नेताको हाँसो, जनताको पासो

नेताको हाँसो, जनताको पासो

प्रविधिमैत्री प्रधानमन्त्री केपी ओली मध्यराति आइप्याड चलाएर बसिरहेका थिए । शयनकक्षमा एक्कासी चोरको प्रवेश भयो । चोरलाई नम्र भाषामा प्रधानमन्त्रीले भने– ‘अरु मेरा सामान जे लगे पनि लैजाऊ तर यो आइप्याडचाहिँ कुनै हालतमा दिन्न ।’ चोरले ठाडो भाषामा सोध्यो– ‘त्यो आइप्याडमा चाहिँ के छ र, मैले नपाउने ?’

प्रधानमन्त्री ओलीले शान्तपूर्वक बेलिविस्तार लगाए– ‘यसमा राजनीतिक ज्ञान छ । माक्र्स, लेनिन, माओवाददेखि समाज रूपान्तरणका सूत्र छन् । मुलुकलाई आर्थिक समृद्धिमा लैजाने रोडम्याप छन् । चुनावताका पार्टीले व्यक्त गरेका संकल्प छन् । जनता लटपट्याउने काइदा कानुन छन् । अनन्त सत्ता हत्याउने रणनीति छन् ।’ प्रधानमन्त्रीका कुरा सकिन नपाउँदै चोरले प्रधानमन्त्रीका गालामा तोरीको फूल देखिने गरी दुई चड्कन लगायो । अकारण हात छोडेकोमा प्रधानमन्त्रीले आपत्ति जनाए ।

चोरले निर्भिकतापूर्वक भन्यो– ‘राजनीतिक प्रतिवद्धता आइप्याडमा हैन, व्यवहारमा उतार्ने विषय हुन् । यो एजेण्डामा तिमी आलाकाँचा रहेछौ, त्यसैले मैले थप्पड लगाएको हो । मलाई शिक्षा दिने गुरुले पनि मेरो मनमा नभएर कापीमै ज्ञानका कुरा लेख्थे । उनले सिकाएजस्तै मैले पनि ज्ञानका कुरा काममा नभएर कापीमै उतारें । त्यही भएर म चोर भएँ । कापी हेरेर ज्ञान दिने र कापीमै ज्ञानका कुरा लेखेर राख्नेहरू सबै मजस्तै चोर हुन् । त्यसैले मैले चोरलाई हिर्काएको हो, प्रधानमन्त्रीलाई हैन ।’

चोरका अर्थपूर्ण तर्कले प्रधानमन्त्री निरुत्तर भए । सयौं सुरक्षाकर्मीबाट घेरिएको ठाउँबाट चोर ससम्मान विदा भयो । आगो लागेपछि दमकल किन्न टिप्पणी उठाउने खरिदारी शैलीमा रमाइलो गर्ने प्रवृत्तिले राजनीतिक नेतृत्व पुस्तौनी पंगु बन्ने अध्याय रोकिएको छैन । सोच्ने एउटा, बोल्ने अर्को र गर्ने झन् अलग कर्मले हरेक नेताको इतिहास बिटुलिएको छ । राज्यमा स्थापित अनुत्तरदायी ठग शासनप्रणालीका कारण हरेक सरकार प्रमुख रत्नपार्कमा औषधि बेच्न चिच्याउने पात्रजस्तै जोक्कर बन्ने गरेका छन् । केपी ओली शैली नाम नभएर प्रवृत्ति हो । हिजो राजा ज्ञानेन्द्रलाई सत्ता ढल्ने अघिल्लो दिनसम्म पनि आफ्नो सरकार बज्रझैं लाग्थ्यो । राज्यलाई समानान्तर च्यालेन्ज गरेर बहादुरीपूर्वक नेपाली राजनीतिको मैदानमा उत्रिएको प्रचण्ड मिसाइल कटुवाल नामको एउटा मट्याङ्ग्रा प्रहार सहन नसकेर पहिलो ब्याटिङमै बिचलित भयो । चार गणले छेकेको सर्वशक्तिमान लोकप्रिय राजपरिवार रगतको पोखरीमा खरानी हुन्छ भन्ने छनक कसलाई थियो ? दीपेन्द्रको विवाह कारण बनाइनु त एउटा कुशल निर्देशकले सिनेमाभित्र जन्माएको कथानक मात्रै हो । त्यसैले भोट पाएको, कसैको अनुग्रह रहेको आधारमा आफ्नो औकात बिर्सने कसैको भलो देखिएको छैन् । प्रधानमन्त्रीको परमभक्तिमा दुई हातमा लड्डु हुँदाहुँदै मुखमा अर्को लड्डु कोचिएका युवराज खतिवडा आजन्म अर्थमन्त्री हुने दम्भ पाल्दापाल्दै बामदेव अवतार एकाएक झुल्किएपछि सपनाबाट ब्यूँझिए । खतिवडाको बर्हिगमनमा आफ्नो भविष्य देखेका बामदेव कहाँ पुगेर थचारिने हुन ठेगान छैन् ।

प्राविधिक शब्दका अर्थशास्त्र मुखाग्र हुने तर चुलोको अर्थशास्त्र नबुझ्ने देश निर्माणका कथित इञ्जिनियरको कारण नेपालीको भाग्य मिलको फित्ता घुमेझैं गन्तव्यविनाको चक्रव्यूहमा घुमेको दशकौं भयो । हजुरबादेखि नातिपुस्तासम्मले गरिबीको सारंगी पेट उदाहरण दिने इथियोपियामा फलेको बेसार कोरोनाग्रस्त नेपालको बेसारे राजनीतिलाई सघाउन १५ हजार किलो भित्रिएछ । जोडी अंकको आर्थिक विकासमा पाइला टेकेको इथियोपियालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याउने बहादुर नेपाली त्यतिबेला लज्जित हुनेछन्, जतिबेला परिवार पाल्ने उपाय नभेटेर श्रम बेच्न इथियोपिया जाने भीसा लगाउन आफ्नै भूमिमा लाइन लाग्नुपर्ने दिन धेरै टाढा छैन । खानेतेलको गुणस्तरमा इतिहास बनाएको खोकनाका तेलमिल युक्रेन र अष्ट्रेलियाबाट ल्याइएको तोरीले धानेको यथार्थले कतिको मुटु पोल्छ ? भक्तपुरको जुजु धौ घिटिक घिटिकको अवस्थामा रहेका बेला नेपाली बजारमा स्पेनबाट आयातित दहीको तिर्खा बढ्दो छ । विश्वमा हतियार बेचेर खरबौं डलर भिœयाउने अमेरिकाले झण्डै १७ लाख केजी भटमास नेपाली भान्सामा छिराएको सत्यलाई नेपालको कुन राजनीतिक कोर्समा ठाउँ पाउला ? मकै बाली भित्र्याउने मौसम र मलको हाहाकार चलेको यो समयमा अर्जेन्टिनी मकैले बजारमा जमाएको दृश्य समृद्धि यात्रामा कसिंगर बनेर प्रकट भइरहेको छ ।

नारा समृद्धिको भएपनि काम गर्ने शैलीमा एक इञ्च पनि परिवर्तन आएको छैन् । इञ्जिनियरकी छोरीको बिहेमा ठेकेदारले समयमै बैंकमा बिहे खर्च जम्मा नगरेको दोष आयोजनाले सामना गर्नु परिरहेकै छ । नेताले भनेको ब्राण्डको गाडी, इन्धन र चालक नपठाएको निहुँमा आयोजना प्रमुख कामकै चटारोमा सरुवा हुँदा अरबौंको क्षतिपूर्ति राज्यले तिर्नुपर्ने अवस्था दोहोरिएकै छन् । दुई पार्टीको एकीकरणपछि गाडी, सोफा, टेबुल, कुर्सी, रंगीन पर्दा खरिदमा देखिएको देशव्यापी कीर्तिमानका अगाडि विकासका सपना निरीह बन्दा छन् । राजश्व लक्ष्य एकादेशको कथा बनेको छ । संघीयताले थुम्का थुम्कामा सेवक नभएर शासकका चेकपोष्ट बढाएको छ । ठूलामान्छेबाट आजित देश, ठूला मान्छेकै घमण्डले अस्थिपञ्जरमा अनुवाद हुँदैछ । लुटतन्त्रका उम्दा पात्रहरूले सन्तानका लागि शहरमा वातानुकूलित घर, चिल्ला गाडीको मेसो त मिलाइदिए तर देशप्रेमको संस्कार दिएनन् । त्यसैले घरघरमा सन्तान हैन, आत्मघाती बम उत्पादन भइरहेका छन् । माटो मुटुमा नभएर फेसबुकमा दुख्ने गर्छ । नेपालमा हाँस्न बिर्सिएको नेपाली विदेशी भूमिमा खुशी हुने भाकल गर्छ ।

देश के हो ? यसको उत्तर शरणार्थीहरूलाई थाहा छ । दलाई लामासंग के छैन ? सबैथोक हुँदा पनि माटो नहुँदा उनको जीवन अपूर्ण छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रमसिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहो¥याउनुचाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो, अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । एकरातमा एउटा नाईट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन । यसका लागि आपूmबाहेक सबै बेठीकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ । नबिर्सौं देश बनाउनु भनेको उच्च मनबोलको बृद्धि हो । जीवनबाट बिदा लिनुअघि रावणले रामलाई भनेका थिए– ‘उमेरमा म तिमीभन्दा पाको छु । ज्ञान र बलमा पनि अब्बल छु । तिम्रो सुनको घर, मेरो सुनको देश । तपस्या र क्षमतामा पनि कमजोर छैन । देशको आकार तिम्रोभन्दा ठूलो छ । सबै चीजमा उत्कृष्ट हुँदाहुँदै लडाईं जित्न सकिन । यसको एउटैका कारण हो– तिम्रो भाइ तिम्रो साथमा छ, मेरो भाइ शत्रुसंग छ ।’

राजनीतिशास्त्रले भन्छ– ‘जनता कहिल्यै गलत हुँदैन ।’ तर जनता नै नमिल्ने अनौठो संस्कृति समाजमा उन्मत्त हुँदै छ । कसैले बोलेको कसैलाई पच्दैन । राजनीतिक रिङ बाहिर बसेकाहरूको प्रदूषणले राजनीतिका कलपूर्जामा खिया लागेको छ । खाडी, युरोप, अमेरिका बस्नेदेखि सडक सफा गर्ने सम्मलाई सिंहदरबारको अनौठो तिर्खा छ । देश संघीयतामा गएर संघीय संरचना बनिसक्दा पनि पदाधिकारीहरूलाई पाएको पदप्रति स्नेह छैन । देश बनाउने रोडम्यापभन्दा उनीहरूलाई सलामीको लोभ छ । मन्त्री भएपछि आदेश दिनुपर्छ भन्ने असफल राजनीतिक डक्ट्रिनबाट ग्रसित तिनीहरू ठाडो बिजुलीको पोललाई पनि आदेश फर्माउन आतुर छन् । जनताको आम्दानी स्रोत सुक्दै जाँदो छ । घरखेत बाँझा छन् । डोरी लाहुरे, तोरी लाहुरे विदेशी भूमिमा बसेर नेपालप्रति अर्तीको अगाध स्नेह बर्साउन मस्त छन् । एउटा गाउँ नगरपालिकामा अनुवाद भएका छन् । गाउँ समिति हुँदा पचास रुपियाँमा तमाम् हुने काम अहिले रातारात पाँच हजार पु¥याइएको छ । काम गर्ने सल्लाहमा विमति भएर नभई बाँडफाँडमा कुरा नमिलेर रस्साकस्सीका समाचार बाक्लै सुनिन पढिन थालेका छन् ।

सन् १९८० ताका नेपालको प्रतिव्यक्ति आय २६५ हुँदा चीनको २५० डलर थियो । अहिले त्यही चीनबाट पठाइएका थाङ्ना फोगटाले आङ ढाक्न नपुगेर चीनको तुरूप प्रयोग गरी फेसबुकमा भारतलाई धम्की यसरी धम्क्याउनुअघि चीन र भारतबीच झण्डै दुई खर्ब डलरको व्यापारिक सम्झौता छ भन्ने सत्यसंग थोरै परिचित भइदिए कति गुन लाग्थ्यो !

टिप्पणीहरू