जलाउन रोक्दारोक्दै उत्तरपुस्तिका खरानी

जलाउन रोक्दारोक्दै उत्तरपुस्तिका खरानी

सर्वोच्च अदालत, राष्ट्रिय सूचना आयोग र सतर्कता केन्द्रले रोक्दारोक्दै त्रिविले भौतिकशास्त्र विषयका उत्तरपुस्तिका धुल्याएर नष्ट गरेपछि अब यो विषयको कसरी, कहाँ पुगेर थान्को लाग्ने हो ? अनौठो विवाद उत्पन्न हुन पुगेको छ ।

घटना विवरणअनुसार त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयबाट सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्रअन्तर्गत प्रथम सेमेस्टरको पुरानो पाठ्यक्रममा आधारित ‘क्वान्टम मेकानिक्स’ विषयको परीक्षा २०७५ साल पुस २९ गते लिइएको थियो । महेन्द्ररत्न क्याम्पस ताहाचलमा तोकिएको उक्त परीक्षाका दिन केही विद्यार्थीले भौतिकशास्त्र विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै अवज्ञा गरे । उक्त विषयको परीक्षा पुनः गराउन परीक्षार्थीको माग थियो । परीक्षाफल २०७६ वैशाख ११ गते प्रकाशित हुँदा ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।

कमजोर विद्यार्थीलाई समेत उत्तीर्ण गराइएको भन्दै स्याङ्जाका आशिष पौडेलले सर्वोच्चलगायत निकायमा निवेदन दिए । उत्तरपुस्तिका धुल्याएर नष्ट गर्ने कार्य रोक्न माग राखेर उनले न्यायका लािग याचना गरेका थिए । परीक्षाको परिणाम नै फेरबदल गरिएको जिकिर पौडेलको छ । त्रिवि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, भौतिक शास्त्र विभागलगायत निकाय र व्यक्तिका नाममा सर्वोच्च अदालत र सूचना आयोगबाट अभिलेख चुस्तदुरुस्त सुरक्षित राख्न आदेश जारी भएको छ । सूचना आयोगले परीक्षामा सोधिएका प्रश्नपत्र, त्रिवि छानबिन समितिले बुझाएको प्रतिवेदन अर्को आदेश नभएसम्मका लागि संरक्षण गर्न ०७६ साल चैत ६ गते नै त्रिविलाई यो आदेश दिएको थियो ।

यता, सर्वोच्चले पनि असार ३० गते उत्तरपुस्तिका र परीक्षासम्बद्ध अन्य अभिलेख रिटको अन्तिम टुंगो नलागेसम्मका लागि अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ०७५ सालको परीक्षाको मात्र नभई ०७६ साल असोज ५ गते सञ्चालित पछिल्लो परीक्षाका सबै अभिलेख सुरक्षित राख्न भनेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले समेत उत्तरपुस्तिका नष्ट नगर्न निर्देशन दिएको हो । उक्त विवादास्पद परीक्षासम्बन्धी उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सम्पूर्ण प्रतिवेदन नधुल्याउन, सुरक्षित रूपमा राख्न भन्दै राष्ट्रिय सतर्कता केन्द्रले च.नं. १५१६१०४०४६ (मिति २०७६/६/३० को पत्र) तथा च.नं. १५१६१०४०८१ को (मिति २०७६/७/२१) मा ताकेता गरेको देखिन्छ । सूचना आयोगले पनि च.नं ४१० (मिति २०७६-६-१४) को पत्रमार्फत र सूचना आयोगको इजलासको निर्णय नं ३४४ (मिति २०७६/१२/६) को आदेशमार्फत शिक्षाध्यक्षको नाउँमा आदेश दिएको हो ।

तर, त्रिविले विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को परिच्छेद ६२ मा उत्तरपुस्तिका तथा परीक्षा सञ्चालनसम्बन्धी अन्य अभिलेख सुरक्षण तथा धुल्याउने व्यवस्था भइसकेको भन्दै जवाफ पठाएको छ । नियम २३६ मा परीक्षा सञ्चालनसँग सम्बन्धित अन्य अभिलेख जस्तै परीक्षार्थीको फारम, परीक्षा केन्द्रबाट प्राप्त विद्यार्थी हाजिरी परीक्षासम्बन्धी प्रतिवेदनसमेत परीक्षाफल प्रकाशन भएको चार महिनासम्म मात्र सुरक्षित राखिने व्यवस्था रहेको दाबी त्रिविको छ ।

‘यसरी नियममै स्पष्ट व्यवस्था भएको व्यवस्थालाई अन्तरिम आदेशको मुख्य विषयवस्तु बनाएको देखिन्छ । ती उत्तरपुस्तिका त्रिवि नियमानुसार धुल्याइसकिएकाले रिट निवेदन खारेज गरिपाऊँ’, त्रिविले साउन २३ गते सर्वोच्चलाई लिखित जवाफ पठाउँदै यस्तो व्यहोरा उल्लेख गरेको छ । शिक्षा सचिव डा.सञ्जय शर्मा र त्रिवि पदाधिकारीले सर्वोच्च अदालतलाई पठाएको एउटा लिखित जवाफमा पनि उस्तै व्यहोरा छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय परीक्षा सञ्चालक समितिको तर्फबाट डिन प्रा.डा. रामप्रसाद खतिवडा, भौतिकशास्त्र विषय स्थायी समितिको अध्यक्ष प्रा.डा. विनिल अर्याललगायतले सर्वोच्च अदालतमा यस्तो लिखित जवाफ फिराएका हुन् ।

यता, फेरि यी परीक्षार्थी पौडेलले उत्तरपुस्तिका नष्ट पार्ने कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १२ अनुसार दण्डनीय कार्य रहेको हुँदा कारबाही गरिपाऊँ भन्दै अख्तियारमा अर्को उजुरी दर्ता गरेका छन् । ‘उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ र दफा ९३ बमोजिमसमेत वर्जित कार्यभित्र पर्ने हुँदा नियमानुसार कारबाही गरिपाऊँ,’ उजुरीमा उल्लेख छ । विवाद हेर्दा सानोजस्तो देखिए पनि मुद्दामाथि मुद्दा र उजुरीमाथि उजुरी खप्टिँदै जाँदा कसरी छिनोफानो होला भनेर आश्चर्यसँगै कौतुहलतासमेत जगाएको छ ।

टिप्पणीहरू