यसलाई के भन्ने, को कमजोर-को ठालु बन्ने ?

यसलाई के भन्ने, को कमजोर-को ठालु बन्ने ?

नेकपाभित्र विधि र पद्धतिका नाममा ६ महिनादेखि चर्किएको अन्तरविरोधलाई निर्णायक रुपमा हल गर्ने बैठक मानिएको स्थायी कमिटीको  अन्तिम चरणमा नेताहरुले मनको भडास पोखेका छन् । तर, पोखिएजति कुरा लागु होला,नहोला– कार्यकर्ता तह प्रतिक्षामै छ । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित प्रस्तुतिलाई निकै दमदार मानिएको छ । उहाँकै लयमा अनुशासन आयोग अध्यक्ष अमृत बोहोराले भन्नुभयो, ‘दुई अध्यक्ष मिल्दा मिलिदिनुपर्ने,नमिल्दा हामीले नमिलिदिनुपर्ने, विभाजन हुनुपर्ने ? यो खालको कल्चर विकास भयो,यो गलत हो ।’

विधि र पद्धति प्रत्याभूत हुनुपर्नेमा जोड दिँदै अष्टलक्ष्मी शाक्यले भन्नुभयो, ‘अध्यक्षहरुले ल्याउनुभएको प्रस्ताव ठीक छ । तर, त्यसको कार्यान्वयन कसरी हुन्छ ? छलफल नै नगर्ने,बैठक नै नबस्ने । यसरी त विधि र पद्धति हुँदैन ।’

वरिष्ठ नेता माधव नेपालको भनाइको सार थियो, ‘दुईजनाको कुरा मिलेर सहमति हुने होइन । सिंगो पार्टीलाई भ्रष्टाचारबाट जोगाउनु छ । विधि र पद्धतिबाट अगाडि बढाउनु छ । मुख्य कुरा पार्टीको कुरामा सरकार चल्नुपर्छ, सरकारले पार्टी चलाउने होइन ।’

उहाँले पेश गर्नुभएको १७ बुँदे लिखित धारणामा भनिएको थियो, ‘सरकार सञ्चालनमा सेटिङ प्रणालीको अन्त्य हुनुपर्छ । सरकार दलाल पुँजिपति र बिचौलियाको स्वार्थपूर्तिको माध्यम बन्नुहुँदैन । पार्टी र सरकारको जनसम्बन्ध माछा र पानीको जस्तो हुनु्पर्छ । पार्टी र सरकार जनताको सुख,दुःखको साथी हुनुपर्छ, आशा र भरोशाको केन्द्र हुनुपर्छ । सबै क्षेत्र,तह र पार्टीबीच नियन्त्रण र सन्तुलनको नीतिका साथ अगाडि बढ्नुपर्छ ।’

सुन्दर भविष्यको सपना देखाउने, तद्नुकूलको व्यवहार नहुने गर्नुहुँदैन । धेरै बोल्ने, धेरै प्रतिवद्धता व्यक्त गर्ने, घोषणा गर्ने र थोरै परिणाम दिने कुराबाट जोगिनुपर्छ ।’

माधवले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘सुन्दर भविष्यको सपना देखाउने,तद्नुकूलको व्यवहार नहुने गर्नुहुँदैन । धेरै बोल्ने,धेरै प्रतिवद्धता व्यक्त गर्ने, घोषणा गर्ने र थोरै परिणाम दिने कुराबाट जोगिनुपर्छ ।’
उहाँले उच्च तहका नेतृत्वबीच नयाँ टीम बनाएर जानुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्रीले आफूसँग असहमत नेतालाई गाली गरेका भरमा राजनीतिक नियुक्ति दिइएको सन्दर्भमा माधवले जमेर प्रतिवाद गर्नुभयो । भन्नुभयो, ‘राजनीतिक नियुक्तिमा  सम्बन्धित निकायले अपेक्षा गरेको योग्यताअनुरुप निश्चित मापदण्ड तयार गरी त्यसैका आधारमा राजनीतिक नियुक्ति हुनुपर्छ । नियुक्त हुने व्यक्तिको आस्था, आचरण, व्यवहार र सन्तुलनमा पनि विचार गर्नुपर्छ । एउटा तहमा छलफल चलाई, समाजमा बद्नाम नभएका, कसैका विरुद्ध सार्वजनिक रुपमा निम्नस्तरको गालीगलौज र सार्वजनिक अपमान नगरेका र नगर्ने मानिसहरुलाई मात्र नियुक्ति दिनुपर्छ ।’

उहाँले सुशासनका बाधक विषयहरु ऐन, कानुन संशोधन गरेर भए पनि हटाउनुपर्नेमा जोड दिनुभयो । ‘जनउत्तरदायी एवं पारदर्शी कार्यशैली अपनाउनुपर्छ । तदनुसार प्रशासनलगायत सबै परिचालित हुनुपर्छ । प्रत्येक उजुरीको पार्टी र राज्यका सम्बन्धित अंगबाट तत्काल छानवीन गर्नुपर्छ । दोषीलाई कारवाही गर्नुपर्छ’, माधवले आफ्नो १७ बुँदे धारणामा राख्नुभएको थियो ।

बैठकमा माधवपछि अर्का वरिष्ठ नेता झलनाथ खनालले बोल्नुभयो ।  उहाँले पार्टीले प्रष्ट कार्यदिशा लिन नसकेकोतर्फ इंगित गर्दै भन्नुभयो, ‘क्रान्तिको कार्यदिशामा पार्टी प्रष्ट हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । समाजवादी बाटोमा प्रष्टसँग जाने ठाउँ देखिएन । अहिलेको यो पार्टी र सरकार सञ्चालनको पाराले हामी समाजवादमा जान सक्दैनौँ । हामीले बाटो तय गर्न सकेनौँ भने दुर्घटनामा पर्न सक्छौँ । हामीले समाजवादउन्मुख कार्यदिशा तय गरेर  जानुपर्छ । पुराना कुराले केही पनि हुँदैन ।’

दुई जना बसेर दलाल पुँजिपति, बिचौलियाहरुको स्वार्थ केन्द्रित गर्ने गरी आफ्ना क्रियाकलाप गरे भने त्योचाहिँ गुटबन्दी हो ।

यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले गुटका मामिलाबारे धारणा राख्नुभयो ।‘दुईजना बसेर छलफल गर्दा गुट हुने, एकजनाले एउटा केन्द्रमा बसेर सबैलाई फोन गरेर आफ्नो अनुकूल,निहित स्वार्थसिद्ध गर्न अरुलाई प्रयोग गर्ने कुरालाई गुटबन्दी भन्ने ?’ उहाँले भन्नुभयो, ‘केचाहिँ गुटबन्दी हो भन्ने कुरा अध्यक्षहरुले बुझ्नु जरुरी छ । दुईजना बसेर छलफल गरेर, पार्टीको विधि, पद्धतिको कुरा गर्यो भने त्यो गुटबन्दी होइन । तर, दुईजना बसेर दलाल पुँजिपति, बिचौलियाहरुको स्वार्थ केन्द्रित गर्ने गरी आफ्ना क्रियाकलाप गरे भने त्योचाहिँ गुटबन्दी हो ।’

उहाँले अध्यक्षहरुबाट बेला–बेलामा गुटबन्दीको कुरा आउने सन्दर्भमा भन्नुभयो, ‘यो कुरालाई यसरी परिभाषित गरौँ, छलफल, विचारमा केन्द्रित भएर गरिएका कुराकानीलाई गुटबन्दी भन्न मिल्दैन । तर,यहाँ त बिचौलिया पोस्ने काम भयो ।’ शुक्रबारको बैठकमा यसरी १३ जना नेताले बोलेपछि अध्यक्ष प्रचण्डले बोल्नुभयो । सबै कुरालाई आत्मसात गर्दै प्रतिवेदन पारित गर्नुपर्छ भन्दै थामथुम पारेपछि बैठक सकियो ।

रघु पन्तले यो सहमति गर्नु नै थियो भने किन हामीले संघर्ष गरेको भनी सोध्नुभएको थियो ।

टिप्पणीहरू