइ खाए । उनको कुटाइबाट त्यो केटाको अनुहारै सुन्निएको थियो । नेपोलियनको व्यक्तित्व र सैन्य नेतृत्व कला यसरी नै विकसित भयो । नेपोलियनले उक्त पाठशालामा सन् १७७९ देखि १७८४ सम्म पढेका थिए । उनको निधन सेन्ट हेलेनाको निर्वासनमा बस्दा भएको हो– पेटको क्यान्सरबाट ५२ वर्षको उमेरमा ।

 

टिप्पणीहरू