राष्ट्र बैंक नै बैंकरको लेखनदास भएपछि…

राष्ट्र बैंक नै बैंकरको लेखनदास भएपछि…

आफैँले जारी गरेको निर्देशनलाई ग्लोबल आईएमई बैंक र उसका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले रद्दिको टोकरीमा फाल्दा पनि नेपाल राष्ट्र बैंक मौन बस्नुको रहस्य खुल्न थालेको छ । विद्यमान व्यवस्था विपरित नियुक्त सीईओ बज्राचार्य र ग्लोबललाई जोगाउन राष्ट्र बैंकको उपल्लो दर्जाका हाकिमहरूले नै ‘लेखनदास’ को भूमिका निभाएको स्रोतको दाबी छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि जारी  एकीकृत निर्देशनको संशोधित व्यवस्थालाई लत्याएर ग्लोबल आईएमई बैंकले चार्टर्ड एकाउण्टेण्ट तथा बैंकर रत्नराज बज्राचार्यलाई भदौ १ गतेदेखि नयाँ सीईओमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकको पछिल्लो नीति र निर्देशनमा वाणिज्य बैंकमा कार्यरत सीईओको उमेर ६९ वर्ष नाघ्न नहुने र ६५ वर्षभन्दा माथिकाले नियुक्तिसमेत लिन नपाइने स्पष्ट व्यवस्था छ । तर, ६५ वर्षभन्दा माथिका बज्राचार्यको नियुक्ति सोझै केन्द्रीय बैंकको निर्देशन विपरीत रहँदा पनि उसले मौन समर्थन जनाउनु थप रहस्यमय र अर्थपूर्ण बन्दै गएको हो ।

राष्ट्र बैंक,नियमन विभागको एकीकृत निर्देशन २०७६ को इ.प्रा. निर्देशन नं. ६\०७६ को बुँदा नं. ४ को उप बुँदा (२) मा साउन १२ गते गरिएको संशोधनमा ‘…तर २०७८ असार मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्नेगरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरू एकापसमा गाभ्ने.गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा पर्ने छैन’ भनिएको छ ।

उच्चस्रोतका अनुसार ग्लोबलले नयाँ सीईओ नियुक्तिपछि नियमनकारी निकायलाई पठाएको जानकारी पत्र (बोधार्थ) मा ‘पोष्ट मर्जर व्यवस्थापनको निम्ति बज्राचार्यलाई नियुक्त गरिएको’ व्यहोरा उल्लेख छ । तर, राष्ट्र बैंकका ठूलाबडा र हर्ताकर्ताहरू भने आफैँले सिकाएबमोजिम लेखिएको ग्लोबलको पत्रलाई सिरानी हालेर सुतेका हुन् ।

बज्राचार्यको नियुक्तिमा कानुन र नियम विपरीतको प्रसङ्ग उठेपछि ग्लोबल बैंक उच्च नैतिक दबाबमा परेको छ । तर, निवर्तमान अर्थमन्त्री युवराज खतिवडाको समेत लगानी रहेको ग्लोबलमा रत्नराजलाई नै लैजानुपर्ने अनिवार्य बाध्यताको गाँठो फुकाउन राष्ट्र बैंक नेतृत्वमाथि घुमाउरो दबाब प्रयोग गरिएको बताइन्छ ।

अहिले त्यहि गल्ती महशुस गराउन ग्लोबल बैंकले दिएको उच्च राजनीतिक दबाबपछि राष्ट्र बैंकका हाकिमहरूले ‘पोष्ट मर्जर व्यवस्थापन’ को टालो फ्याँकेर आफ्नो लाज छोप्ने प्रयास गरिएको बताइएको छ ।

त्यसपछि ‘पोष्ट मर्जर व्यवस्थापनको निम्ति बज्राचार्यलाई नियुक्त गरिएको’ व्यहोरा उल्लेख गरी जानकारी पत्र पठाउन (बोधार्थ) ग्लोबललाई मौखिक निर्देशन गर्ने अनौपचारिक निर्णय भयो । स्रोतका अनुसार उक्त विषयको जानकारी स्वयम् गभर्नर महाप्रसाद अधिकारीलाई पनि दिइएको थियो ।

त्यसपछि बाहिर जतिसुकै हल्ला र बिरोध भएपनि ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ को सिद्धान्तमा ग्लोबल बैंक अघि बढ्न थाल्यो । उसले भदौ पहिलो साता राष्ट्र बैंकका हाकिमहरूको सल्लाह र सुझावबमोजिम ‘पोष्ट मर्जर व्यवस्थापन’ को लागि रत्नराजलाई सीईओ नियुक्त गरिएको बोधार्थ पत्र राष्ट्र बैंकमा पठाएको एकजना कार्यकारी निर्देशकले धक नमानी बताएका छन् ।

जनआस्था अनलाइनले साउन ३२ गते ‘बैंकमा पनि बिचौलिया र खेतालाको बिगबिगी’ शीर्षकमा सोसम्बन्धी समाचार प्रकाशित गरेको थियो ।

राष्ट्र बैंकको विद्यमान व्यवस्थाले ६५ वर्ष उमेर नाघेका रत्नराज ग्लोबलको प्रमुख कार्यकारी अधिकृत बन्न मिल्दैन । त्यसमा पनि ग्लोबल र जनता बैंक गत वर्ष मंसिर २० गतेको एकीकृत कारोबारपछि औपचारिक रूपमा मर्ज भएका हुन् ।

गत वर्षको मौद्रिक नीति र सोबमोजिमको एकीकृत निर्देशनमा उल्लेख भएका मर्जर सम्बन्धी व्यवस्था मात्रै ग्लोबल बैंकको हकमा लागू हुन्छ । यस पटकको मर्जरसम्बन्धी व्यवस्था चालु आर्थिक वर्ष मर्ज हुने बैंकहरूको हकमा मात्र लागू हुने हो । त्यसमा पनि रत्नराज गत आर्थिक वर्षमा न ग्लोबलमा थिए, न जनता बैंकमा ।

साउन ३ गते मौद्रिक नीति घोषणालगत्तै जारी हुने निर्देशनको लागि ग्लोबल बैंकका प्रभावशालीहरूको निर्देशनमा रत्नराज बज्राचार्यलाई सीईओ बनाउन मिल्नेगरी आवश्यक व्यवस्था गर्न राष्ट्र बैंकको च्यानलमा पहुँच पुर्याएका थिए । एकीकृत निर्देशनमा गरिने संशोधनको व्यहोरा आफैँले लेखेर दिएका कारण उनीहरू उक्त व्यवस्था समावेश हुनेमा ढुक्क थिए ।

तर, केन्द्रीय बैंकका केही उच्च अधिकृतहरूले ‘चालु आर्थिक वर्षसँगै यसअघि मर्ज भएका बैंकको हकमा पनि लागू हुने’ भन्ने ग्लोबलको वाक्यांश हटाइदिएका कारण रत्नराजलाई ग्लोबल बैंकको सीईओ हुने बाटो थुनिएको थियो ।

त्यसैले आफूहरूले दिएको सुझाव मौद्रिक नीतिमा नल्याइएको कारण रत्नराज बाहिरिने अवस्था आएपछि ह्याकुलाले पेलेरै भएपनि सीईओ नियुक्त गर्ने निर्णयमा ग्लोबलका हर्ताकर्ता पुगे ।

अहिले त्यहि गल्ती महशुस गराउन ग्लोबल बैंकले दिएको उच्च राजनीतिक दबाबपछि राष्ट्र बैंकका हाकिमहरूले ‘पोष्ट मर्जर व्यवस्थापन’ को टालो फ्याँकेर आफ्नो लाज छोप्ने प्रयास गरिएको बताइएको छ । तर, ‘पोष्ट मर्जर व्यवस्थापन’ को लागि उमेर हद नाघेका सीईओ नियुक्त गर्ने व्यवस्था बैंकको कुनैपनि नीति र निर्देशनमा आजका मितिसम्म देखिँदैन ।

टिप्पणीहरू