गीतझैँ किन मिलेन प्रीत कमरेड ? « janaaasthanews
४ आश्विन २०७७, आइतबार

गीतझैँ किन मिलेन प्रीत कमरेड ?



सामाजिक सञ्जाल र युट्युबमा केही वामपन्थी नेताका गीत आएका छन् । ती गीतमा, श्रमजीवी जनताको कथाव्यथा छ । गरिब किसान, मजदुरका मनोभावना गुञ्जिरहेका छन् । गीतका सर्जक नेताहरू प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, वैज्ञानिक समाजवादी पार्टी नेपालका संयोजक आहुती, सरकारी नेकपाका नेता मणि थापा र वामदेव गौतम हुन् ।

राजनीतिमा विचारजस्तै मनका भावना बोकेर बहकिने नेता धेरै छन् । उनका सिर्जनाले जनता र कार्यकर्तालाई उत्साह, ऊर्जा र नयाँ आत्मविश्वास पैदा गर्छ ।

पछिल्लो समय वैज्ञानिक समाजवादी पार्टी जन्माएका छन् आहुतीले । विश्वभक्त दुलाल उनको नाम हो । उनैको संयोजकत्वमा कार्ल माक्र्सको दुईसयौँ जन्मजयन्तीको अवसर पारेर ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ नामक नयाँ पार्टी गठन गरिएको छ । राष्ट्रिय जनमोर्चा र पार्टी एकतापछि नेकपा माओवादी केन्द्रमा रहेका आहुतीले माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकताको प्रक्रिया शुरु गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।

उनले लेखेको ‘नयाँ घर’ उपन्यास जनयुद्धको उत्प्रेरणा तथा नयाँ बाटो र विद्रोह बलिदानको प्रेरणा बनेको थियो । आज समयक्रममा धेरै राजनीतिक आन्दोलन र परिवर्तन भएको भनिए पनि सामाजिक जात व्यवस्थाले मानव समुदायको एक तप्कालाई मान्छे भएर बाँच्न अझै दिएको छैन । त्यही विभेदविरुद्ध प्रश्न बोकेर उनले गीत गुनगुनाएका छन्, साँच्चै इमान र मन भएको मान्छेले, मान्छेलाई गरेको विभेदविरुद्ध विद्रोहको आवाज गीतमार्फत उठाएका छन् । आहुती उत्पीडित समुदायबाट आएका एक विचारक हुन्, नेता हुन्, सामाजिक राजनीतिक अभियन्ता हुन् । हेरौँ उनको गीतको एक अंश :

तिमीले थुनेको नर्कलाई
तोडेर यहाँ आइपुगेँ
हजारौँ वर्ष हिँडेर
तिमीलाई सोध्न आइपुगेँ
ए… मन भएको मान्छे
मनलाई सञ्चै छ कि बिरामी
ए… ज्ञान भएको मान्छे
ज्ञानलाई सञ्चै छ कि बिरामी

राजनीतिक आन्दोलनमा जस्तै गीतकारको अलग पहिचान बनाएका विद्रोही नेकपा नेता हुन् विप्लव । उनी लेखक, कुशल सैन्य रणनीतिकार मात्रै होइन, कवि एवं गीतकार पनि हुन् । उनको ‘माझी र पानी’, ‘चे ले भन्नुभएको’, ‘कसले बनायो दाजै’लगायत दर्जनौँ लोकप्रिय गीत छन् । पछिल्लो समय भूमिगत जीवनमा रहेका उनको ‘सपनाका यात्रीहरू’ युट्युबमार्फत सार्वजनिक भएको छ । त्यसैको एक अंश :

सपनाका यात्रीहरू, सपना जोगाउनुपर्छ
सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन
सपना बाँचे जीवन बाँच्छ, सपना मरे जीवन
सपनाहरू मर्न नदेऊ, सपनाहरू झर्न नदेऊ ।

यो उदास मौसममा सपनाबाट विरक्तिएर बरालिएकालाई क्रान्तिकारी भावना र उद्देलना पैदा गराउने एक सशक्त माध्यम बनेको छ उनको गीत । पछिल्लो दैनिकीमा श्रमिकको भावनालाई गीतमार्फत् पोख्ने नेता हुन् मणि थापा । सत्ताको बागडोर सम्हालेको लगभग दुई तिहाइ नजिक रहेको सरकारी नेकपाका स्थायी समिति सदस्य । राजनीतिक आन्दोलनसँगै नेपाली जनवादी साँस्कृतिक आन्दोलनका एक हस्तीको रूपमा थापाको अलग्गै पहिचान छ । जनयुद्धपूर्व र जनयुद्धकालमा लेखिएका दर्जनौँ लोकप्रिय गीत छन् उनका ।

उनका गीतले जनमनको कथा, उत्पीडनको व्यथा बोकेका छन् । ‘हाम्रो रोल्पामा’, ‘अरूण तरेर नाना’जस्ता गीतमार्फत जनयुद्धको साहित्य सौन्दर्यको विम्ब बनेको छ । श्रमिक जनताका गीत थापाले निरन्तर लेख्दै आएका छन् । कोरोना आतंक र लकडाउनले बेहाल जनताप्रति उदासीन सरकारको तरिकाबाट उकुसमुकुस भएका थापा जनमनको विम्ब बोकेर गीतमा पोखिएका छन् । पछिल्लो गीतको एक अंश :

शहरले गाउँ धपाउँछ
जसले शहरलाई हराभरा बनाउँछ
तर संकट पर्दा शहरले गाउँ धपाउँछ ।

अरूण तरेर आउनेहरू रगतको खोला तरेर आएका हुन् । उनीहरू नै सत्तासारथि भएर चलेको सत्तामा गरिब श्रमिकको हालत किन होला यस्तो ? वीरताको गाथा लेख्नेहरू आखिर आज किन यसरी सपनाबाट बरालिएका होलान् ? मेराजस्तै हजारौँ उत्तरविहीन प्रश्न उनका मनमा पनि पक्कै उद्वेलित होलान् ।

तीन दलका तीन नेता
गाउँदैछन् गीत तीनतिर
बाँच्न देऊ खान देऊ, जनताको ऋणतिर
खै कहाँ छ शान्ति, खै त समृद्धि ?

माओवादी जनयुद्धले कोल्टे फेरेको त्यो चुनवाङ बैठक र त्यो बैठक बहिष्कारको कथा लेखेर बसेका मणि दाइ, अरूण तरेर आउनेहरूको वीरगाथा उजेलेर बसेका मणि दाइ, यो जबजमा विलयको छट्पटीका कथाव्यथा र मनको बह यस्तै गीतमार्फत फुकाइरहेछन् । त्यही चुनवाङ बैठकमा अभिमन्यु चक्रव्युहमा फसे भन्ने महाभारतकालीन कथा हालेर रवीन्द्र श्रेष्ठले प्रचण्डलाई गरेको कटाक्ष सम्झँदै व्यँुझिएर कमरेड विप्लवको पछि कुँदिरहेका छन् आजसम्म थवाङका सन्तोष बुढा मगर । तर, प्रचण्ड चक्रव्युहमा फसे भनेर त्यो चक्रव्युहबाट उम्किएका रवीन्द्र जबजको भुङ्ग्रोमा हाम्फालेपछि मायाको प्रेमिल जालमा फसेर उदास शनिबारमा विन्दास प्रेमको औपन्यासिक कथामा एकपटक देखिए । अब नेकपा बोल्सेभिकको गर्भधारण तुहिन्छ कि जन्म लिन्छ होला त्यो प्रश्न समयलाई छोडिदिऊँ । कवि निभा शाह आफ्नो कवितामा बोल्छिन् :

सपनाको कुनै चिहान हुँदैन
मरे भनेका सपनाहरू
चिहानबाट ब्युँझिनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बाँच्नभन्दा यहाँ मर्न गाह्रो
नेताको हाँसो, जनताको पासो
कमरेडसँग नसोधी नहुने कुरा
सरकारले नमागेका सल्लाहहरू