शासकको रगत र शासकको तागत

शासकको रगत र शासकको तागत

रामकुमार एलन

कोलिन पावेलले भनेका छन्, ‘कुनै ठूलो महत्वाकांक्षामा सफलता पाउनु छ भने स–साना आदतहरू पनि बदल्नु पर्छ, सफलता पाउँदै गर्दा पुराना धारणाहरूले असर पार्न सक्छ ।’ लामो समयसम्म आफैँभित्र रस्साकस्सी, पौँठेजोरी, घात, अन्तरघात, विश्वासघात, आफन्तलाई मायामोह र निरन्तर क्रियाशीलहरूको अवमूल्यन नै हाम्रो पार्टीको रसायन बनेकाले सर्वत्र निरस मानसिकता विकास भइरहेको छ । राम्रो गर्न खोज्नेहरू अल्पमतमा पारिएका छन् र राम्रो गर्ने ठाउँमा पुग्दा पनि कोलिन पावेलले भनेझैँ स–साना विगतका आदत बदल्न नसक्दा खेल्नेहरू यस्तरी खेलेका छन्, जति राणाशासनमा मच्चिएका कोतपर्व र भण्डारखाल पर्वमा खेलिएन होला, पञ्चायतमा पनि भएन होला ।

केपी ओली दोस्रोपटक प्रधानमन्त्री हुनु भएको हो । शासनसत्तामा पुग्न उहाँले अविजित यात्रा गर्नुभएको छ । नेकपा एमालेको नवौँ महाधिवेशनमा अध्यक्ष जित्नुभयो । संसदीय दलको नेतामा झलनाथ खनाललाई पराजित गर्नुभयो । त्यसपछि माधवकुमार नेपाललाई हराउनुभयो । पहिलोपटक प्रधानमन्त्री हुँदा अर्का प्रधानमन्त्री सुशील कोइरालालाई खङारिदिनु भयो । नाकाबन्दी र भूकम्पले आमनेपाली आधा पेट खाएर, आधा सिलिण्डर ग्यास लिएर पनि स्वाभिमानको पक्षमा लडे । त्यसका मूली नै हुनुहुन्थ्यो प्रधानमन्त्री ओली । अघोषित नाकाबन्दी अघोषितरूपमै हट्यो । तर बहुमतको सरकार बनाउने काममा नमिलेको साथले सरकारहरू नौ महिने सम्झौतामा टुंगिए । साविकका कम्युुनिष्टहरू : एमाले र एमाओवादी दुवै ‘सक्कली कम्युनिष्ट’को लडाईंमा थिए । कांग्रेससँग मिलेपछि सत्ताको लड्डु टाढाको विषय थिएन ९ महिनालाई ।

यतिखेर सम्माननीय प्रधानमन्त्रीज्यूसँग चारजना पूर्वप्रधानमन्त्रीहरू कम्युनिष्टबाटै हुनुहुन्छ । दुईपटक हुनुभएका पुष्पकमल दाहाल, एकपटक हुनुभएका झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई । जबकि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने आफैँ पटकपटक प्रधानमन्त्री भएको अनुभव र ज्योतिषीले भनेको सातपटक प्रधानमन्त्री हुने ठोकुवाको भविष्यवाणी मात्र छ । राजाहरू के गर्थे, शासन कसरी चलाउँथे, पञ्चायतकालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि हुनुहुन्छ । नेकपाभित्रै अब्बल नेताहरू, जो प्रधानमन्त्री हुने लाइनमा छन्, सुवास नेम्वाङ, वामदेव गौतम, ईश्वर पोखरेल, भीम रावल, अष्टलक्ष्मी शाक्य पनि प्रधानमन्त्रीको यो दुःखसुखको राजनीतिमा नजिकबाट समवेदित सारथीहरू हुन् । यसका अलावा शंकर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुनजस्ता मन्त्री र पूर्वमन्त्री पनि छन् । यो बजेट अत्यन्तै जनमुखी भन्ने सुरेन्द्र पाण्डेदेखि मुख्यमन्त्रीहरू, पछिल्ला सञ्चारमन्त्रीहरू सबै प्रधानमन्त्रीको पानी ढलोकै छिमेकीहरू थिए ।

किशोर श्रेष्ठको कतै अन्तरवार्ता पढेको छु मैले । २०५० जेठ ३ गते दासढुंगामा मदन भण्डारीको रहस्यमयी मृत्युको जवाफ आमनेपालीले खोजिरहेका छन् । तर किशोर श्रेष्ठको तर्क छ, बिएको परीक्षा भएर मात्रै म मदन कमरेडसँग भइनँ, हरेक यात्रामा सँगै हुन्थेँ । जनताको बहुदलीय जनवादको प्रवर्तकका प्रिय पत्रकार किशोर श्रेष्ठ स्वयम् यो दुई वर्षबीच कहिले कूटनीतिक राहदानी खोसिन खोसिन लागेर, कहिले दुईपटकसम्म निर्णय भएको तक्मा काटिएर, कहिले मिडियाकाउन्सिल विधेयकमार्फत लखेटिएर, कहिले क्याबिनेट निर्णय गरी कार्यवाहक अध्यक्षबाट हटाइएर प्रधानमन्त्रीकै सत्तासारथीमा किन पटक–पटक लखेटिनुभयो, उहाँहरू दुवैले दिएको जवाफ आधिकारिक हुनेछ, हामीलाई त धारणा बनाउने छुट न हो ! बाबुराम भट्टराई कांग्रेसको सदासयतामा एक सिट जितेर आज देशको तेस्रो ठूलो पार्टीको नेता हुनुभएको छ । प्रधानमन्त्री पदबाट झरेपछि उहाँले प्रधानमन्त्री रहनेहरूलाई गर्नुभएको कच्चा आलोचना धेरैले रुचाइरहेका छैनन्, यद्यपि ती सबै नेकपाका कार्यकर्ता पनि होइनन् ।

२०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवासंघ गठन गरेर युवापुस्तालाई संगठित गर्नुभएका वर्तमान प्रधानमन्त्रीले त्यतिखेर पनि स–साना युवा संगठनहरूलाई एकीकृत गर्नुभएको थियो । उहाँ दोहो¥याएर प्रधानमन्त्री हुँदा त्यतिखेरका सारथीहरू सबै समेटिनु भएको छ । विभिन्न पद, पुरस्कार र अलंकारले विभूषित हुनु भएको छ । नयाँ पुस्ताका प्रश्न सोध्नेहरू र इतिहास पढ्न नपाएकाले आलोचना गर्छन् र उत्तर पाएका दिन सन्तुष्ट हुनेछन् । तर त्यसको जवाफ लिने दिने निकायहरू अहिले मूर्दाशान्तिमा किन परिणत भए, जवाफ आफैँ कोमामा छ । एउटा पत्रकार केही दिनअघि विनास्क्रिप्ट शरम चपाउँदै नेपाल सरकारका पिएहरूलाई गाली गर्दैथिए । उनको आशय थियो : ऋषि धमलाले दुई घण्टा कुरा गर्न पाउने, मैले दुई वर्षदेखि भेट्न खोज्दा नपाउने ? एक न एक दिन भेटेर ३ वर्षमा तपाईंका पिएहरूले सेटिङ गरेको एजेन्टहरूको खोइरो खनी तपाईंलाई छर्लंग पार्नेछु, तर मलाई छिर्नै दिएनन् र पो ! त्यतिमात्रै होइन, प्रधानमन्त्रीज्यू, तपाईंका पिएहरूले ऋषिमुनि, शिशीमुनिलाई भेटाए, एजेन्ट मात्रै भेटाए भनेका छन् । यही कुरा शम्भु श्रेष्ठले भनेको भए यतिखेर नेकपामा शम्भु दाइलाई निर्मल लामालाई जस्तो पार्टी सदस्यताबाटै हटाउने बहस हुन्थ्यो । तर यहाँ हाम्राले भेट्न पाइनँ भन्दा कोही सुन्दैनन्, अरुले भेट्न सजिलो हुँदा पनि स्वस्थकर खबर बाहिरिएको छैन, भेट्न नपाउनेहरूको त झन् कब्जियत बिग्रेको स्वर सुनिएकै छ ।

गुठी विधेयक गलत थिएन । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले भन्नुभएको थियो, ‘छलफल कम भयो, हतारमा आयो, हामीले पढेर बोल्न नभ्याउँदै जनमत निर्मला पन्तको हत्यारा खोज्न छाडेर यो विधेयकतिर छि¥यो, हतारमा फिर्ता लिन प¥यो ।’ मिडियासम्बन्धी विधेयकहरूमा सबैभन्दा बढी नेकपा पक्षधरहरू नै उर्लिए, अरुलाई हाइसञ्चो भयो । नेपाली कांग्रेसका नेता पत्रकारहरू भन्थे, यो विधेयकले हामीलाई केही हुन्न, बरु तिमीहरू र तिमीहरूका सिनियर पत्रकारहरू किशोर, शम्भु, गोपाल बुढाथोकीलाई थुन्न सहयोग पुग्ने कानुन ल्याउन लाग्यो सरकारले । नभन्दै एकदिन शम्भु श्रेष्ठको लगातार फोन आयो, कुरा रहेछ, उहाँको दृष्टिमा छापिएको समाचार कुन अनलाइनले साभार गर्दा उहाँलाई पो हनुमान ढोकाबाट खोजी भइरहेको छ । हिजो किशोर श्रेष्ठहरू भागेरै बाँचेका हुन्, गोपाल बुढाथोकीले सेनाको हिरासत खाएकै हुन्, शम्भु श्रेष्ठको कष्टका दिनहरू छँदैछन् । अरु धेरै पत्रकारहरूको कथाव्यथा किताबमै आएका छन् । मिडिया विधेयक यस्तो आउँदैछ भनेर बहस गर्न पाइएन । विभागीय मन्त्रीसँग छलफल हुन सकेन । विधेयक कसले बनाए भनेर जवाफ खोज्न सकिएन । पत्रकारसँग पार्टी नेताहरूको उस्तै रोष, कर्मचारीको उस्तै कुण्ठा । सबैले मौका ठोके, प्रधानमन्त्री र सञ्चारमन्त्रीको कठालो समात्ने न हुन्, ठोकौँ लाखौँलाख जरिवाना यहीबेला । अलिअलि सरकारले ‘हुन्छ–हुन्छ भनेर आँखा झिम्काएको छ’ भन्नेहरू जीवितै छन् ।

यसअघि पनि नागरिकता विधेयकको विरोध कांग्रेसले गरेकै थिएन । नेकपाकै सांसद, केन्द्रीय सदस्यहरूले गरे । अझ प्रधानमन्त्रीको पहिलो कार्यकालका उपप्रधानमन्त्रीहरू नै रत्नपार्कमा आए । एमसिसी पास गर्नुपर्छ भनेर कमल थापा र शेरबहादुर देउवाहरूको एक स्वर छ । पार्टीभित्रै रडाकोले पार्टी फुट्छ भन्ने ढंगका प्रचार भए र त्यसमा काम नपाई फुर्मासे भएका र नेताको पुच्छर समाएर बसेका बाइफालेहरूले यति हुर्मत लिए नेताको कि पक्ष विपक्षमा उभिएर हुनु नहुनु गरे । यतिखेर रेल्वेको ठेक्काको समाचार नेकपाको सरकार यहाँसम्म पुगेको देख्न चाहने पार्टी निकटकै मिडियामा छ्याल्ब्याल आयो । लगातार प्रधानमन्त्रीको सचिवालयमा खराबी छ भनेर महेश बस्नेत नै बेलाबखत युट्युबतिर एक्सरे र भिडियो एक्सरे गर्न लागे ।
लामो समय प्रधानमन्त्रीले गर्नुभएको प्रतिपक्षीको राजनीति सलामयोग्य छ । अनेक हण्डर, समस्या, अपमानसँगै रोगव्याधले पनि समात्यो । तर समय यतिखेर तपाईंकै पक्षमा थियो । हिजोदेखि अहिलेसम्मका सारथीहरूलाई एकपटक सम्झनुहोस् । केहीदिन अघि गुल्मीका युट्यबुर मोहन बस्नेतलाई फोन गरेर गल्ती गर्नुभएको छैन । प्रेस काउन्सिलले अमेरिकी नागरिकता बोकी बोकी नेपाली नेता र जनताको उछित्तो काढेकोमा कारवाही गर्दा रवि लामिछानेलाई नआत्तिऊ भन्दै धाप मारेर केही बिग्रेको छैन । ऋषि धमलासँग २ घण्टा कुरा गरेर पनि केही बिग्रेको छैन । तर भारतीय कवि सम्पत सरलले भने झैँ पो भयो कि ! हालसालै अवकाश माग्नु भएका जापानी प्रधानमन्त्री सिञ्जो आबे भारत आउनुभयो । भारतीय समकक्षीले बुलेट रेल चलाउन सहयोग माग्नुभयो । आबेले हस् भन्नुभयो । आबे लिएर रेल बनाउने ठाउँमा पुग्नुभएका नरेन्द्र दामोदरदास मोदी पाँच घण्टा पूजापाठमा सरिक हुनुभयो रे !

त्यसपछि सम्पत सरलको कटाक्ष थियो, आवेको भनाइ सापटी मागेर, ‘मोदीजी, तपाईंहरू यति फुर्सदमा हुनुहुन्छ भने यो फास्ट दौडने बुलेट रेल किन चाहियो भारतलाई ? बाटोबाटोमा ५ घण्टा पूजा पाठ गर्न पर्नेहरूलाई बुलेट रेल के काम ?’ हो, हामीले पनि काम गर्ने उर्वर समय बित्दै गरेको ३ वर्ष समीक्षा गरेर सबैलाई क्षमता अनुसारको भूमिका, काम र कामपछि भुक्तानीसँगै नतिजा दिन नसक्नेहरूलाई गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादवलाई हटाएजस्तै भूमिकाविहीन बनाउँदै नयाँलाई अवसर दिन तपाईंले कसले रोक्यो ? २०४७ देखि २०७७ को मात्रै कुरा गरेँ, यो बीचमा तपाईंका कुरा सुनेर, तपाईंका बोली र शैली सुनेर, संगठनमा छिरेर हिँडेकाहरू पनि ४५ वर्ष कट्न लागे । के तिनले पनि फेरि मुग्लानै भासिनु पर्ने हो र ? मुख्यसचिव जागिर छाडेर डलर आउने जागिरतिर लाग्छन्, पूर्वमन्त्रीहरू राजदूत माग्छन् । के देशलाई एनआरएनकै मूलघरमा सीमित राख्ने हो र ? एउटा कठोर निर्णय लिएर लाखौँ युवाहरू समेट्दै क्षमतावानहरूलाई मौका र मौकामा लौका नफलाउनेहरूलाई कसुरदार बनाउन अब नरोकिनुहोस् । कि रोक्ने शक्तिबारे बोल्नुहोस् । जस्तो, नरेन्द्र मोदीलाई पूजापाठले रोक्दोरहेछ । डेरै सर्नु पर्ने अवस्था आयो । अध्यक्ष पुष्पकमल दाहाललाई घरबेटीले पनि राजनीतिक शानमा रोकेछ । शेरबहादुर देउवालाई पत्नी र सालाले रोक्छ भन्छन् । यतिखेर आमनेपाली जवाफ खोजिरहेका छन् । शम्भु श्रेष्ठ र किशोर श्रेष्ठले पनि सोध्ने मौका कहिले पाउँछन् ? शासकको रगत हे¥यौँ, यसपटक शासकको तागत हेर्न चाहन्छौँ ।

[email protected]

टिप्पणीहरू