जातेजाते आफ्नै गुरुजीको जय

जातेजाते आफ्नै गुरुजीको जय

गृहसचिव हुँदा आफूलाई विभुषणसमितिको सदस्यसचिवका हैसियतमा मानपदवी, अलंकार लिएर र बुबालाई तक्मा दिएर लगत्तै मुख्यसचिव भएका लोकदर्शन रेग्मीले बेलायतको राजदूत बन्नुअघि आफ्नी पत्नीको सेवा गर्ने ड्राइभरलाई देशभरिबाट एकल रुपमा उत्कृष्ट नगद एक लाख रुपैयाँ राशिको निजामती पुरस्कार दिलाएका छन् ।

आफैँले अध्यक्षता गर्ने छनौट समितिबाट निर्णय गराएर अस्ति निजामती दिवसका अवसरमा मुख्यसचिवले पुरस्कार पाउनेको सूचिमा १० नम्बरका व्यक्ति धनबहादुर लामालाई आफ्नो सेवाबापत राष्ट्रको तर्फबाट कदर गरेका हुन् । गृहसचिव हुँदैदेखि रेग्मीको सेवामा जुटेका उनले रेग्मीलाई भन्दा बढी पत्नी र सन्तानलाई बोके, घुमफिर गराए । अहिले कर्मचारीहरू टिप्पणी गर्न थालेका छन्, आफ्नो अध्यक्षतामा बसेको बैठकबाट आफ्नै सेवकलाई पुरस्कृत गर्नु अख्तियारको दुरुपयोग र सुशासनको हुर्मत हो । तर, यो कुरा सुनिदेओस् कसले ? त्यही छनौट समितिमा कानुन, अर्थ र संघीय मामिला तथा स्थानीय प्रशासनका सचिवहरू सदस्य हुन्छन् । मुख्यसचिवले ड्राइभरको नाम प्रस्ताव गर्दा यिनीहरू पनि चुइँक्क बोल्न सकेनन् । किनकि सामान्यका सचिव सूर्य गौतम आफैं सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार पाएकै वर्ष पत्नीको कपी आफैं जाँची पास गराएबापत लोकसेवाको कारवाहीमा परेका थिए ।

लोकदर्शन गृहसचिवमा सरुवा हुँदा अर्थको टक्सन गाडी सँगै लगे । चार वर्षदेखि त्यो गाडीको काम घरायसी किनमेल र घुमफिरका लागि हो । आफूचाहिँ गृहमा हुन्जेल त्यतैबाट प्राप्त अर्को गाडी र त्यहाँबाट मुख्यसचिव भएपछि त्यसबापत पाइने अर्को गाडीमा सवार भएकोमा हालका अर्थसचिव शिशिर ढुंगाना मुर्मुरिएका छन् ।

एक महिनाभित्रै अर्थात् असोज २२ गते अहिलेका परराष्ट्र सचिव शंकरदास बैरागी मुख्यसचिव बनाइँदैछन् । २१ गतेसम्म मुख्यसचिव नबनाएमा एक महिनापछि शंकरले सचिवको पदावधि सिध्याएर घर जानुपर्छ । तर, कात्तिक ४ गतेसम्म पदावधि बाँकी भएका लोकदर्शनलाई त्यसअघि नै प्रधानमन्त्रीकै तहबाट फकाई–फुल्याई गर्ने काम भएको छ । उनलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने शर्तमा शंकरको बाटो खुला गर्न लागिएको बताइन्छ ।

उता, अहिले प्रम तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमा आर्थिक सहयोगका चिठीहरू भटाभट जान थालेका छन् । प्रधानमन्त्रीले दुईजनाको नाम आर्थिक सहयोगका निम्ति सिफारिस गर्नुभयो भने मुख्यसचिवले १० जना स्याङ्जालीका नाम पठाउने गरेको बताइन्छ ।

टिप्पणीहरू